१३ आश्विन २०८१ आइतबार
image/svg+xml
समाज

हिउँको बर्कोमा शैलुङ

रामेछाप र दोलखाको संगममा पर्छ पर्यटकीय क्षेत्र शैलुङ। तामाङ भाषामा लुङ्को अर्थ हुन्छ– थुम्को। त्यहाँ एक सय ८ थुम्का छन्। तर पनि जनबोलीमा त्यस ठाउँलाई शैलुङ भनिन्छ।प्रकृति, अध्यात्म र संस्कृतिको त्रिवेणीधाम मानिन्छ शैलुङ (३,१४८ मिटर)। त्यहाँबाट हिमालको मनोरम दृश्य देखिन्छ। डाँडामा भर्खरै चारतले भ्यू टावर बनाइएको छ। टावरबाट हेर्दा झन् राम्रो देखिन्छ।

शैलुङलाई बाघढुंगा भनेको पनि सुनिन्छ। त्यहाँ बाघ र गाई जस्ता ढुंगा छन्। शैलुङमाथि शैथुंगा भन्ने तामाङ सेलो पनि चल्तीमा छ। बुद्ध साङ्ेमाहमोर्चेले ज्ञान दिएको हुनाले पहिलापहिला यस ठाउँलाई साङ्गेलुङ भनिन्थ्यो। पछि अपभ्रंस भएर शैलुङ भनियो।  डाँडाको एउटा ढुंगामा बुद्धका पाइला छन्। कालापानी जाने बाटोमुनि डाँफेको शिलापत्र देख्न सकिन्छ। कथा अनुसार कालिञ्चोकी देवता र शैलुङे देवताबीच को अग्लो स्थानमा बस्ने भन्ने विवाद हुँदा कालिञ्चोकबाट उडाएको डाँफे शैलुङमा ठोकिएको थियो।

शैलुङ क्षेत्रमा तीन ठूला गुफा छन्। एउटालाई धर्मद्वार भनिन्छ। त्यहीँ बसेका छन् शैलुङेश्वर महादेव पनि। समयसँगै आज शैलुङ पर्यटनधाम बनिसक्यो।शैलुङ पुग्दा स्वर्गको अनुभूति हुन्छ। गुराँस फुल्ने सिजनमा वनै राताम्मे हुन्छ। किसिम किसिमका गुराँस पाइन्छन्। माघ–फागुनमा वनै रातो देखिन्छ। वैशाख–जेठमा चाहिँ चिमाल फूल्छ। यतिबेला हिउँको बर्को ओढेर सुतेको छ शैलुङ।शैलुङ बेसक्याम्प खोलाखर्कसम्मै मोटर बाटो छ। अचेल काठमाडौंदेखिका पर्यटक शैलुङ घुम्न थालेका छन्। ‘हिउँ परेका बेलामा र खुला आकाश हुँदा धेरै पर्यटक आउँछन्,’ पश्चिम रामेछाप पर्यटन विकास केन्द्र दोरम्बाका अध्यक्ष दावा शेर्पाले भने।

काठमाडौंबाट घुमफिरमा निस्कनेहरूले एक रात दोरम्बामा र अर्को रात खोलाखर्कमा बिताउने गरी तीन दिने योजना बनाउनु बेस हुन्छ ।

शैलुङमा जनै पूर्णिमा, बाह्र वर्षे गोदावरी मेलाका बखत भव्य मेला लाग्छ। त्यतिबेला त्यहाँ धामी झाँक्रीहरूको बाक्लो उपस्थिति हुन्छ। शैलुङको बेस क्याम्प खोलाखर्कमा होटल तथा होमस्टे सुविधा छ। त्यहाँ ढिँडो, दालभात, लोकल तीन पाने, चौंरीको सुकुटी आदि पाइन्छ। यात्रामा निस्किँदा दोरम्बा गाउँ घुम्न छुटाउनु हुँदैन। दोरम्बासँग माओवादी जनयुद्धको दुःखद् कथा छ। ०६१ साउन ३२ गते सरकार र माओवादीबीच दाङको हापुरेमा वार्ता चलिरहेका बेला दोरम्बामा जिल्ला जनसरकार बाबुराम लामासहित २१ जना माओवादी कार्यकर्तालाई नेपाली सेनाले सामूहिक हत्या गरेको थियो। जनयुद्धको कथा सुन्न र बुझ्न दोरम्बा उपयुक्त छ।

काठमाडौंबाट शैलुङ घुम्न आउनेहरू अचेल दोरम्बामा बास बस्छन्। दोरम्बामा पनि होमस्टे र होटल सुविधा छ। अर्को कुरा यात्राबाट फर्किंदा आलु, छुर्पी र चौंरीको घ्यू कोसेली ल्याउन बिर्सनु हुँदैन। काठमाडौंमा ‘मुडेको आलु’ प्रख्यात छ। त्यो मीठो आलु शैलुङ क्षेत्रबाट ल्याइन्छ। आलु खेतीबाहेक गाउँघरतिर चौरीपालन गरिन्छ। काठमाडौंबाट एकै दिनमा शैलुङ पुग्न सकिन्छ। धुलिखेखबाट बीपी राजमार्ग हुँदै सित्खाबाटा करिब ५ घण्टा यात्रामा दोरम्बा बजार पुगेर बास बस्नु बेस हुन्छ। त्यहाँबाट करिब अढाई घन्टा हिँडेमा शैलुङ पुगिन्छ। अथवा खोलाखर्कसम्म गाडीमा गएर करिब आधा घन्टा हिँडेमा शैलुङको थाप्लोमै पुगे पनि भयो। ख्याल गरौं है, जीवनमा एकपटक पुग्नै पर्ने पवित्र भूमि हो शैलुङ।

प्रकाशित: ४ फाल्गुन २०७५ ०४:१९ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App