५ आश्विन २०८१ शनिबार
image/svg+xml
समाज

मासिँदै हिमाली पर्यावरण

डोल्पाका पाटनमा यार्चागुन्बु टिपेर फर्केका बालबालिका से–फोक्सुन्डो राष्ट्रिय निकुञ्जमा । तस्बिर: नागरिक

डोल्पा - यार्चागुन्बु टिप्न डोल्पा उक्लिएका रुकुम (पश्चिम) का १८ वर्षीय भीम परियारले २५ दिन पाटनमा डुल्दा जम्मा पाँचवटा यार्चा भेटाए। कमाउने सपना बोकेर लेक चढेका यी तन्नेरीलाई उल्टै केही हजार रुपैयाँ ऋण लाग्यो। दुःखी मन लिएर गाउँ फर्केका छन् उनी।

यसपालि परियारजस्ता धेरैको सपना तुहियो। थोरैले मात्र यार्चा टिपेर कमाउने अवसर पाए। रुकुम (पश्चिम) को आठबीस गाउँबाट आएका ४३ वर्षे सत्यबहादुर शाहीले पोहोरजति पनि यार्चा संकलन गर्न सकेनन्। ‘जेठ २१ देखि असार १३ गतेसम्म टिप्दा जम्मा ७० वटामात्रै पाएँ’, उनले भने, ‘प्रतिगोटा चार सयदेखि ५ सय रुपैयाँसम्ममा बेचें।’

पोहोर खर्च कटाएर ९० हजार रुपैयाँसहित गाउँ फर्केका थिए उनी। यसपालिचाहिँ १५ हजार रुपैयाँ मात्र लिएर फर्के। उनको गाउँबाट डेढ सयजनाको हाराहारीमा यार्चा संकलन गर्न डोल्पाका पाटन आएका थिए। यसपटक यार्चा संकलन गर्न पाटन पुगेका धेरैको अवस्था शाही र परियारकै जस्तै भयो। उत्पादनभन्दा संकलक धेरै भएकाले यस्तो अवस्था आएको अनुमान गरिएको छ।
बर्खामा च्याउ, हिउँदमा किरा

विशेषतः चीनमा खपत हुने यार्चा उत्पादनका दृष्टिले डोल्पाजस्ता नेपालका हिमाली जिल्ला प्रख्यात छन्। धेरैले ‘यार्सागुम्बा’ भनेर चिन्ने यो हिमाली जडीबुटीलाई डोल्पाली ‘यार्चागुन्बु’ भन्छन्। भोटे भाषामा यार्चाको अर्थ ‘बर्खे च्याउ’ हुन्छ भने गुन्बुको अर्थ (हिउँदे किरा)। यार्चागुन्बु हिउँदमा किराको रुपमा रहन्छ भने बर्खामा च्याउका रुपमा।
पहिलापहिलाका केही वर्ष पाटनहरूमा सीमित संकलक मात्र यार्चा संकलनका लागि पुगे। उनीहरूले राम्रै आम्दानी पनि गरे। तर पछिल्ला वर्षमा पाटनहरूमा यार्चाको मौसममा मेलै लाग्न थालेको छ। यसले गर्दा एकातिर यार्चा खोजीमा निस्केकाले भरथेग हुनेगरी संकलन गर्न पाएका छैनन् भने अर्कातिर मान्छेको भीडले वातावरण पनि बिग्रिँदै गएको देखिन्छ।

क्याल्पो थापा भोटे

वडाध्यक्ष, डोल्पोबुद्ध गाउँपालिका–१
पाटनहरूमा अन्धाधुन्ध मान्छे पठाउने क्रम रोकिएन भने वातावरण विनाश बढ्दै जान्छ। मरुभूमीकरण बढ्छ। हिउँदमा घाँस पाउन छोडिसक्यो। एक दिन खोला सुक्नेछन्। फलस्वरुप स्थानीयले बसाइँ सर्ने अवस्था आउन सक्छ। त्यसैले यार्चा अर्थतन्त्रले पारेका असरको अध्ययन गरी वैज्ञानिक समाधान खोजिनुपर्छ।

