४ आश्विन २०८१ शुक्रबार
image/svg+xml
समाज

तालाबन्दीले बलरा नगरपालिका साढे २ महिनादेखि ठप्प

उपमेयर रामसखी देवी

सर्लाही - जिल्लाको दक्षिणपश्चिम भेग भारतीय सिमाक्षेत्र स्थित बलरा नगरपालिकाका मेयर अभयकुमार सिंह विरुद्ध उपमेयर तथा बहुसंख्यक वडाअध्यक्षहरुले अनियमितताको आरोप लगाएका छन्। मेयर सिंहसँगको विवादका कारण उपप्रमुख सहित वडाअध्यक्षहरुले तालाबन्दी गरेका कारण साढे २ महिनादेखि बलरा नगरपालिका कार्यालय ठप्प छ।

राष्ट्रिय जनता पार्टीबाट निर्वाचित मेयर सिंहविरुद्ध सोही पार्टीबाट विजयी उपमेयर रामसखी देवीसहित ९ जना कार्यपालिका सदस्यले पत्रकार सम्मेलन नै गरेर चरम आर्थिक अनियमितता गरेको र कार्यालय सञ्चालनमा मनोमानी गरेको विरोधमा तालाबन्दी गरिएको बताए। पत्रकार सम्मेलनमा उपमेयर रामसखी देवीसहित राजपाबाट निर्वाचित ४, कांग्रेसबाट निर्वाचित ४ तथा तत्कालीन माओवादीबाट निर्वाचित १ वडा अध्यक्षले मेयरले चरम आर्थिक अनियमितता गर्नुका साथै आफूहरूलाई कुनै जिम्मेवारी नै नदिएको दाबी गरे।

वरिपरि वडाध्यक्षहरू राखेर पत्रकार सम्मेलनमा उपस्थित भएकी उपमेयर रामसखीले मेयर सिंहले आफूलाई कुनै पनि काम गर्न नदिएको गुनासो गरिन्। ‘मेयरसाबले मनपरी काम गर्नुभएको छ, हामीलाई केही जानकारी नै दिनुहुन्न,’ उपमेयर रामसखीले भनिन्, ‘सोझै रजिष्टर ल्याएर हस्ताक्षर गर्न लगाउनुहुन्छ।’ कार्यपालिका बैठकका भएका निर्णय पनि आफूलाई राम्रोसँग पढ्न नदिई नगरप्रमुख सिंहले हस्ताक्षर गर्न लगाएको उपमेयर रामसखीले आरोप लगाइन्।

सडक तथा चापाकल निर्माण, सवारीसाधन र खानेपानीको प्रयोगलगायतका शीर्षकमा नगरप्रमुखले फर्जी बीलभर्पाइ बनाई बजेट अनियमितता गरेको, नगरपालिकाकै कम्पाउन्डभित्र राष्ट्रिय वाणिज्य बैंक हुँदाहुँदै रकम हिनामिनाकै लागि सदरमुकाम मलंगवास्थित नेपाल बैंकबाट कारोबार गरेको समेत वडाध्यक्षरूले आरोप लगाएका छन्।

‘म मेरै कक्षमा बसिरहेको हुन्छ, नगर कार्यपालिका बैठक कहाँ बस्छ, थाहा हुँदैन, अन्तिममा हस्ताक्षर गर्न भन्दै माइन्यूट ल्याइन्छ’, उनले भनिन्, ‘न्यायिक समितिको कामसमेत गर्न पाएकी छैन।’ ताला लगाएको कार्यालय खुलाएर आम सेवाग्राहीको सेवा सुविधामा ध्यान दिनुको सट्टा मेयर सिंहले सीमित कर्मचारीसँग मिलेर आफ्नै घरमा सचिवालय खोल्दै थप अनियमित काम गरिरहेको समेत उपमेयरको आरोप छ।

मेयर सिंहले कार्यालय एकलौटी ढंगले सञ्चालन गरेको, अनियमित कार्यमा लिप्त भएको, प्राथमिक स्वास्थ्य केन्द्र र स्वास्थ्य चौकीका ३ वटा एम्बुलेन्स नगरपालिकामा ल्याएर थन्काएको, उपप्रमुख र वडाध्यक्षलाई स्थानीय सरकार सञ्चालन ऐनमा उल्लेख भएका अधिकारअनुसार काम गर्न नदिएको, कर्मचारीमा त्रास सिर्जना गरेकोलगायत आरोप लगाउँदै गत पुस ४ गते उपमेयर एवं वडाध्यक्षहरूले नगरपालिका कार्यालयमा तालाबन्दी गरेका छन्। राजपाबाटै निर्वाचित ११ नं. का वडा अध्यक्ष योगेन्द्रप्रसाद सिंहले नगरपालिका काार्यलय भित्रै प्रमुख प्रशासकीय अधिकृत र लेखापालको निवासको व्यवस्था रहे पनि मेयर सिंहले दुवैजनालाई मलंगवामै राखेर दैनिक ५६ किलोमिटर भन्दा बढी जीपमा ओहोरदोहोर गराई कार्यालयको लाखौं रकम दुरुपयोग गराएको आरोप लगाए। त्यस्तै सडक तथा चापाकल निर्माण, सवारीसाधन र खानेपानीको प्रयोगलगायतका शीर्षकमा नगरप्रमुखले फर्जी बीलभर्पाइ बनाई बजेट अनियमितता गरेको, नगरपालिकाकै कम्पाउन्डभित्र राष्ट्रिय वाणिज्य बैंक हुँदाहुँदै रकम हिनामिनाकै लागि सदरमुकाम मलंगवास्थित नेपाल बैंकबाट कारोबार गरेको समेत वडाध्यक्षरूले आरोप लगाएका छन्। नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतमा उपसचिवस्तरका कर्मचारीको दरबन्दी भए पनि उपसचिव स्तरकालाई धाकधम्की देखाई भगाउने र आफू निकट शाखा अधिकृत स्तरका लाई निमित्तका भरमा कार्यालय सञ्चालन गरिरहेको समेत वडाअध्यक्षहरुको दाबी छ।

