coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

नयाँ विद्यालय भवन पाउँदा फुरुङ्ग

भूकम्पपछि पुनर्निर्मित जयगणेश आधारभूत विद्यालय भवन। तस्बिर : ध्रुव

लिसंखुपाखर (सिन्धुपाल्चोक)- भूकम्पपछिको पुनर्निर्माणमार्फत आकर्षक नयाँ भवन पाउँदा जयगणेश आधारभूत विद्यालयका अभिभावक तथा विद्यार्थी फुरुङ्ग परेका छन्। साढे दुईवर्ष लगाएर बनाएको भवन बिहीबार आफ्नै संरक्षणमा आएपछि उनीहरु अझ उत्साही देखिए।

 ‘भूकम्पपछि भवन अभावमा ठूलो कष्ट सहेर पठनपाठन सञ्चालन गरेका थियौँ,’ विद्यालय समुदायको स्वामित्वमा आएपछि व्यवस्थापन समिति अध्यक्ष पेमा घिरिङले भने, ‘नयाँ भवनले भूकम्पले दिएको दुःख भुलाउँदै लगेको छ।’ तीन करोड ४० लाख रुपैयाँ लागतमा बनेको विद्यालय भवन नेकपा नेता र संघीय सांसद अग्निप्रसाद सापकोटाले एक कार्यक्रमबीच उद्घाटन गरे। उनले सुविधा सम्पन्न भवन पाएकाले शैक्षिक गुणस्तर सुधार्न शिक्षकहरुलाई आग्रह गरे।

दाता एशियाली विकास बैंक (एडिबी) को सहयोगमा राष्ट्रिय पुनर्निर्माण प्राधिकरण, जिल्ला आयोजना कार्यान्वयन इकाइ (शिक्षा)मार्फत यो विद्यालय बनेको हो। नवनिर्मित दुईटा भवनमा सात कोठा छन्। एक/एक कार्यालय, पुस्तकालय कक्ष र पाँच कक्षा रहेका भवनमा शिक्षक, विद्यार्थी र अशक्तका लागि छुट्टाछुट्टै शौचालयसमेतको व्यवस्था छ।

इकाइका आयोजना प्रमुख यमबहादुर खड्काले विद्यालय भवन समुदायलाई हस्तान्तरण गरेका थिए। साथै उनले विद्यालयलाई निर्माण सम्पन्न प्रमाणपत्रसमेत प्रदान गरे। भूकम्पपछि ठेक्का प्रक्रिया, संघसंस्था र व्यवस्थापन समितिमार्फत शैक्षिक संस्था पुनर्निर्माण भइरहेको जानकारी दिँदै उनले सिन्धुपाल्चोकका सामुदायिक विद्यालयको पुनर्निर्माण अन्तिमतिर पुगेको जानकारी दिए।

स्थानीयले ऋणधन, अन्नताप बेचेर २०४६ मा बनाएको विद्यालय भवन २०७२ वैशाख १२ को भूकम्पले भत्काएको थियो। लामो समय विद्यार्थी अस्थायी टहरोमा पढ्न बाध्य भए। खानेपानी सुविधा, आकर्षक फर्निचरले सँजिएको विद्यालय भवन साजसजावटले चिटिक्क छ। पाँच कक्षासम्म पढाइ हुने विद्यालयमा २६ बालबालिका अध्ययनरत छन्।

केही वर्षअघिसम्म ५०–६० विद्यार्थी रहने विद्यालयमा बालबालिका संख्या घट्दै गएकोमा व्यवस्थापन समितिका अध्यक्ष घिसिङले चिन्ता दर्शाए। ‘रोजगारीका लागि अभिभावक अन्यत्र जाँदा बालबालिका पनि लैजान थाले,’ विद्यार्थी संख्या घट्नु कारण खुलाउँदै उनले भने। सुविधायूक्त विद्यालय भवन पाएकाले गुणस्तरीय शिक्षाद्धारा उनीहरुलाई फर्काएर विद्यार्थी संख्या बढाउने योजनामा समुदाय जुटेको उनले बताए।

प्रकाशित: १६ जेष्ठ २०७६ १२:४७ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App