प्रवेश शुल्क फरकफरक
यार्चा संकलन गर्न खुला भएपछि धार्मिक, सांस्कृतिक र वातावरणमा असर परेको हिमाली भेकका अगुवाको गुनासो छ। जबकि जैविक विविधता संंरक्षणका लागि भनेर नै २०४० सालमा से–फोक्सुन्डो राष्ट्रिय निकुञ्ज बनाइएको थियो। त्यही निकुञ्जले राजस्व संकलनका नाममा अन्धाधुन्ध यार्चा संकलन पुर्जी (अनुमतिपत्र) बाँड्दै आएको छ। निकुञ्जले भूगोलका आधारमा तीन वर्गमा बाँडेर संकलकलाई प्रवेश पुर्जी दिन्छ। ‘क’ वर्गमा निकुञ्ज र मध्यवर्ती क्षेत्र पर्छन्, जहाँका बासिन्दाले पाँच सय रुपैयाँ राजस्व तिर्नुपर्छ। त्यसभन्दा बाहिरका मुगु र डोल्पाका बासिन्दालाई ‘ख’ वर्गमा राखिएको छ। उनीहरूले प्रवेश शुल्क दुई हजार रुपैयाँ तिर्नुपर्छ। ‘ग’ वर्गमा परेका अन्य जिल्लाका मानिसले यार्चा संकलन क्षेत्रमा प्रवेशका लागि तीन हजार रुपैयाँ राजस्व तिर्नुपर्छ। प्रवेश शुल्कबाहेक मध्यवर्ती उपभोक्ता समितिले थप पाँच सय रुपैयाँ सेवा शुल्क लिने गरेको छ।

निकुञ्जको तथ्यांकमा गत वर्ष सात हजार नौ सय ६९ जनाले प्रवेश पुर्जी लिएको देखिन्छ। यसपालि त्यो संख्या बढेर १४ हजार सात सय ८१ पुगेको छ। निकुञ्जका सूचना अधिकृत गोपाल खनालका अनुसार यसबाट दुई करोड ८९ लाख ७४ हजार पाँच सय रुपैयाँ राजस्व उठेको छ। निकुञ्जले यार्चा टिप्न महिना दिनका लागि पाटनहरू खुला गर्छ। यसपालि जेठ १० देखि असार १३ गतेसम्मका लागि पुर्जी दिइएको थियो।
गत वर्ष एक सय १७ केजी यार्चाका लागि निकुञ्जबाट छोडपुर्जी लिइएको थियो। छोडपुर्जी लिनेहरूले प्रतिकेजी यार्चाको ३० हजार रुपैयाँ राजस्व तिर्नुपर्छ। यसपटक शुक्रबारसम्म एकजनाले मात्र जम्मा एक सय २५ ग्रामको छोडपुर्जी लिएको खनालले जानकारी दिए। ‘पाटनहरूमा यार्चा एकै ठाउँमा संकलन गर्ने काम भइरहेकाले छोडपुर्जी लिन आउँदै होलान्’, उनले भने।

खासमा यार्चा पहाडी र हिमाली क्षेत्रको आर्थिक अवस्था उकास्ने बलियो माध्यम हो। आर्थिक आर्जनसँग जोडिएको यार्चागुन्बु पछिल्लो समय हिमाली क्षेत्रको वातावरण विनाशको कारक पनि बन्दैछ। वैज्ञानिक ढंगले यार्चागुन्बु टिप्ने नीति अभावले डोल्पाका पाटनहरू मरुभूमिमा परिणत हुने खतरा बढ्दै गएको छ।

डोल्पामा प्रतिकिलो १६ लाख, तिब्बतमा २६ लाख
तीन हजार मिटरभन्दा माथिका पाटनमा यार्चा पाइन्छ। डोल्पामा प्रतिकिलो १४ देखि १६ लाख रुपैयाँसम्ममा किनबेच हुने यार्चाको तिब्बतमा १६ देखि २६ लाख रुपैयाँसम्ममा कारोबार हुने व्यापारी बताउँछन्। ‘हिमाली धन’ ले परिचित यार्चा ३७ हजार जनसंख्या रहेको डोल्पालीको जीवनसँग मात्र जोडिएको छैन, यसले डोल्पालगायत पहाडी जिल्लाका बासिन्दाको जीवनस्तरमा समेत प्रभाव पार्दै आएको छ। छिमेकी रुकुम, जाजरकोट, सल्यान, मुगु, जुम्लालगायत जिल्लाबाट यार्चा टिप्नेहरू डोल्पा आउँछन्।

