९ असार २०७८ बुधबार
समाज

ताप्लेजुङ दुर्घटनाका अनुत्तरित प्रश्न

हेलिकप्टर दुर्घटनापछि नेपाल कम्युनिष्ट पार्टीका स्थायी समिति सदस्य योगेश भट्टराईले ट्वीट गरे– पाँच जना मात्र भीआईपी बोक्ने हेलिकप्टरले किन सात जना बोक्यो?

हेलिकप्टरमा पर्यटनमन्त्री रवीन्द्र अधिकारी सहित ७ जना सवार थिए। पाइलट प्रभाकर केसीले उडाएको हेलिकप्टर सुकेटार टावरमा दिउँसो पौने एक बजेसम्म सम्पर्कमा आएको थियो।

टावरबाट सम्पर्क विच्छेद भएको केही समयमा हेलिकप्टर दुर्घटनामा परेको खबर आयो। सुकेटार टावर प्रमुख रुपेश मुरार्रकाले पाइलट केसीसँग पौने एक बजेसम्म सम्पर्क भएको बताए । उनले भने, ‘अरू विषयमा मैले बोल्न मिल्दैन।’

पाथिभराको पूजा गरेपछि मन्त्री अधिकारीसहित टोली काठमाडौं फर्किंदै थियो। पाइलट केसी र विमानस्थल टावरबीच पौने एक बजे संवाद भयो। उनले भनेका थिए– हिमपातका कारण हेलिकप्टर तत्काल उडाउन सक्दिन।

पौने १२ बजे पाइलट केसीसँग मुरार्रकाको फोनमा संवाद भएको थियो। आफ्नो क्षेत्रमा मन्त्री सवार भएकाले टावरका अधिकारीहरूले यस विषयमा जानकारी लिइरहेका थिए। हेलिकप्टर कहाँ पुग्यो भन्ने विषयमा फोनमा जानकारी गराउँदै पाइलट केसीले पाथिभरामा भएको बताएका थिए। त्यतिखेर हेलिकप्टर पाथिभरा क्षेत्रमा ल्यान्ड भइसकेको थियो।

पाथिभराको पूजा गरेपछि मन्त्री अधिकारीसहित टोली काठमाडौं फर्किंदै थियो। पाइलट केसी र विमानस्थल टावरबीच पौने एक बजे संवाद भयो। उनले भनेका थिए– हिमपातका कारण हेलिकप्टर तत्काल उडाउन सक्दिन।

अत्यधिक चिसोका कारण त्यतिबेला बाहिर बस्न सक्ने अवस्था थिएन। पाथिभरा मन्दिरका पुजारी डिल्ली आचार्यले मन्दिरमै रहेको कुटीमा राखेर मन्त्री अधिकारीसहित सवार सबैलाई चिया खुवाए। बाहिर चिसो थियो। पुजारीले भने, मन्दिरभित्रै बसेर चिया खाऊँ न त। पुजारीको प्रस्तावलाई मन्त्री अधिकारीले स्वीकारेका थिए। त्यति नै बेला पाइलट केसीले अत्यधिक कुहिरोका कारण हेलिकप्टर उडाउन कठिन हुने बताए।

नागरिक संवाददाता खगेन्द्र अधिकारीका अनुसार मन्त्री अधिकारीले पुजारीलाई भने– ‘तपाईं पनि चिया खानुस्। तपाईंले पकाएको चिया मीठो रै’छ।’ यत्तिकैमा मौसममा केही सुधार भयो। हुस्सु खुल्यो। पाइलट केसीले छिटो जाऊँ भने। मन्त्री हतार हतार हेलिकप्टर चढे। तीन हजार सात सय ९४ मिटर उचाइबाट उडेको हेलिकप्टर सीधै तल झर्यो। दाहिने मोडिएर पहाडको ढुंगामा ठोक्कियो।

सबै कुरा पंखामा

हेलिकप्टरको इन्जिनको क्षमता कति बढाउने भन्ने विषय पंखाको गतिले निर्धारण गर्छ। पंखाको गति जति बढी भयो इन्जिनको क्षमता पनि त्यति नै बढी हुन्छ। साथै हेलिकप्टरलाई कुन कोणमा कति डिग्री घुमाउने भन्ने विषय पनि पंखामै निर्भर गर्छ।

हेलिकप्टर उडेपछि  धेरैजसो विषय पंखाको नियन्त्रणमा हुन्छ। पंखामा केही भयो भने हेलिकप्टर अनियन्त्रित हुन्छ। पाइलटका अनुसार हेलिकप्टरको पंखामा बरफ जमेपछि इन्जिनको गति कम हुने गर्छ। बुधबारको दुर्घटना पनि पंखामा हिउँ जमेका कारण भएको हुन सक्ने आशंका गरिएकाे छ।

