coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
समाज

प्रदेश ५, कर्णाली र सुदूरपश्चिममा सन्तुलन कायम

नेपालगन्ज - तत्कालीन नेकपा एमाले र माओवादी केन्द्रबीच एकता भएको लामो समयपछि जिल्ला तहको एकता प्रक्रिया टुंग्याएको नेकपाले प्रदेश ५, कर्णाली र सुदूरपश्चिम प्रदेशमा सन्तुलन मिलाएको छ। झन्डै एमाले र माओवादीले बराबरी जिल्लामा अध्यक्ष बाँडफाँट गरेका छन्। यी प्रदेशका ३१ जिल्लामध्ये एमालेले १६ र माओवादीले १५ जिल्लामा अध्यक्षको भागबन्डा मिलाएका छन्। कर्णाली प्रदेशका १० बाट तत्कालीन एमालेले ४ र माओवादीले ६ जिल्लामा अध्यक्ष पाएका छन्।

कर्णाली प्रदेशअन्तर्गत सुर्खेतमा धुव्र शाही, डोल्पामा दत्त रोका, दैलेखमा रवीन्द्र शर्मा र सल्यानमा गोविन्द पुनले एमालेबाट अध्यक्षको जिम्मेवारी पाए भने जाजरकोटमा ढकबीर राना, रुकुममा पश्चिम गोपाल शर्मा, कालीकोटमा धनजित शाही, जुम्लामा वीरबहादुर कुँवर, मुगुमा सुकवीर बुढा र हुम्लामा लालकेश जैसी माओवादीबाट अध्यक्ष भएका छन्। कर्णाली माओवादीको प्रभाव क्षेत्र मानिन्छ। यता सुदूरपश्चिम प्रदेशमा एमाले र माओवादीबीच करिब बराबरीजस्तै छ। एमालेले पाँच जिल्ला पाउँदा माओवादीले चार जिल्लामा अध्यक्ष पाएको छ। सुदूरपश्चिमका नौ जिल्लामध्ये कञ्चनपुरमा वीरबहादुर थापा, डडेल्धुरा मानसिंह माल, बझाङ मीनबहादुर कुँवर र दार्चुलामा गणेश खत्री माओवादीबाट अध्यक्ष हुँदा रतन थापा कैलाली, चक्रमल्ल डोटी, शेरबहादुर कुँवर अछाम, सुरेन्द्र पाल बैतडी र कालीबहादुर शाही बाजुरामा एमालेबाट अध्यक्ष भएका छन्।

यता प्रदेश ५ का १२ जिल्लामध्ये सात जिल्लामा एमाले र पाँच जिल्लामा माओवादीले अध्यक्षको जिम्मेवारी पाएका छन्। शिव सुवेदी रूपन्देही, टीकाराम खड्का दाङ, नारायणप्रसाद आचार्य पाल्पा, मधुकृष्ण पन्त गुल्मी, तेजनारायण आचार्य अर्घाखाँची, झविलाल पोखरेल कपिलवस्तु र तुलसीराम शर्मा प्युठानमा एमालेको कोटाबाट अध्यक्ष बने। यस्तै भुवन थारू बर्दिया, आइपी खरेल बाँके, सुरेन्द्र थापा घर्ती रोल्पा, भविश्वर तिवारी नवलपरासी पश्चिम र मेघबहादुर श्रेष्ठ रुकुम पूर्वबाट माओवादीको कोटाबाट अध्यक्ष भए।
तत्कालीन नेकपा एमालेले एक व्यक्ति, एक जिम्मेवारी बनाउने भनिए पनि अहिले आएर एउटै व्यक्तिले दोहोरो जिम्मेवारी पाएका छन्। संघ, प्रदेश सांसद, मन्त्री पनि यस भागबन्डामा परेका छन्। त्यस्तै अध्यक्ष र सचिवको वरीयता नमिल्दा पनि केही जिल्लामा समस्या भएको छ। यसले अवसर नपाएका नेताहरू व्यवस्थापनमा समस्या देखिएको छ। जसले गर्दा डडेल्धुरामा विवाद चुलिएको छ। यहाँ नेकपा एमालेका तत्कालीन जिल्ला अध्यक्ष डा. तारा जोशीलाई पार्टी एकतापछि सचिवमा चयन गरिएपछि मतभेद देखिएको हो। पार्टी एकताको घोषणा गरेको नेकपाले डडेल्धुरामा तत्कालीन माओवादीका नेता मानबहादुर माललाई अध्यक्ष चयन गरेको छ। माल माओवादीका पूर्वसंयोजक हुन्।