वातावरणमा असर
धेरै राजस्व उठेको खबर सुनिन्छ तर यार्चा संकलनबाट वातावरणमा परेको असरको मुद्दा उठान भएको छैन। बढी राजस्व उठाउने होडबाजीमा निकुञ्जले पाटनहरूको क्षमताभन्दा बढी मानिसलाई यार्चा संकलन अनुमति दिँदै आएको छ। संकलकले खाना पकाउन आफैं मटीतेल लिएर जानुपर्ने नियम छ तर सबैजना बोकेर जाँदैनन्। मटीतेल बोकेर नजानेले दाउरा बटुलेर पकाउँछन्। ‘लेकमा त झाडीमात्रै हुन्छ, यार्चा संकलन गर्न जानेले रातभर त्यसलाई बालेर सखाप पारिसके’, डोल्पोबुद्ध गाउँपालिका–१ का अध्यक्ष क्याल्पो थापा भोटे भन्छन्, ‘यसबाट वातावरणमा नकारात्मक असर परिसक्यो।’ एउटै पाटनमा वर्षैपिच्छे किरा (यार्चागुन्बु) खोज्दा खनेको ठाउँमा घाँस उम्रिन छाडेको गुनासो छ उनको। घाँस र बुट्यान हुने पाखाहरू धमाधम मरुभूमिजस्तै बन्दैछन्।

माथिल्लो डोल्पाका जनताको जीविकोपार्जन गर्ने मुख्य पेसा पशुपालन हो। उनीहरू चौरी, याक, भेडाबाख्रा पालेर गुजारा गर्छन्। पशु चराउने पाटनमा पछिल्लो समय घाँस उम्रिन छोडिसक्यो। त्यहाँ खाल्डाखुल्डी थपिँदैछन्। यार्चा खोज्नेले आफूले खनेका खाल्डा नपुरिदिँदा समस्या भएको वडाध्यक्ष भोटे बताउँछन्। उनका अनुसार यार्चा संकलकबाट बन्यजन्तु र चरा पनि संकटमा परेका छन्। ‘संकलकले लुकीचोरी नाउर र डाँफे मारेर खान्छन्’, उनले भने।
माथिल्लो डोल्पाका चार गाउँपालिकासँगै मध्यडोल्पाको ठूलीभेरी नगरपालिकाका वडा नम्बर ५ र ६, जगदुल्ला गाउँपालिका, त्रिपुरासुन्दरी नगरपालिकाका केही वडामा यार्चा पाइन्छ। हरेक वर्ष डोल्पामा कति यार्चा पाइन्छ र कति मानिसलाई टिप्ने अनुमति दिँदा उचित हुन्छ भन्ने अध्ययन कसैले गरेको छैन।

यार्चा टिप्ने समयमा डोल्पाको माथिल्लो क्षेत्रका विद्यालय बन्द हुन्छन्। बालबालिकासमेत यार्चा टिप्न पाटन जान्छन्। त्यस अवधिमा शिक्षा, स्वास्थ्य, संस्कृतिलगायत क्षेत्रमा समेत समस्या आउने गरेको तापिरिचा माविका निर्देशक सेन्दुक लामाले बताए।
यार्चा घट्दै गएको छ। यार्चा टिपेर पैसा कमाउने रहरले मानिसको जीवनस्तर खर्चिलो बन्दै गएको छ। यार्चा टिप्न ऋण लिएर मानिस पाटन उक्लिन्छन्। खासमा यार्चा पहाडी र हिमाली क्षेत्रको आर्थिक अवस्था उकास्ने बलियो माध्यम हो। तर निगरानी र वैज्ञानिक नीतिको अभावले विकृति निम्त्याउने माध्यमसमेत बन्दै छ। साथै, आर्थिक, सांस्कृतिक र सामाजिक विचलन ल्याउने कारण बनिरहेको छ।