पंखाले हावालाई तल दबाउँछ। हावाको दबाब जति बढी हुन्छ त्यति नै गतिमा हेलिकप्टर माथि उड्छ। यो न्युटनको चालसम्बन्धी तेस्रो नियममा आधारित छ। पंखाको तल ‘स्वास प्लेट’ जडान भएको हुन्छ। यसले पंखालाई तलमाथि गराउँछ। पंखाको एउटा पाता तल र अर्को पातामाथि भएको अवस्थामा हेलिकप्टर अगाडि बढ्छ।

स्वास प्लेटसँग पंखा जोडिएको हुन्छ। प्लेटले पंखाको दिशा निर्धारण गर्ने काम गर्छ। पंखाको गति कम भएको अवस्थामा इन्जिनमा बढी तेल दिएर दबाब सिर्जना गर्नुपर्ने सिम्रिक एयरका क्याप्टेन सिद्धार्थ राणाले बताए। उनले भने, ‘पंखाको गति कम हुँदा इन्जिनमा बढी तेल पठाएर गति व्यवस्थापन प्रयास गरिन्छ।’  

प्राविधिक भाषामा ‘होभरिङ’को काम हेलिकप्टर उडाउन सबैभन्दा कठिन हुन्छ। पंखा चलिरहेको अवस्थामा एक ठाउँमा अडिने अवस्थालाई होभरिङ भनिन्छ। पंखाको र इन्जिनको गति सन्तुलन मिलाउन सके मात्र होभरिङ गर्न सकिन्छ। 

बुधबारको दुर्घटनाग्रस्त हेलिकप्टरको गतिसँगै सन्तुलनसमेत कायम नभएको देखिन्छ। पाइलट मात्र होइन हेलिकप्टरमा सवार सबै जना हतारमा थिए। पुजारी आचार्यको कुरा मान्ने हो भने मौसममा सामान्य सुधार भएकै अवस्थामा उनीहरूले उडान गरेका थिए। पाइलटले हेलिकप्टर उडेको खबरसमेत टावरलाई दिएका थिएनन्।

हेलिकप्टरका मालिक आङछिरिङ शेर्पा पनि मन्त्री अधिकारीसँगै थिए। यस्तो अवस्थामा चालकले उडाउन सकिँदैन भनेको केही मिनेटमा किन हेलिकप्टर उडाउने निर्णय गरे भन्ने प्रश्न सबैभन्दा महत्वपूर्ण हो। अर्कोतर्फ हिउँ पर्दा पानीको रुपमा पर्दछ। ठोस पदार्थमा आएपछि जमेर हिउँ बन्छ। अत्यधिक चिसोका कारण परेको हिउँले इन्जिनको गतिमा कमी ल्याउने प्राविधिक विषय पाइलट केसीको जानकारी बाहिरको थिएन।

पाथीभराबाट सीधै तल झरेको हेलिकप्टर दाइने मोडिएको छ। पाइलटले त्यो हेलिकप्टरलाई बायाँ मोडेको भए के हुन्थ्यो? चट्टानी पहाडको अलावा हेलिकप्टर बत्तिएर अर्को दिशामा आउन सक्थ्यो। अर्को दिशामा पहाड थिएन। चालक केसीले यो विकल्प प्रयोग गर्न सकेनन्। अर्थात् गलत बाटो रोजेकै कारण दुर्घटना भयो कि? यी सबै विषय सरकारले गठन गरेको छानबिन समितिले पक्कै खोज्ने छ।

पाथिभराबाट उडेको हेलिकप्टर माथिल्लो फेरि हुँदै भालुगौंडे डाँडातर्फ उड्छ। यो नियमित उडान गर्ने रुट हो। मन्त्री अधिकारी सवार हेलिकप्टर उत्तरपश्चिम नमोडिएको भए यही बाटो समाउँथ्यो। यो बाटोबाट सजिलै सुकेटार विमानस्थल पुगिन्थ्यो। काठमाडौं आउनका लागि हेलिकप्टरले यही बाटो प्रयोग गर्नुको विकल्प पनि थिएन। अर्थात् सुकेटार विमानस्थलको आकाश प्रयोग गरेर मात्र काठमाडौं आउन सकिन्थ्यो।

पाथीभरा देवी मन्दिर क्षेत्र संरक्षण तथा सम्वद्र्धन समितिमार्फत माथिल्लो फेदीमा सञ्चालित स्वास्थ्य केन्द्रका अहेव उमनाथ पौडेल दुर्घटनाग्रस्त अवस्थामा भेटिएको हेलिकप्टरको अगाडि र पछाडिको भाग भीरका दुवै साइडमा ठोक्किएको बताउँछन्। ‘तारेभीरमा खस्दा मुख एकापट्टि र पुच्छर अर्कोपट्टि ठोक्किएको अवस्थामा जहाज भेटिएको थियो। पाइलटले जहाज घुमाउन खोज्दा गति लिन नसकी सीधै तारेभीरमा खसेको अनुमान लगाएको छु’, उनले भने।

