२१ जेष्ठ २०८३ बिहीबार
image/svg+xml
समाज

फिर्के खोला वरपरका १६० संरचना हटायो

पोखरा महानगरपालिकाले बजारको मध्य भाग भएर बग्ने फिर्के खोलाको खोलाघरभित्रका स्थायी तथा अस्थायी गरी १६० संरचना हटाएको छ।

यही जेठ १० गतेदेखि महानगरले फिर्केमा अतिक्रमित संरचना हटाउन सुरु गरेको थियो। महानगरले फेवाताल संरक्षणसँग जोडिएको फिर्केखोला सफाइ तथा अतिक्रमण हटाउने अभियानलाई थप प्रभावकारी बनाएको जनाएको छ।

पोखराको वडा नं १८ को अँधेरीकुनादेखि सुरु भएर वडा नं २, ४, ५, ७, ८ र १७ हुँदै वडा नं ६ गाईघाटमा पुगेर फेवातालमा मिसिने फिर्केखोलाको प्राकृतिक बहाव संरक्षणका लागि अभियान सञ्चालन गरिएको महानगर प्रमुख धनराज आचार्यले बताए।

यसैगरी महानगरले फिर्के खोलाघरका आंशिक रूपमा हटाइएका संरचना सम्बन्धित व्यक्ति तथा संस्थाले तोकिएको समयभित्र आफैँ हटाउन आग्रह गरेको छ।  खोलाघर सफाइबाट निस्किएका भग्नावशेष व्यवस्थापनका लागि स्स्काभेटर, जेसिबी तथा महानगरीय प्रहरी बल परिचालन गरिएको छ।

महानगरपालिकाले फिर्केखोलामा सिधै ढल विसर्जन भइरहेको पाइएको भन्दै १० दिनभित्र सेफ्टी ट्याङ्की र सोफिट निर्माण गरी ढल खोलामा फाल्ने कार्य बन्द गर्न चेतावनी दिएको छ। अन्यथा कानुनबमोजिम कारबाही प्रक्रिया अगाडि बढाइने महानगरले जारी गरेको सूचनामा उल्लेख छ।

यसैगरी महानगरले फिर्केखोला संरक्षणका लागि महानगरले भवन तथा पूर्वाधार निर्माण मापदण्ड–२०८० अनुसार खोलाको मापदण्ड १० मिटरबाट घटाएर छ मिटर कायम गरेकाले उक्त क्षेत्रभित्र कुनै पनि संरचना निर्माण नगर्न नगरवासीलाई आग्रह गरिएको छ।

'महानगरपालिकाले फिर्केखोला कोरिडोर निर्माण परियोजना र मापदण्डभित्र बनेका संरचनाबारे विस्तृत जानकारी छिट्टै सार्वजनिक गर्नेछ। फिर्केको मापदण्डभित्र कुनै पनि संरचना बनाउने गैरकानुनी हुन्छ', नगर प्रमुख आचार्यले भने।

फिर्केखोलामा बढ्दो अतिक्रमण, फोहर तथा ढल मिसिने समस्या नियन्त्रण गर्दै फेवाताल संरक्षण गर्ने लक्ष्यसहित महानगरले फिर्केको खोलाघरका संरचना हटाएको हो। अतिक्रमित संरचना हटाएपछि फिर्केको दायाँबायाँ नै फुट ट्रयाक निर्माण गर्ने योजना महानगरको छ। रासस

प्रकाशित: २१ जेष्ठ २०८३ ०६:४४ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App