फोहोर व्यवस्थापनमा समस्या
अर्को ठूलो समस्या फोहोर व्यवस्थापनमा देखिएको छ। पाटनहरूमा फोहोर थुप्रिएको छ। पाटनहरूमा प्लाष्टिक, बोतल कपडा आदिको डगुंर थुप्रिएको वडाध्यक्ष भोटेले बताए। फोहोर व्यवस्थापनको जिम्मा मध्यवर्ती उपभोक्ता समूहहरूको हो भन्दै निकुञ्ज प्रशासन तर्किन्छ। ‘हामीले उठाएको रकम सोझै सरकारी खातामा जान्छ’, निकुञ्जका सूचना अधिकृत खनाल भन्छन्, ‘फोहोर व्यवस्थापन, चर्पी निर्माणलगायत काम गर्नै भनेर मध्यवर्ती उपभोक्ता समूहले सेवा शुल्क उठाएको हुन्छ।’

अन्य विकृति पनि छन् पाटनहरूमा। अनुगमनको थिति नबस्दा यार्चा पाइने पाटनहरूमा म्युजिक सिष्टमको सहयोगले नाचगान, जुवातासको प्रतिस्पर्धा र मदिरा सेवन जस्ता विकृति बढ्दै गएको गुनासो सुनिन्छ। त्यति मात्र होइन, यार्चाको सिजनमा बस्तीका मानिस लेकतिर हुँदा गाउँघर र गुम्बाका सामान र मूर्ति चोरीका घटनासमेत बढ्दै गएको वडाध्यक्ष भोटेले सुनाए।

गम्भीर बहसको खाँचो

गुणस्तरीय यार्चाका लागि डोल्पा प्रख्यात छ। पाटनहरूमा यही किसिमले यार्चा टिप्नेहरूको मेला लाग्दै जाने हो भने अबका केही वर्षमा भोटे समुदायले बसाइँ सर्नुपर्ने अवस्था आउन सक्ने खतरा औंल्याउँछन् वडाध्यक्ष भोटे। ‘पाटनहरूमा अन्धाधुन्ध मान्छे पठाउने क्रम रोकिएन भने वातावरण विनाश बढ्दै जान्छ। पाटन मरुभूमीकरण बन्दै जानेछन्। हिउँदमा घाँस पाउन छोडिसक्यो। एक दिन खोला सुक्नेछन्। फलस्वरुप हामीले बसाइँ सर्ने अवस्था आउन सक्छ’, उनले चिन्ता व्यक्त गर्दै भने, ‘त्यसैले यार्चा अर्थतन्त्रले पारेका सकारात्मक र नकारात्मक असरको अध्ययन गरी तत्काल समस्याको वैज्ञानिक समाधान खोजिनुपर्छ। स्थानीयको आबाज निकुञ्ज र सरकारले सुन्नैपर्छ। यार्चा अर्थतन्त्रको प्रभावबारे गम्भीर बहस चलाउन अबेला भइसक्यो।’

तीर्थबहादुर श्रेष्ठ

वनस्पतिविद्
हिमाली जीवनको परम्पराविपरीत यार्चा दोहन गरियो। दिगो उत्पादनका लागि परम्परागत चक्रीय प्रणालीमा जानुपर्छ। जसरी स्थानीयले आफ्ना चौंरी र भेडा हरेक वर्ष एउटै पाटनमा चराउँदैनन्, त्यसैगरी एउटै पाटनमा हरेक वर्ष यार्चा टिप्न दिनु हुन्न। कम्तीमा पाँच वर्ष फरक पारेर यार्चा संकलनका लागि पाटनहरू खुला गरिनुपर्छ।

संकलकलाई सचेतना कक्षा जरुरी

मृत्युको कारण पनि बन्दै छ– यार्चा यात्रा। यसपालि मात्र परिवार पाल्ने मिठो सपना बोकेर यार्चाको खोजीमा निस्केका नौजनाले ज्यान गुमाउनुप¥यो। कोही लेक लागेर बिते भने कोही हिउँपहिरोमा परेर। हिमाली भेकको यात्रा र बसाइसम्बन्धी राम्रो ज्ञान नहुँदा जीवन खतरामा परिरहेको छ। बिडम्बना ! यति ठूलो रकम राजस्व उठाउने निकुञ्ज न त्यहाँ स्वास्थ्य शिविर चलाउँछ न जानुअघि सचेतना कक्षा नै दिन्छ।