डा. जोशीले जिम्मेवारी नमिलेको भन्दै सचिव पद स्वीकार गरेका छैनन्। ‘पार्टी एकतामा कुनै निश्चित मापदण्ड बनाउनु स्वाभाविक हो,’ उनले भने, ‘दुई पार्टीमध्ये एउटाबाट जिल्ला अध्यक्ष र अर्कोबाट सचिव हुने भए पनि व्यक्तिका लागि बाध्यकारी होइन।’ यो एक विकल्प मात्र भएको उनले बताए। पूर्ववत् कमिटीको वरीयताका आधारमा उक्त पदहरूका लागि व्यक्ति छनोट हुने अन्य विकल्प भएको उनको भनाइ छ। पार्टीको वरीयताको आधारलाई वास्ता नगरी तत्कालीन एमालेका जिल्ला अध्यक्ष डा. जोशीलाई सचिवमा चयन गरिएकाले पार्टीको निर्णय मान्य नहुने उनको भनाइ छ।
अध्यक्षले सोझै महाधिवेशनमा मताधिकार प्रयोग गर्न पाउने अधिकार विधानमा उल्लेख छैन। अध्यक्ष पनि केन्द्रीय महाधिवेशनको मताधिकार प्रयोग गर्नलाई जिल्लाबाट छुट्टै प्रतिनिधि भएर जानुपर्छ।

यस भागबन्डाले महाधिवेशनमा केही प्रभाव पार्ने नेकपाका केही नेता बताउँछन्। ‘कतिपय अध्यक्ष नपर्न पनि सक्छन्,’ रुकुम पश्चिमका अध्यक्ष गोपालप्रसाद शर्माले भने, ‘सबै अध्यक्षले मताधिकार पाउँछन् भन्ने पनि छैन।’ नेताको प्रभावभन्दा क्षमता र मूल्यांकनका आधारमा अध्यक्ष सचिव छनोट भएको नेकपाका कैलाली अध्यक्ष रतन थापाले बताए। ‘पहिला भागबन्डा टुंग्याउन विभिन्न अभ्यास गर्दा पनि सफल भएन,’ उनले भने, ‘यसरी मिलाउँदा उपयुक्त भयो।’ पहिला एक व्यक्ति, एक जिम्मेवारी बनाउने भनिए पनि गुट उपगुटको बिल्ला भिराउँदा नमिलेको भन्दै उनले यो नै उपयुक्त विकल्प भएको बताए। महाधिवेशनमा केही प्रभाव राख्ने नेताले मात्र प्रभाव पार्ने हुँदा जिल्ला अध्यक्ष हुँदा अहिले नै मताधिकारका कुरा उपयुक्त नहुने बताए।

कतिपय जिल्लामा सामान्य विवाद देखिए पनि अधिकांश जिल्लामा नेताहरूले आचोलन गरेका छैनन्। जसले गर्दा ती जिल्लामा विवाद छैन भन्ने प्रस्ट देखिन्छ। केन्द्रीय नेताले यो भागबन्डामा सहमति जनाउँदा पनि जिल्लास्तरका नेताले समर्थन गरेको कतिपयको भनाइ छ। व्यक्तिको चाहनाभन्दा पार्टीको सिद्धान्त र विधिअनुसार एकता प्रक्रियाको भागबन्डा आउँदा जिल्ला नेताहरूले सहमति जनाएको जुम्लाका अध्यक्ष वीरबहादुर कुँवरले बताए। यता पार्टीलाई व्यवस्थित बनाउनलाई पनि केही व्यक्तिलाई एक पद दुई जिम्मेवारी भएको गुम्मीका अध्यक्ष मधुकृष्ण पन्तले बताए। उनी गुल्मीको छत्रकोट गाउँपालिकाको अध्यक्षसमेत हुन्।

प्रकाशित: ११ वैशाख २०७६ ०२:३० बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App