ओभर लोड

पर्यटनमन्त्री अधिकारी चढको हेलिकप्टर ओभरलोड थियो। नेकपा पोलिटब्युरो सदस्य योगेश भट्टराईले गरेको ट्विटले पनि यही कुरा प्रस्ट पार्छ। अर्कोतर्फ तेह्रथुमको आठराई गाउँपालिकाको चुनहान डाँडामा निर्माणाधीन विमानस्थल निरीक्षणमा मन्त्री अधिकारी काठमाडौंबाट निस्केका थिए। विमानस्थल निरीक्षण गर्न गएका मन्त्री अधिकारीसँग त्यो क्षेत्रका सांसदसमेत थिएनन्।

जिल्लामा सञ्चालित विकासका काममा सांसदको पहिलो चासो हुन्छ। मन्त्री अधिकारीको विमानस्थल निरीक्षणमा तेह्रथुमका सासंद काठमाडौंमै थिए। तेह्रथुमका सांसद भवानी खापुङले विमानस्थल निरीक्षण गर्न जाने विषयमा मन्त्रीले आफूसँग सम्पर्कसमेत नगरेको बताए। ‘विमानस्थल निर्माणको माग हामीले उठाएका हौं, सांसद खापुङले भने, ‘स्थानीय जनप्रतिनिधि कार्यक्रममा सहभागी भए पनि मलाई कसैले जाऊँ भनेनन्।’

नेकपाबाट चुनाव जितेका सांसद खापुङलाई स्थानीयले प्रश्न गरे– मन्त्रीको निरीक्षणमा तपाईं आउने हो? उनले आफूलाई यसबारे थाहा नभएको कार्यकर्तालाई बताए। विमानस्थल निरीक्षणमा गए पनि मन्त्री अधिकारीसँग मन्त्रालयका सचिव थिएनन्। नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक थिएनन्। आफूले निर्देशन दिने  पहिलो तहका कर्मचारीबिना उनी किन त्यसतर्फ गए? प्रश्न उठ्छ।

अर्कोतर्फ विमानस्थ निरीक्षणपछि पाथिभरा मन्दिर दर्शन गर्न जाने कार्यक्रम पनि थिएन। सेड्युलमा नभएको कार्यक्रम बीचैमा कसरी तय भयो भन्ने प्रश्न पनि उत्तिकै छ। सांसदलाई हेलिकप्टरमा नलैजानुको कारण ओभरलोड हुन सक्ने आशंका दुर्घटनापछि गर्न थालिएको छ।

सामान्यतया हेलिकप्टरबाट माउन्टेन फ्लाइट गर्दा पाँच जना मात्र बस्न सकिने बताउँछन् पर्यटन व्यवसायी तथा हिमालयन गाइड्स एन्ड ट्रेक्स एन्ड एक्सपीडिसन प्रालिका प्रबन्ध निर्देशक ईश्वरी पौडेल। उनले भने, ‘चालकसहित नेपाली नागरिकको हकमा ६ जना सम्मको क्षमता माउन्टेन फ्लाइटका लागि नर्मल हो।’ व्यवसायीको धारणा मान्ने हो भने पनि हेलिकप्टरको लोड बढी नै भएको देखिन्छ।

गएको कात्तिक दोस्रो साता पाइलटसहित पाँच जनाको टोली लिएर पाथीभराकै भ्रमण गरेका थिए तत्कालीन पर्यटन सचिव कृष्ण देवकोटाले। उनी सवार हेलिकप्टर पाथीभरा मन्दिरबाट एक जना यात्रु थपेर उड्न लाग्दा गति लिन सकेन। हेलिकप्टरलाई आकस्मिक अवतरण गराएर मान्छे ओरालेपछि पुनः उडाइएको थियो। त्यो बेला जहाजबाट ओर्लनेमा पाथीभरा क्षेत्र विकास समितिका कार्यकारी सदस्य गोपाल न्यौपाने थिए।

‘मैले त घटना सुन्ने बित्तिकै बढी वजन र मौसमको प्रतिकूलतालाई दोषी ठानें’, पर्यटनसचिव देवकोटासँगको यात्रा संस्मरण सुनाउँदै न्यौपानेले भने। देवकोटासहित मन्दिरको दशन गर्न पुगेको टोलीको स्वागतका लागि क्षेत्र विकास समितिको प्रतिनिधि भएर न्यौपाने पाथीभरा मन्दिर पुगेका थिए। ‘सचिवसहितको टोलीले दर्शन सकेपछि सुकेटार जाने क्रममा मैले पनि त्यहाँसम्म जाने इच्छा देखाएँ। पाइलटले हुन्छ भनेपछि जहाज चढियो। जहाज भुइँ छोडेर करिब ३० मिटरजति माथी पुगेपछि चालकले जहाज मन्दिर परिसरमै आकस्मिक अवतरण गराए। क्षमताभन्दा बढी वजनका कारण गति लिन नसकेको बताए। म ओर्लिएँ। जहाज फेरि उड्यो’, न्यौपानेले सुनाए।

 

प्रकाशित: १६ फाल्गुन २०७५ १८:४१ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App