१५ चैत्र २०८० बिहीबार
समाज

छिमेकीसँग भूकम्पले छुटायो, एकीकृत बस्तिले जुटायो

नुवाकोट- विनासकारी भूकम्प २०७२ बाट विस्थापित भएका भाल्चेबेशी तान्दु्रङका परिवारहरु आश्रय खोज्दै यत्रतत्र छरिए। एकै धाराको पानी खाएर मेलापात गर्दै सुख दु:ख साटेर जीवन यापन गरिरहेका तान्दु्रङवासीहरु कोलोनी, त्रिशुली, विदुर, बट्टार मात्र नभई काठमाडौँसम्म छरिए।

विशेष पर्व हुँदा समेत भेट्न गाह्रो परेको त्यस बस्तिका नागरिकलाई भूकम्प गएको ४ वर्ष पछि एकै ठाउँमा ल्याइदिएको छ विदुर नगरपालिका–९ जफतीमा बनेको ‘वोर्थोक घलेटोल एकीकृत बस्ति’ले।

तान्दु्रङको भूमिलाई भूकम्पले मानव वस्ति बसाल्न अयोग्य बनाए पछि छोरीहरुको पढाईलाई मध्यनजर गर्दै कोलोनीमा कोठा लिएर बसेका थिए हरीमायाँ घलेको परिवार। घले समुदायको संस्कार अनुसार पूजा लगाएर यहि जेष्ठ १ गतेबाट एकीकृत बस्तिमा बस्न थालेकी हरीमायाँले भनिन्, “खोलाको बिचमा हाम्रो गाउँ छ। भूकम्पले घर भत्कायो। गाउँमा नै बस्न नमिल्नि बनायो। त्यस पछि गाउँका मान्छेहरु कोठा लिएर कोही कता कोही कता बस्न थाले। भेट्नै मुस्किल हुन्थ्यो,” हरीमायाँले भनिन्, “गाउँमा भए पो आफ्नै खेतबारीमा उब्जाउ हुन्थ्यो। खान लाउन, बच्चा पढाउन सहज थियो। कोलोनीमा बस्दा त जे पनि किन्नै पर्ने। खर्च कत्ति भयो हिसाबै छैन।”

एकीकृत बस्तिमा बस्न थाले पछि जीवन स्तर उकासिने आशा पालाएको भन्दै उनले भनिन्, “सबै भन्दा ठूलो आफ्नो नामको घर रहेछ। पहिलेका छिमेकीहरु फेरी एकै ठाउँमा बस्न पाएका छौँ। यहाँ गरी खाने जग्गा त छैन। तरकारी खेती गर्ने रहर  छ। यता भाडामा जग्गा पाइन्छ भन्ने सुनेकी छु। जग्गा भाडामा लिएर तरकारी खेती गर्ने सोच छ।”

 ‘वोर्थोक घलेटोल एकीकृत बस्ति’ नेपाल भूकम्प पुर्नलाभ तथा पुनःनिर्माण कार्यक्रम अन्तर्गत रहेर अन्तराष्ट्रिय गैर सरकारी सस्था अक्सफामको आर्थिक तथा प्राविधिक सहयोगमा  सहायता सामाजिक संस्थाले निर्माण गरेको हो। नेपाल सरकारबाट मान्यता प्राप्त इन्टरलकिङ ब्लक प्रयोग गरी ट्रष्टले छाएको दुई कोठे २ वटा र ३ कोठे १५ वटा गरी १८ वटा घर एकीकृत बस्तिमा रहेको छ।

त्यहि एकीकृत वस्तिले ८३ वर्षीय ठुटे घलेको मुहारमा चमक ल्याइदिएको छ। उनी भन्छन्, “अर्काको गाउँमा आएर बस्दा नरमाइलो त लागेको छ तर सबै आफन्तहरु छन्। यसैमा खुसी छु,” उनले भने, “बुढेसकालमा रंङ्गिचङिुग घरमा बस्न पाएका छौँ। शहर आएर बसे जस्तो लागिराछ।”

भाल्चेको बासिन्दा भए पनि नगरपालिकामा निर्माण भएको एकिकृत बस्तिमा बस्न आएकोले उनीहरुको आर्थिक स्थितिमा सुधार ल्याउने कार्यक्रमहरु सञ्चालन गर्नु नगरपालिाको कर्तव्य रहेको उपमेयर गीता दाहालले बताइन्। बस्ति निर्माण गर्ने सस्थासँग साझेदारी गरेर जिविकोपार्जन हुने क्रियाकलाप अघि  बढाउने उनले बताइन्। “मान्छेको जीवन घरले मात्र चल्दैन। आयआर्जन हुने बाटो चाहिन्छ। एकीकृत बस्तिका बासिन्दाको लागि नगरपालिकाले छुट्टै, सस्थाहरुले छुट्टै कार्यक्रम ल्याउदा योजनाहरु जुधेर प्रतिफल थोरै आउन सक्छ। त्यसैले सहकार्य गरेर अघि बढ्छौँ। नागरिकहरुको दुखमा हातेमालो गछौँ।”

एकीकृत बस्तिको एउटा घर निर्माण गर्न ७ लाख रुपैयाँ लगानी भएको सहायता सामाजिक सस्थाका कार्यक्रम संयोजक विशाल गौतमले बताए। घर निर्माण गर्दा प्रति घर १ जनाले श्रमदान गरेको र स्थानीय स्तरमा उपलब्ध हुने सामाग्रीको प्रयोग गरिएको उनले बताए। परिवार सङरख्या ३ जना भएको लागि २ कोठे र परिवार सङख्या ३ जना भन्दा बढी भएकालाई ३ कोठे घर गोलाप्रथा मार्फत छान्न लगाइ्एको थियो।

एकिकृत बस्तिमा विस्थापितहरु बस्न थालिसकेको भए पनि स्वच्छ खानेपानी र विजुली बत्तिको सहज उपलव्धता गराउने काम नसकेको हुदा समुदायलाई हस्तान्तरण गर्न बाँकी रहेको छ।

 

प्रकाशित: ७ जेष्ठ २०७६ ०६:२३ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App