३ आश्विन २०७७ शनिबार
समाज

जनप्रतिनिधिकै घरमा छाउगोठ

पञ्चपुरी नगरपालिका–१० का वडासदस्य वेदराज भण्डारीको घरसँगै रहेको छाउगोठ। तस्बिर : नगेन्द्र/नागरिक

सुर्खेत - वेदराज भण्डारी पश्चिम सुर्खेतको पञ्चपुरी नगरपालिका–१० का निर्वाचित वडासदस्य हुन्। सामाजिक विकृति र कुरीति अन्त्यका लागि अगुवाइ गर्नुपर्ने वडासदस्य भण्डारीकै घरमा छाउगोठ छ। घरका महिला महिनाबारी हुँदा पाँच दिनसम्म छाउगोठमा बस्छन्। स्थानीय सरकार गठनपछि गत वर्षदेखि वडा कार्यालयले छाउपडी अन्त्यका लागि जनचेतनामूलक कार्यक्रम गर्दै आएको छ। तर गाउँमा छाउपडी कुप्रथा अन्त्य हुनुको साटो झन्झन् बढ्दै गएको देखिएको छ।

‘महिनाबारी भएका बेला छाउगोठमा बस्नु हुन्न भनेर वडा कार्यालयबाट जनचेतनामूलक कार्यक्रम सञ्चालन गरिरहेका छौं तर आफ्नै घरकाले मान्दैनन्, महिनाबारी भएको बेला पाँच दिनसम्म छाउगोठमै बस्छन्’, वडासदस्य भण्डारीले भने, ‘यो कुप्रथा अन्त्य हुनुको साटो झन्झन् बढ्दै गएको छ।’

२०७१ सालमा साबिकको तातापानी गाविसलाई छाउपडीमुक्त घोषणा गरिएको थियो। छाउपडीमुक्त घोषणा गर्नुअघि गाउँभरिका एक सय ९२ छाउगोठ भत्काइएका थिए। अहिले त्यो ठाउँ पुरानै अवस्थामा फर्केको छ। उक्त गाविस अहिले पञ्चपुरीको १० नं. वडा बनेको छ। कार्यवाहक वडाध्यक्ष नयनसिंह विकका अनुसार वडा नं. १० मा ५० भन्दा बढी छाउगोठ छन्। ‘२०७१ सालमा सबै छाउगोठ भत्काएका थियौं, फेरि बनाउने क्रम सुरु भएको छ’, विकले भने, ‘देउता रिसाउने डरले अघिल्लो पुस्ताका महिला घरमा बस्न मान्दैनन्।’ विकले आफ्नो घरमा छाउगोठ बनाएका छैनन् तर महिनाबारी भएका बेला उनको घरमा महिला सदस्य अर्काको छाउगोठमा जान्छन्। विकले अधिकांश जनप्रतिनिधिका घरमै छाउगोठ रहेको बताए।

पञ्चपुरी नगरपालिकामात्रै होइन, चौकुने र बराहताल गाउँपालिकामा पनि छाउपडी व्याप्त छ। हालको चौकुने गाउँपालिकाअन्तर्गतका साबिकका सबै गाविसलाई २०७१ सालमा छाउपडीमुक्त घोषणा गरियो । साविकको गुठु गाविसका एक सय ९३ छाउगोठ भत्काइए। छाउगोठ भत्काइएपछि गुठुकी प्रतीक्षा बयक महिनाबारी हुँदा एक वर्षसम्म घरमै बसिन्। छाउगोठ भत्काउने अभियानकी अभियन्तासमेत रहेकी उनी अहिले फेरि छाउगोठमा फर्किएकी छन् । ‘देउता रिसाए भन्दै घरकाले बस्दै दिएनन्’, बयकले भनिन्, ‘छाउगोठ हटाउने अभियानमा सक्रिय म आफैं अहिले महिनाबारी हुँदा छाउगोठमा बस्नुपरिरहेको छ।’

महिनाबारी भएका महिला घरमा बस्दा देउता रिसाएकाले फेरि छाउगोठ पठाउनुपरेको अगुवाहरु नै बताउँछन्। ‘छाउगोठमा बस्दा दुःख हुन्छ, हामीले पनि त्यो अवस्था भोगेर आएका हौं’, स्थानीय ६२ वर्षीया लक्ष्मीदेवी उपाध्यायले प्रश्न गरिन्, ‘छोरी–बुहारीले दुःख पाउँछन् भन्दैमा देउतालाई रिसाउने बनाउनु पनि त भएन नि?’

