२४ असार २०७७ बुधबार
समाज

पुनर्निर्माण अलपत्र पर्दा संकटमा ‘गुम्बाको गाउँ’

भूकम्पबाट क्षतिग्रस्त सिन्धुपाल्चोकको सेलाङ, फुस्रेस्थित बौद्ध स्तुपा ।     तस्बिरः ध्रुव/नागरिक

सिन्धुपाल्चोक – विनाशकारी भूकम्पबाट क्षतिग्रस्त महांकालस्थित ग्याता गुम्बा पुनर्निर्माण भएको तीन महिना बितिसक्दा पनि राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले अनुदान रकम उपलब्ध गराएको छैन । ऋणमा डुबेको स्थानीय गुम्बा व्यवस्थापन समिति अनुदान रकमका लागि जिल्लादेखि केन्द्रसम्म धाउन बाध्य छ।

‘फाइल घुमेको घुम्यै छ । तर भुक्तानी पाएका छैनौं,’ ग्याता गुम्बाका अध्यक्ष आशराम तामाङले नागरिकसँग भने । स्थानीय लगानीमा बनेको यो परम्परागत बौद्ध गुम्बा २०७२ वैशाख १२ गतेको भूकम्पले भत्काएको थियो । सम्पदा पुनर्निर्माणअन्तर्गत क्षति मूल्यांकनका आधारमा प्राधिकरण र स्थानीय समितिबीच दुई वर्षअघि गुम्बा निर्माणका लागि ५१ लाख रुपैयाँ अनुदान सम्झौता भएको थियो।

गत वैशाखमा पुनर्निर्माण सम्पन्न हुँदा एक करोड रुपैयाँ खर्च भएको अध्यक्ष तामाङले बताए । ‘झन्डै ५० लाख मेरै निजी लगानी परेको छ । बाँकी रकम स्थानीय समितिले व्यक्तिगत ऋण खोजेर जुटाएको हो,’ उनले भने । प्राधिकरणले अनुदान नदिएपछि आफ्नो नामका दुईटा घडेरी बिक्री गरेर पुनर्निर्माण खर्च जुटाएको उनी बताउँछन्।

जिल्लामा भूकम्पका कारण क्षतिग्रस्त बौद्ध गुम्बा तथा स्तुपामध्ये पुनर्निर्माण सकिएको यो नै पहिलो गुम्बा हो । स्थानीय स्तरबाट ऋण जुटाएर पुनर्निर्माण सक्ने पहिलो गुम्बालाई प्रोत्साहन गर्नुको सट्टा अनावश्यक झमेलामा फसाएर हतोत्साही बनाएको समितिका पदाधिकारी तथा सदस्यहरूको आरोप छ । ‘सम्झौताअनुसार अनुदान भुक्तानीका लागि प्राधिकरणविरुद्ध अदालत जाने तयारीमा छौं,’ अध्यक्ष तामाङले भने।

सम्पदा पुनर्निर्माणमा सरकारी उदासिनताको यो एउटा नमूना मात्र हो । सरकारकै कमजोरीले सम्झौताअनुसार पुनर्निर्माण अघि बढाएका कतिपय गुम्बा भुक्तानी नपाएर हैरान मात्रै छैनन्, भूकम्पबाट क्षतिग्रस्त बौद्ध गुम्बा तथा स्तुपा पुनर्निर्माणमा ढिलाइसमेत भइरहेको छ । प्राधिकरणले सम्झौताबमोजिम अनुदान उपलब्ध नगराउँदा नगन्य मात्रामा सुरु भएका गुम्बा पुनर्निर्माण अलपत्र परेका छन् । अधिकांश गुम्बा पुनर्निर्माण सुरु नै हुन सकेका छैनन्।

बौद्ध गुम्बा, स्तुपालगायत सम्पदा पुनर्निर्माणमा प्राधिकरण केन्द्र नै मौन रहेको बताउँछन्, राष्ट्रिय पुनर्निर्माण प्राधिकरण, आयोजना कार्यान्वयन एकाइका जिल्ला आयोजना व्यवस्थापक माधवजंग कार्की । ‘दुई वर्षदेखि गुम्बा पुनर्निर्माणबारे कुनै निर्देशन आएको छैन, न अन्य अख्तियारी नै पाएका छौं,’ उनले भने । उनका अनुसार बितेको आर्थिक वर्षमा प्राधिकरणले गुम्बा पुनर्निर्माणसम्बन्धि कुनै कार्यक्रम नै दिएन।’

तामाङ, शेर्पा, गुरुङ, ह्योल्मोलगायत बौद्ध धर्मावलम्बीको बाहुल्य रहेको सिन्धुपाल्चोक ‘गुम्बाको गाउँ’ ले चिनिन्थ्यो । पर्यटकीय गाउँ हेलम्बु, किउल, इचोक, बाँसखर्क, थाङपालकोट, भोताङ, बरुवालगायत हिमाली गाउँमा पुरातात्विक महत्वका दर्जनौं प्राचीन गुम्बा थिए । त्यस्ता प्राचीन गुम्बा र बौद्धमार्गीको संस्कार हेर्न तथा अध्ययन गर्न हरेक वर्ष आन्तरिक तथा बाह्य सयौं पर्यटक आउँथे । भूकम्पले क्षति पुर्याएका गुम्बा अहिलेसम्म पुनर्निर्माण नहुँदा गुम्बाको गाउँ पहिचान नै संकटमा परेको छ।