यार्चा दोहनमात्रै गरियो

वनस्पतिविद् तीर्थबहादुर श्रेष्ठ भन्छन्, ‘यार्चाको दीगो उत्पादन कसरी लिने भनेर स्थानीयको रैथाने ज्ञान लिने प्रयाससमेत गरिएन। हिमाली जीवनको परम्पराविपरीत यार्चा दोहनमात्रै गरियो।’ दिगो उत्पादनका लागि परम्परागत चक्रीय प्रणालीमा जानुपर्ने सुझाउँदै श्रेष्ठ भन्छन्, ‘जसरी स्थानीयले आफ्ना चौंरी र भेडा हरेक वर्ष एउटै पाटनमा चराउँदैनन् त्यसैगरी एउटै पाटनमा हरेक वर्ष यार्चा टिप्न दिनु हुन्न। कम्तीमा पाँच वर्ष फरक पारेर यार्चा संकलनका लागि पाटनहरू खुला गरिनुपर्छ।’

पाटनहरूको क्षमता निर्धारण गरेर मात्र निश्चित संकलकलाई अनुमति पुर्जी दिइनुपर्छ भन्ने वनस्पतिविद् श्रेष्ठको सुझाव मननयोग्य देखिन्छ। त्यस्तो हुन सक्यो भने एकातिर वातावरण पनि जोगिन्छ भने अर्कातिर भीम परियार जस्ता यार्चा संकलक निराश भएर फर्कनुपर्ने अवस्था आउँदैन।

बिरामी परे गुहार्ने निकाय छैन
यार्चा संकलन गर्न यसपटक डोल्पाका विभिन्न पाटन पुगेका नौजनाको मृत्यु भएको छ। जुम्ला पतारासी गाउँपालिका ६ का १७ वर्षीय गोपाल बिष्टको से– फोक्सुन्डो गाउँपालिकामा पर्ने लामाडाँडा लेकमा लेक लागेर मृत्यु भयो। त्यस्तै जुम्ला गुठीचौर गाउँपालिका ४ का ४४ वर्षे जयकृष्ण पाण्डेको कागमारा लेकमा भीरबाट लडेर मृत्यु भयो। ठूलीभेरी नगरपालिका ११ का ३८ वर्षीय बुद्धिकुमारी कार्कीको ग्यालवारा लेकमा लडेर मृत्यु भयो। जाजरकोट जिल्ला बारेकोट गाउँपालिकाका २२ वर्षे रमेश चलाउनेको प्यारीभोक्पा पाटनमा कठ्यांग्रिएर मृत्यु भयो।

जाजरकोटकै १८ वर्षे कृष्ण विकको बिरामी परेर प्यारीभोक्पा पाटनमा मृत्यु भयो। त्यस्तै रुकुम पश्चिमका ३९ वर्षे कृष्णबहादुर शाहीको डोल्पोबुद्ध गाउँपालिकामा पर्ने ताक्सीमा लेक लागेर ज्यान गयो। ठूलीभेरी नगरपालिका ५ कि ४० वर्षीया धनकला बुढाको ग्यालवारा पाटनमा मृत्यु भयो। काइके गाउँपालिकाकी कान्छी विकले यार्चा संकलनकै क्रममा शिशु जनमाइन् तर अत्यधिक चिसोका कारण जन्मेको तीन दिनपछि शिशुको मृत्यु भयो। ठूलीभेरी नगरपालिकामा पर्ने रुपपाटनमा पुगेका जुफालका होटल व्यवसायी ६८ वर्षधका सनम लामाको पनि चिसोकै कारण मृत्यु भएको निकुञ्ज प्रशासनले जनाएको छ।

चिसो, बासी खाना, प्रदूषित पानी जस्ता कारणले संकलक बिरामी पर्छन्। पाटनहरूमा बिरामी परे ओषधोपचार पाइँदैन। पाटनहरुमा भरपर्दो स्वास्थ्य सेवा नहुँदा नहुँदा उपचार पाउन नसकेकर बिरामीको मृत्यु हुन जिल्ला अस्पताल डोल्पाका डा. हिमविक्रम शाही बताउँछन्।

अमृत भादगाउँले/कमल खत्री/विष्णुप्रसाद देवकोटा

प्रकाशित: २१ असार २०७६ ००:३९ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App