महिनाबारी भएका महिलाले दही, दूध खाएमा र घर तथा भाँडाकुडा छोएमा देउता रिसाउँछन् भन्ने अन्धविश्वास यहाँ व्याप्त छ। रजस्वला भएकी महिलालाई झन् सफा राख्नुपर्ने तथा प्रशस्त पोषिलो आहार खुवाई आराम गराउनुपर्ने अवस्थामा शिक्षित, सम्पन्न र सभ्य भनिने घरका छोरी, बुहारीले समेत रजस्वला हुँदा दूधदही खान पाउँदैनन्। महिनाबारी भएको बेला छुईछाई गरेमा घरका कुलदेवता रिसाउने र परिवारमा हानि पुग्ने, शरीर सुक्दै जाने, अन्नबाली नफल्ने अन्धविश्वास छ।

स्थानीय जनप्रतिनिधि छाउपडी कुप्रथा उन्मूलनलाई सबैभन्दा ठूलो चुनौतीको रुपमा लिन्छन्। यहाँका स्थानीय नियकायले छाउपडीविरुद्ध सामूहिक अभियानको थालनी गरेका छन्। पञ्चपुरी नगरपालिका र चौकुने गाउँपालिकाले महिनाबारी भएका किशोरी र महिलालाई घरमा बस्न प्रोत्साहन गर्ने धामीझाँक्रीलाई सार्वजनिक सम्मानको कार्यक्रम ल्याएका छन्। दुवै स्थानीय तहले जनप्रतिनिधि र उनीहरुका नातेदारका घरबाट छाउपडीमुक्त अभियानको सुरुवात गर्ने बताएका छन्।

‘देउता रिसाउने डरले यहाँका महिला छाउगोठमा बस्न बाध्य भएका हुन्’, पञ्चपुरी नगरपालिकाका मेयर उपेन्द्रबहादुर थापाले भने, ‘त्यसैले किशोरी र महिलालाई महिनाबारी भएको बेला घरमै बसाल्न धामीझाँक्रीलाई अगाडि सारेका हौं।’ नगरपालिकाले टोल र वडास्तरबाट छाउपडीमुक्त अभियान पनि सुरु गरेको छ। ‘नगरपालिकालाई छाउपडी र छुवाछुतमुक्त बनाउन टोल र वडास्तरबाटै अभियानको थालनी गर्दैछौं’, मेयर थापाले भने, ‘एक वर्षभित्र पञ्चपुरी नगरपालिकालाई छाउपडी र छुवाछुतमुक्त बनाउने लक्ष्य लिएका छौं। सोही अनुसार नीति तथा कार्यक्रम र बजेट विनियोजन गरेका छौं।’

यस्तै चौकुनै गाउँपालिकाले पनि धामीझाँक्री सम्मान कार्यक्रम ल्याएको छ। ‘छाउपडी प्रथा अन्त्यका लागि छाउगोठ भत्काएर मात्रै हुँदोरहेनछ’, चौकुने गाउँपालिकाका अध्यक्ष धीरबहादुर शाहीले भने, ‘त्यसैले सामाजिक चेतना वृद्धि गर्दै महिनाबारी भएका किशोरी र महिलालाई घरमै बसाल्न प्रोत्साहन गर्ने धामीझाँक्रीलाई सम्मान गर्ने कार्यक्रम ल्याएका छौं।’ उनले जनचेतनामूलक कार्यक्रमले पनि छाउपडी प्रथा अन्त्य नभए कानुनी कारबाहीमा लाग्ने बताए।

प्रकाशित: १२ भाद्र २०७५ ०८:३४ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App