धवलागिरि गाउँपालिका-६ मा रहेको मराङखोलामा ३६५ मिटर लामो झोलुङ्गे पुल बनेको छ। सहरी विकास मन्त्रालयअन्तर्गतको स्थानीय पूर्वाधार विकास आयोजना कास्की, पोखराले घाइरीबोट र खाउरीबाङ जोड्ने पुल बनाएको हो।
धवलागिरि गाउँपालिका-६ का वडाध्यक्ष राजाराम सुवेदीले पुलबाट धवलागिरि-६ का साथै वडा नं ५ मल्कवाङ र मालिका गाउँपालिका-७ बिमका बासिन्दा लाभान्वित भएको जानकारी दिए।
‘मराङमा रहेको वडा कार्यालय, स्वास्थ्य चौकी र जनविकास माविमा पुग्न अर्बाङ, घण्टीवाङका बासिन्दाको यात्रा छोटिएको छ,’ उनले भने, ‘अर्वाङ, घण्टीवाङ, रिखका बासिन्दालाई मराङबेँसीमा झरेर वडा कार्यालय, स्वास्थ्यचौकी, माध्यमिक विद्यालय भएको ठाउँमा पुग्न करिब एक घण्टा पैदल हिँड्नुपर्नेमा पुल बनेपछि यात्रा १५ मिनेटमा छोटिएको छ।’
यो पुल बनाउन २०८१ साल असारमा बेनी नगरपालिका-२ को निर्माण कम्पनीले रु दुई करोड ५० लाखमा ठेक्का सम्झौता गरेको थियो। १८ महिनाको ठेक्का अवधि भए पनि १२ महिनामै पुल बनाइसकेको निर्माण कम्पनीका सञ्चालक प्रदीप सापकोटाले बताए।
स्थानीय पूर्वाधार विकास आयोजना कास्कीमार्फत यसै वर्ष धवलागिरि गाउँपालिका-३ दरखोलामा ३६६ मिटर लामो झोलुङ्गे पुल पनि बनेको छ। यो वर्ष बनेका दुईवटासहित म्याग्दीमा ३०० मिटरभन्दा लामा झोलुङ्गे पुलको सङ्ख्या चारवटा र कुल झोलुङ्गे पुल छवटा पुगेको छ।
रघुगङ्गा गाउँपालिका-१ बेग र बादुक जोड्ने बेगखोलामा ३६५.८० मिटर, मालिका-७ बिमवाङ र धवलागिरि-६ रिख जोड्ने ३५० मिटर, बेनी नगरपालिका-१ रत्नेचौर र बागलुङ नगरपालिका-४ कुडुले जोड्ने ३८८ मिटर र अन्नपूर्ण गाउँपालिका-५ शिख र किन्दु जोड्ने ३४४ मिटर लामो पुल बनिसकेका छन्। रासस
प्रकाशित: २९ असार २०८२ ०७:४१ आइतबार





