१५ असार २०८१ शनिबार
image/svg+xml
समाज

१७ जनाको क्षमता भएको भवनमा ९४ कैदी,आलोपालो गरी सुत्नुपर्ने बाध्यता

दोलखा जिल्ला कारागारभित्र छिडीमा पल्टिरहेका कैदी। तस्बिर: रमेश/नागरिक

दोलखा - महिला कैदी राख्न बनाइएको दुईतले भवनको भुइँतला। भ-याङमुनिको साँघुरो छिडीमा लगाइएको ओछ्यानमा चार युवक ढल्किरहेका। माथिल्लोपट्टि ‘प्यासेज’भरि डस्ना ओछ्याइएका। भित्रपट्टि पस्दा एउटै कोठामा २५ जना कोचाकोच गरेर बसिरहेका। यो दृश्य दोलखा जिल्ला कारागारको हो। ‘दिउँसो त धन्न यसरी बस्न पाइन्छ,’ कैदी रामचन्द्र कार्कीले भने, ‘राति सुत्ने ठाउँ नभएर जागै बसेर यही प्यासेज र छिँडीमा आलोपालो गरेर सुत्नुपर्छ’। उनका अनुसार ठाउँको अभावका कारण रातको समयमा कैदीहरूबीच सुत्ने पालो लगाइएको छ। दोलखा जिल्ला कारागारमा अहिले कैदी राखिएको भवनको क्षमता १७ जना हो। तर यो भवनभित्र ९४ कैदी बस्छन्।

‘१७ जना बस्ने क्षमता भएको भवनमा ९४ जना छौं,’ अर्का कैदी हिक्मत क्षेत्रीले भने, ‘साँघुरो ठाउँमा बस्नु र सुत्नुपर्दा निकै सकस हुन्छ।’ दोलखा कारागारभित्र पुरुष कैदीबन्दीका लागि अर्को भवन बन्दै छ। ठेकेदारको लापरबाहीले दुई वर्षमा सकिनुपर्ने भवन सात वर्षमा पनि बन्न सकेको छैन। पुरुष कैदीबन्दीका लागि भनेर भवन विभागले दुई वर्षभित्र सम्पन्न हुनेगरी २०६९ मा ठेक्का लगाएको भवन ठेकेदार कम्पनी खम्पाचे निर्माण सेवाको लापरबाहीका कारण पूरा हुन सकेको छैन। अर्को भवन बनिनसकेकाले सकसपूर्ण दिनचर्या गुजार्नुपरेको कैदीहरूले बताएका छन्। अहिलेको भवन महिला कैदीबन्दीका लागि भनेर बनाइएको हो।

कैदीहरूका अनुसार एउटै कोठामा लहरै २५ जनासम्म सुत्नुपर्दाको पीडा सुनाइसाध्य छैन। ‘लहरै सुत्दा राति दिसापिसाब लाग्यो भने कुनामा सुतेको मान्छेले अरू साथीहरूलाई लात्ती लगाएर उठेर जानुपर्छ,’ अर्का कैदीले भने। त्यस्तै शौच गर्न पनि घन्टौं लाममाा बस्नुुपरेको गुनासो कैदीहरूको छ। कोचाकोच बसिरहेका कैदीहरूलाई खुला भवन नहुँदा समय कटाउनसमेत मुस्किल छ। कारागारभित्र उत्प्रेरणा जगाउने खुला वातावरण नभएकै कारण अदालतबाट आजीवन काराबास र पुर्पक्षका लागि थुनामा गएका दुई कैदीले चार महिनाका बीचमा कारागारभित्रै आत्महत्या गरिसकेका छन्। कारागार कार्यालय दोलखाका प्रमुख प्रकाश नेपालले भवन र ठाउँको अभावमा कैदीले समस्या भोगिरहनुपरेको सुनाए। ‘राम्ररी सुताउन भवन छैन,’ उनले भने, ‘प्रायः कैदी यसैगरी छिडी, गल्ली र खाली ठाउँमा राति पालो लगाएर सुत्ने गर्छन्।’

ठेकेदारले भवन निर्माणमा ढिला गरेका कारण समस्या परेको उनले सुनाए। ‘म पनि भर्खरै सरुवा भएर आएको हुँ,’ उनले भने, ‘निर्माण व्यवसायीले भवन बुझाउन ढिलाइ गरेका कारण यो समस्या भोग्नुपरेको हो,’ उनले १७ जना अट्ने क्षमताको एउटा मात्र भवन भए पनि कैदी थपिने क्रम नरोकिएको सुनाए। ‘जिल्ला अदालतमा पुर्पक्ष वा फैसला भएका कैदी यहीं पठाइन्छ,’ उनले भने, ‘ठाउँ अभाव हुँदा धान्नै गाह्रो भइरहेको छ।’ नेपालले महिला कैदीहरूलाई भने जिल्ला प्रहरी कार्यालयलाई चिठी लेखेर प्रहरी हिरासतमा राख्नुपरेको सुनाए। ‘ठाउँ नभएका कारण अर्को व्यवस्था नहुन्जेल त्यहाँ राखिदिनुस् भनेर महिला कैदीलाई प्रहरी हिरासतमा पठाउँछौं,’ नेपालले भने।

निर्माणाधीन भवन हेर्दै आएका इन्जिनियर तुलसीराम खर्बुजाले ठेकेदारलाई चाँडोभन्दा चाँडो काम सकेर भवन हस्तान्तरण गर्न ताकेता गरिरहेको बताए। ‘कारागारभित्रको समस्याबारे जानकार छौं,’ उनले भने, ‘तर सात वर्षदेखि ठेकेदार कम्पनीले ढिलाइ गरिरहेका कारण समस्या आएको हो, अब भवन अन्तिम चरणमा पुगिसकेको छ, छिट्टै बुझाउने प्रक्रियामा लैजान्छौं।’ उनले अहिले सम्पन्न हुन लागेको भवन पुरुष कैदी बस्ने प्रयोजनका लागि भएका कारण नयाँ भवन कारागार कार्यालयलाई हस्तान्तरण गरेपछि स्थान अभावको समस्या नहुने बताए।

प्रकाशित: २४ जेष्ठ २०७६ ०३:४८ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App