१३ आश्विन २०८१ आइतबार
image/svg+xml
समाज

बालविवाहविरुद्ध १५ हजारलाई प्रतिबद्ध गराइने !

नागरिक – बालविवाहविरुद्ध १५ हजार व्यक्तिले साझा प्रतिबद्धता जनाउने भएका छन्। सोमबारबाट सुरु बालविवाहविरुद्धको सञ्चार अभियानमा देशभरिका ७७ जिल्लाका १५ हजार व्यक्तिले प्रतिबद्धता जनाउनेछन्।

देशैभरिका सामुदायिक रेडियोको सहकार्यमा सामुदायिक रेडियो प्रसारक संघ अको-याबद्वारा सञ्चालित सामुदायिक सूचना नेटवर्क (सीआईएन)ले प्रतिबद्धता संकलनलगायत सञ्चार अभियान आजबाट सुरु गरेको हो। अभियान ४ महिनासम्म चल्नेछ।

अभियानमा संघीय सरकारका मन्त्री, सातै प्रदेशका मुख्यमन्त्री, सांसदसहित सबै क्षेत्रका व्यक्तिले प्रतिबद्धता जनाउनेछन्। देशभरि रहेका सामुदायिक रेडियोमार्फत तल्लो तहका नागरिकको आवाज संकलन गर्ने र सीआईएनमार्फत नीतिगत तहमा सरोकारवालाको प्रतिबद्धता लिइने सीआईएन प्रबन्धक दीपक आचार्यले जानकारी दिए।

अभियानकै क्रममा बालविवाह बढी हुने क्षेत्रमा पुगेर खुला छलफलसमेत गरिनेछ। बालविवाहविरुद्धको प्रतिबद्धता पूरा गर्न, विचार राख्न र सृजनाहरू प्रस्तुत गर्न सीआईएनको स्टुडियो सधैं खुला रहने र टेलिफोनमार्फत रेकर्ड गराउने व्यवस्था मिलाइएको छ।

चार महिनाभित्र १५ हजार व्यक्तिको प्रतिबद्धता संकलन गरी प्रसारण गर्ने, रेडियो कार्यक्रम सञ्चालन गर्ने, बालविवाहविरुद्ध जनचेतनामूलक सन्देश, बालविवाहविरुद्धका गीत प्रसारण गर्ने र जिल्ला जिल्लाका सार्वजनिक ठाउँमा अभियानात्मक कार्यक्रम गर्ने आचार्यले बताए। बालविवाह अन्त्यका लागि स्थानीय तहका पदाधिकारीदेखि गाउँसम्म पुगी प्रतिबद्धता संकलन गरी प्रसारण गर्ने तयारी सीआईएनले गरेको छ। 

अभियानका क्रममा सीआईएन र सामुदायिक रेडियोले ठाउँठाउँबाट प्रत्यक्ष प्रसारण, स्टुडियोमा छलफल तथा विचार प्रसारण गर्नेछन्। बालविवाहविरुद्धको सन्देशलाई रेडियोलगायत सञ्चार माध्यममार्फत फैलाउँदा बढी प्रभावकारी हुने भएकाले अभियानमा साथ दिन सबै सञ्चारमाध्यमलाई आग्रह गरिएको छ।

अभियानमा बालविवाहविरुद्ध विचार र प्रतिबद्धता सीआईएनको स्टुडियोमै पुगेर पनि जोसुकैले आफ्नै आवाजमा राख्न सक्ने व्यवस्था गरिएको जनाइएको छ। २०६८ सालको जनगणनाअनुसार १० देखि १९ वर्षभित्र विवाह गर्नेको संख्या ४८.९५ प्रतिशत देखाएको थियो। 

 

प्रकाशित: २० फाल्गुन २०७५ १४:१५ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App