३ चैत्र २०८२ मंगलबार
image/svg+xml
अन्तर्राष्ट्रिय

सर्वोच्चमा मोदी सरकारको तर्क : सोनमले नेपालको जस्तै हिंसात्मक आन्दोलन भारतमा पनि भड्काउन खोजे

भारतको केन्द्र (नरेन्द्र मोदी) सरकार र लद्दाख प्रशासनले जलवायु अभियान्ता सोनम वाङचुकमाथि गम्भीर आरोप लगाएको छ। मोदी सरकारको दाबी अनुसार गान्धीवादी अहिंसाको आवरणमा वाङचुकले युवा (जेनजी) पुस्तालाई हिंसाका लागि उक्साएका थिए।

सोमबार सरकारी वकिल तुषार मेहताले अदालतमा भने, ‘उनले भाषण सावधानीपूर्वक तयार पारे। नेपाल र बंगलादेशमा जस्तै आन्दोलनको आह्वान गरे। अरब स्प्रिङ जस्तो सरकार उल्टाउने सम्भावना देखाए। वास्तविक मनसाय लुकाउन महात्मा गान्धीको भाषण प्रयोग गरे।’

उनले जेनजीलाई लक्षित गर्दै नेपाल–बंगलादेशका विरोध प्रदर्शन र अरब स्प्रिङको उदाहरण दिएर उक्साउने प्रयास गरेको दाबी गरे। मेहताले थपे, ‘लद्दाख सीमावर्ती क्षेत्र हो। चीन र पाकिस्तानसँग जोडिएको छ। यो ठाउँ धेरै संवेदनशील छ। उनले सरकारलाई ‘तिनीहरू’ र लद्दाखबासीलाई ‘हामी’ भनेर अलग्याए। जनमत संग्रहको आह्वान गरे।’

‘गान्धीले कहिल्यै आफ्नै सरकारविरुद्ध हिंसा उक्साएनन्। यो भड्काउने र छद्म तरिकाले युवालाई भ्रमित गर्ने काम हो,’ मेहताले भने, ‘जिल्ला मजिस्ट्रेटले भाषणका भिडियो र सामग्री हेरेर नजरबन्द आदेश दिएको हो। यहाँ प्रक्रिया पूरा भएको छ।’

वाङचुकका तर्फबाट वरिष्ठ अधिवक्ता कपिल सिब्बलले बहस गरिरहेका छन्। उनले प्रहरीमाथि सम्पादन गरिएका भिडियो क्लिपमा आधारित भएर जिल्ला मजिस्ट्रेटलाई भ्रमित गरेको आरोप लगाए। सिब्बलका अनुसार नजरबन्द आदेशमा पुराना एफआईआरहरू र सेलेक्टिभ भिडियो क्लिपहरू सन्दर्भभन्दा बाहिर गएर प्रयोग गरिएको छ। 

सिब्बलले वाङचुकसँग सरकारको आलोचना गर्ने, शान्तिपूर्ण विरोध गर्ने र गान्धीवादी तरिकाले असहमति व्यक्त गर्ने संवैधानिक अधिकार भएको स्पष्ट पारेका छन्। उनका अनुसार हिंसा वा हिंसाको कुनै आरोप छैन, सबै कुरा सन्दर्भबाट बाहिर निकालेर प्रस्तुत गरिएको छ।

अभियान्ता सोनमलाई गत वर्ष सेप्टेम्बर २६ मा राष्ट्रिय सुरक्षा ऐन (एनएसए) अन्तर्गत हिरासतमा लिइएको थियो। लद्दाखमा राज्यको दर्जा र छैटौँ अनुसूचीको माग गर्दै भएको प्रदर्शन हिंसात्मक भएपछि चार जनाको मृत्यु हुनुका साथै ९० जना घाइते भएका थिए।

उनकी पत्नी गीताञ्जली आङ्मोले एनएसए अन्तर्गतको नजरबन्द गैर कानुनी भएको भन्दै सर्वोच्च अदालतमा याचिका दायर गरेकी थिइन्।

भारतीय सञ्चारमाध्यमका अनुसार बहस सकिएको छैन।

प्रकाशित: २० माघ २०८२ १३:१४ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App