धादिङ – जहिले खाली खुट्टामै विद्यालय आउने गरेकी ७ वर्षीया रीता चेपाङ जुत्ता मात्र होइन, न्यानो लुगा तथा किताब राख्ने झोलासमेत पाउँदा खुसीले दंग भइन्। छेउमै रहेकी उनकी आमा सुनमायामा पनि खुसीको कुनै सीमा थिएन। न्यानो कपडा पाउने खबर पाएपछि छोरी पढ्ने विद्यालयमा बिहानैदेखि आएको सुनमायाले सुनाइन्। उनले भनिन्, ‘जहिले खाली हुने छोरीको खुट्टामा जुत्ता देख्न पाउँदा ज्यादै खुसी लागेको छ।’
धादिङको दक्षिणी भेगमा रहेको बेनिघाट रोराङ –१० स्थित रोबाङ आधारभूत विद्यालय कक्षा १ मा पढ्ने रीतासँगै सोही १० वर्षीया कमला चेपाङ पनि नयाँ लुगामा चिटिक्क परेकी थिइन्। सधैं खाली खुट्टा, च्यातिएको टिसर्ट र सुरुवालमा विद्यालय धाउने गरेकी उनी जुत्तामोजा र ट्रयाक–सुटमा सजिएर झोला बोक्न पाउँदा खुसीले गद्गद् भइरहेकी थिइन्।
रीता र कमलासहित उक्त विद्यालयमा पढ्ने चेपाङ समुदायका १ सय ७ बालबालिका आपसमा खुसी साटिरहेका थिए। आफ्ना छोराछोरीले नयाँ जुत्ता र न्याना लुगा पाएकामा उनीहरूका अभिभावकहरू पनि अत्यन्त हर्षित भइरहेका थिए।
उनीहरूको अवस्थाबारे केही दिनअघि नागरिक दैनिकले ‘खाली खुट्टामै चेपाङ विद्यार्थी’ शीर्षकमा समाचार प्रकाशित गरेको थियो। उक्त समाचारबाट प्रभावित भएर काठमाडौं बालाजुका अनिल महर्जन, ज्ञानेश्वरका निमेष सिंह, मच्छेगाउँ चन्द्रागिरिका गोपाल महर्जन र राजेन्द्र डंगोललगायतको टोली सोमबार विद्यालयमै पुगेर पीडित बालबालिकालाई जुत्तामोजासहित पोसाक तथा झोला वितरण गरेका हुन्। यहाँका शिक्षक शिक्षिकालाई समेत उनीहरूले न्याना पोसाक प्रदान गरेका छन्।
सोही समाचार पढेर डा. सुन्दरमणि दीक्षितले पनि दुई लाख रुपैयाँ सहयोग गरेका छन्। श्री साई समाज सेवा निधि संस्थाका तर्फबाट दीक्षितसहित उनकी श्रीमती रोवादेवीले चेपाङ बालबालिकाका लागि दुई लाख रकमको चेक नागरिककर्मीमार्फत विद्यालयलाई हस्तान्तरण गरेका हुन्।
जाडोयाम सुरु भएसँगै विद्यालयमा विद्यार्थी घट्छन्। न्यानो लुगा नहुँदा तथा खाली खुट्टा नै हिँड्नुपर्ने बाध्यताका कारण बालबालिकालाई विद्यालय जान समस्या हुने गरेको चेपाङ अभिभावक बताउँछन्। बेनिघाट रोराङका रोबाङ, कोस्राङ र गोइराङ आधारभूत विद्यालयमा पढ्ने चेपाङ बालबालिका खाली खुट्टा नै विद्यालय धाउँछन्। बिहान–बेलुका छाक टार्नसमेत मुस्किल अवस्थाका उनीहरूलाई नयाँ कपडा, जुत्ताचप्पल लगाउन चाडपर्व नै कुर्नुपर्ने बाध्यता छ। विद्यार्थीलाई विद्यालय आउने बनाउन दिउँसो खाजा कार्यक्रम लागू गरिए पनि प्रभावकारी हुन सकेको छैन।
भिरालो जमिन, डाडाँपाखा, न बिजुली न खानेपानीको सुविधा। बारीबाट उब्जने अन्नले मुस्किलले चार महिना कट्छ। बाँकी महिना जंगलका कन्दमूलले प्राण धान्नुपर्ने बाध्यता छ। साँघुरा घरमा आठ÷नौ जना अटाउनुपर्छ। रोबाङ आधारभूत विद्यालयमा ५ कक्षासम्म मात्र पढाइ हुन्छ। त्यसभन्दा माथिल्लो कक्षा पढ्न ६ घण्टा हिँडेर अन्यत्र जानुपर्छ।
प्रकाशित: २५ पुस २०७५ ०१:४२ बुधबार