८ वैशाख २०८१ शनिबार
समाज

दैनिक १८ घण्टा लोडसेडिङ, सेवाग्राही मारमा

हुम्ला– दैनिक १८ घण्टा भन्दा बढी लोडसेडिङ हुन थालेपछि हुम्लाको सदरमुकाम सिमकोटको जनजीवन प्रभावित बनेको छ। पाँच सय किलोवाट विद्युत उत्पादन गर्ने क्षमताको वितरण केन्द्रमा दुई सय पचासका दुई वटा मेसिनमा बिगत लामो समयदेखि बिद्युत गृहमा जडान गरिएको पेनेस्टीक पाइप फुट्ने समस्याका कारण एउटा मेसिनबाट मात्र विद्युत उत्पादन हुने भएकाले यो समस्या आएको हो।

विहानदेखि वेलुकासम्म अधिकांश क्षेत्रमा लोडसेडिङ गर्ने गरेको र बेलुका १० बजेदेखि विहान ४ बजेसम्म विद्युत उपलब्ध गराउँदै आएको विद्युत वितरण केन्द्रले जनाएको छ। २०६५ सालबाट विद्युत उत्पादन गराउँदै आएको यस आयोजनाले सिमकोट र खार्पुनाथ गाउँपालिकाका २८ बस्तीमा विद्युत उपलब्ध गराउँदै आएको छ। बर्षेनी बिद्युत पावर हाउस मर्मतका लागि लाखौ खर्च भयो तर बिद्युतको अबस्था उस्तै छ। बत्ती आउने र जाने कुनै निश्चित नभएको बताउँदै स्थानीय सरोज रावतले बिजुली अभावका कारण काम गर्नै समस्या भएको बताए।

नेपाल बिद्युत प्राधिकरण हिल्दुम वितरण केन्द्रले भने बत्ती छिनमै आउने र जानेको अन्य कुनै विकल्प नभएको प्रतिक्रिया दिएको छ। ५ सय किलोवाट मध्ये २ सय ५० किलोवाटको एउटा मेसिन मात्र चलेको र यसबाट २ सय ५० किलोवाट पनि बिद्युत उत्पादन नभएको आयोजनामा शुरुको चरणमा सेन्सरको समस्या भए पनि अहिले पेनिस्टिक पाइप फुट्ने र मोटरको समस्याको मर्मत हुन नसक्दा लामो लोडसेडिङ हुने गरेको वितरण केन्द्रका प्रमूख लालबहादुर लम्सालले बताए।

समयमा सामान ढुवानीको लागि बिद्युत प्राधिकरण क्षेत्रीय कार्यालय नेपालगंजले बजेट नदिएका कारण हामीले समयमा काम गर्ने नसकेको हो। पावर हाउसमा गर्नुपर्ने सबै काम भइसकेको र ढुवानी हुन बाँकी रहेका ७ वटा पेनिस्टिक पाइप ढुवानी हुन नसक्दा समयमा काम हुन नसकेको हिल्दुम बिद्युत गृह पेनिस्टिक पाइपमर्मत उपभोक्ता समितिका अध्यक्ष तिर्थराज रोकायाले बताए।

यता हिल्दुम साना जलबिद्युत आयोजनाको तर्फबाट कुनै समस्या नभएको पेनिस्टिक पाइप ढुवानी र खरिदका लागि आयोजनाबाट नियम अनुसार दिनुपर्ने २५ लाख पेश्की ६ महिना अगाडि नै उपभोक्ता समितिलाई दिइसकेकाले उपभोक्ता समितिको लापरबाहीका कारण समयमा काम हुन नसकेको हिल्दुम साना जलबिद्युत आयोजना प्रमुख दावाजाङमु शेर्पाले बताए। 

हुम्ला सदरमुकाम सिमकोट र खार्पुनाथ गाउँपालिकाका १ हजार ८ सय ८१ घरधुरीमा लाइन बिस्तार गरेको आयोजनाले हरेक वर्ष लाखौ रकम खर्चेर मर्मत गरे पनि त्यसको प्रभावकारी कार्यान्वयन हुन नसक्दा जिल्ला अन्धकारमय हुन पुगेको छ।

प्रकाशित: १८ असार २०७६ ११:४४ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App