प्रधानमन्त्री कार्यालय, अख्तियार दुरुपयोग अनुसन्धान आयोग, संघीय मामिला तथा स्थानीय विकास मन्त्रालय, प्रमुख जिल्ला अधिकारी लगायत निकायमा मेयर सिंहको कार्यशैली एवं अनियमित कार्य विरुद्ध लिखित र मौखिक उजुरी गर्दा समेत कुनै सुनुवाई नभएपछि वाध्य भएर तालाबन्दी गरिएको वडा नं. ५ का वडाध्यक्ष मनोजमोहन कुमार सिंहले जानकारी दिए। उपप्रमुख र वडाध्यक्षहरुले विवाद समाधान गरिदिन भन्दै पटक–पटक प्रमुख जिल्ला अधिकारीलाई आग्रह गरिसकेका छन्। तर नगरप्रमुख सिंहले आफू स्थानीय सरकारको प्रमुख भएकाले प्रमुख जिल्ला अधिकारीले बोलाएको छलफलमा जान अस्वीकार गरेको उनीहरूको कथन छ।

बलरा नगरपालिका समेत पर्ने क्षेत्र नं. ४ बाट निर्वाचित संघीय सांसद् डा. अमरेश कुमार सिंहले मेयर सिंहले नियमानुसार काम नगर्दा उपमेयर सहित बहुसंख्यक वडाध्यक्ष अरु विरोधमा उत्रिएको आफूले जानकारी पाएको बताए। ‘मेयर भनेको त अभिभावक हो, उसले आफू मातहतकालाई मिलाएर लैजान सक्नुपर्छ’, सांसद् सिंहले भने, ‘तर मेयर आफै मनोमानी ढंगले अगाडि बढ्न खोजेपछि समस्या आएको छ।’ यता मेयर अभयकुमार सिंहले भने उपमेयर र वडाध्यक्षहरूले लगाएको सबै आरोप झूठा भएको दाबी गरे। ‘मैले सबै काम नियमानुसार नै गरिरहेको छु, उपमेयर र वडाध्यक्षहरूले नियमविपरीत काम गर्न खोज्दा मैले रोक्न खोजेपछि विरोध गरेका हुन्,’ उनले दाबी गरे, ‘अनियमित काम गर्न नपाएको झाेंकमा पार्टी र जातीय हिसाबले उनीहरू मेराविरुद्ध लागेका हुन्।’

६० जनामध्ये ५८ नगरसभा सदस्यले नगरबाट पारित योजनाहरुमा हस्ताक्षर गरेको दाबी गर्दै मेयर सिंहले नगर सभा गुपचुप नभई सबै सदस्यहरूकै उपस्थितिमा भएको बताए। ‘कसैले चरित्र हत्या गर्ने गरी निराधार आरोप लगाएर केही हुनेवाला छैन, सबै कुरा डकुमेन्टले बोलिहाल्छ’, मेयर सिंहले दाबी गरे, ‘यदि अनियमितता भएको प्रमाणित भए जुनसुकै सजाय भोग्न तयार छु।’ नेपाली कांग्रेसले नियोजित रूपमा आफूविरुद्ध मोर्चाबन्दी गरेको र विभिन्न प्रलोभन देखाई राजपाका उपमेयर र वडाध्यक्षलाई समेत प्रभावमा पारेको मेयर सिंहको दाबी छ।

आफूलाई जिल्ला प्रशासन कार्यालयमा छलफलका लागि प्रमुख जिल्ला अधिकारीले बोलाएपनि उपस्थिति नभएको कुरा नगरप्रमुख सिंहले स्वीकार गरे। ‘सिडिओ साबले एक पटक मेरै कार्यालयमा बसेर छलपल गरौँ न भन्नुभएको हो, तर मैले उहाँलाई भने सिडिओ साब म स्थानीय तहको प्रमुखको भएको हैसियतले म आफूभन्दा तल्लो तहको कार्यालयमा जान मिल्दैन् भनेँ’, मेयर सिंहको भनाई थियो, ‘मेरो नगरपालिका खोल्न लगाउनुस्, त्यहाँ तपाईलाई पनि बोलाउँछु, छलफल गराउनुस् जे हुन्छ, यदि मेयरले नै गल्ती गरेको छ भने म माफी माग्छु भनेर सिडिओ साहेबलाई भनेको हुँ।’

नगरपालिकामा तालाबन्दी जारी रहँदा नागरिक मारमा परेका छन् भने वृद्धबृद्धा, अपांग, एकल महिला लगायत अन्य लक्षित वर्ग सामाजिक सुरक्षा भत्ता र शिक्षकहरू तलब सुविधाबाट वञ्चित भएका छन्। विकास निर्माणका काम ठप्प भएको छ। आलेप र मलेपको काम समेत हुन सकेको छैन। जसले गर्दा आगामी आर्थिक वर्षमा नगरपालिकालाई आउने संघीय अनुदान बजेटसमेत अन्यौलमय बनेको छ।

प्रकाशित: १९ फाल्गुन २०७५ ०१:३९ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App