पुनर्निर्माण अलपत्र हुँदा कतिपय स्थानमा ‘भगवान् बुद्ध’ पनि अस्थायी टहरोमा छन् । स्थानीय पूजा, अर्चना, लामा पाठलगायत परम्परा धान्न जस्ताको अस्थायी टहरोमा गुम्बाको स्वरूप दिँदै बौद्धमूर्ति प्रतिस्थापन गरेका हुन् । अधिकांश गुम्बा तथा स्तुपा जस्ताको त्यस्तै क्षतिग्रस्त अवस्थामै छन् । केहीको स्थानीय स्तरबाट सामान्य संरक्षण प्रयास भएको छ।

पछिल्लो समय व्यक्तिगत र समुदायको लगानीमा समेत थुप्रै सम्पदा निर्माण भएकाले जिल्लामा कति गुम्बा थिए र भूकम्पले कति भत्कायो भन्ने एकिन तथ्यांक छैन । वरिष्ठ इन्जियनरसमेत रहेका जिल्ला आयोजना व्यवस्थापक कार्कीका अनुसार पुनर्निर्माण गर्नुपर्ने गुम्बा सिन्धुपाल्चोकमा दुई सयवटा छन्।

क्षति मूल्यांकनका आधारमा प्राधिकरणले आर्थिक वर्ष २०७३–०७४ का लागि डेढ सय गुम्बा पुनर्निर्माणका लागि ६ करोड रुपैयाँ अनुदानको अख्तियारी पठाएको थियो । सोही आधारमा ग्याता गुम्बासहित सात गुम्बा पुनर्निर्माणको सम्झौता भएको कार्की बताउँछन्।

त्यतिबेला प्राधिकरणले गुम्बा पुनर्निर्माणको जिम्मेवारी जिल्ला प्राविधिक कार्यालयमा रहने जिल्ला आयोजना कार्यान्वयन एकाइ(डिएलपिआइयु) लाई दिएको थियो । निजी आवास अनुदान व्यवस्थापनसहित गुम्बा पुनर्निर्माणको जिम्मेवारी साउनदेखि लागू हुने गरी पुनःसंरचना तथा पुनर्गठन गरिएको आयोजना कार्यान्वयन एकाइले पाएको छ।

सम्झौताअनुसार पुनर्निर्माण भइरहँदा कम क्षति भएका गुम्बाको बढी र धेरै क्षति भएका गुम्बाको कम मूल्यांकन भएको भन्दै भूकम्प प्रभावित जिल्लाबाटै उठेको गुनासो विवादमा परिणत भएपछि पुनर्निर्माण रोकिँदै आएको प्रमुख व्यवस्थापक कार्की बताउँछन् । सोही विवादका कारण अनुदान नै फिर्ता भएपछि गुम्बा पुनर्निर्माण अलपत्र परेको हो।

विवादको स्थायी समाधान निकाली पुनर्निर्माण अघि बढाउन प्राधिकरणले गत वर्षको कात्तिकमा प्रभावित जिल्लामा गुम्बाको पुनः प्राविधिक मूल्यांकन गराएको थियो । कार्कीका अनुसार पुनःमूल्यांकनपछि जिल्लामा पुनर्निर्माण गुर्नपर्ने गुम्बाको संख्या बढेर दुई सय पुगेको हो।

‘त्यसपछि गुम्बा पुननिर्माणबारे केन्द्रबाट अर्को निर्देशन र कार्यक्रम आएको छैन,’ उनले भने । अनुदान नै फिर्ता भएपछि सम्झौता गरेर पहिलो वर्ष पुनर्निर्माण थालिएका ६ गुम्बाको काम रोकिएका छन् । त्यसमा भएको समुदायको लगानीसमेत फसेको छ।

प्राधिकरणका सहप्रवक्ता मनोहर घिमिरे सुरुमै कमजोरी हुन पुग्दा गुम्बा पुनर्निर्माणमा ढिलाइ भएको स्वीकार्छन् । ‘सुरुको प्रतिवेदनमा कुन गुम्बामा कति क्षति भयो भन्ने वास्तिविक मूल्याकंन थिएन,’ गुम्बा पुनर्निर्माण ढिलाइ हुनुका कारण खोल्दै उनले भने, ‘क्षति भएको भन्ने सामान्य विवरण मात्र आएको थियो।’

सुरुको कमजोरी सच्याउन पछिल्लोपटक गरिएको प्राविधिक सर्वेबाट क्षतिको एकिन मूल्याकंनसहित विस्तृत प्रतिवेदन प्राप्त भइसकेकाले पुनर्निर्माण तयारी प्रक्रिया थालिएको सहप्रवक्ता घिमिरेले जानकारी दिए । ‘गुम्बा पुनर्निर्माणसम्बन्धी कार्यविधिको मस्यौदा तयार भएको छ,’ उनले भने, ‘पुनर्निर्माणका अन्य योजना बनाएर यसै वर्षबाट काम थाल्दैछौं ।’प्राधिकरणले क्षतिका आधारमा गुम्बा पुनर्निर्माण गर्नुपर्ने र प्रवलीकरण (मर्मतसम्भार) गर्नुपर्ने गरी दुई किसिमले वर्गीकरण गरेको छ । भूकम्प प्रभावित जिल्लामा पुनर्निर्माण र प्रवलीकरण गर्नुपर्ने गुम्बाको संख्या झन्डै एक हजार रहेको घिमिरेले जानकारी दिए।

प्रकाशित: १९ भाद्र २०७५ ०८:०५ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App