२९ फाल्गुन २०८२ शुक्रबार
image/svg+xml
अर्थ

जुम्लामा ग्यासको कृत्रिम अभावको आशंका, अभिलेख राख्न प्रशासनको निर्देशन

जुम्लामा एलपी ग्यासको कृत्रिम अभाव देखिन थालेपछि जिल्ला प्रशासन कार्यालय जुम्लाले बजार अनुगमन कडा बनाउँदै ग्यास डिलरहरूलाई किनेको र बेचेको ग्यासको विस्तृत अभिलेख राख्न निर्देशन दिएको छ।

निमित्त प्रमुख जिल्ला अधिकारी मीनबहादुर रावलको अध्यक्षतामा शुक्रबार बसेको सरोकारवालाहरूको बैठकले ग्यास आपूर्ति व्यवस्थापनलाई पारदर्शी बनाउने तथा कृत्रिम अभाव हुन नदिने उद्देश्यले यस्तो निर्णय गरेको हो।

रावलका अनुसार जिल्लामा ग्यासको कृत्रिम अभाव देखिन थालेको गुनासो आएपछि डिलरहरूलाई ग्यास किनेको र बेचेको स्पष्ट अभिलेख राख्न भनिएको हो।

पछिल्लो समय सदरमुकाम खलंगामा ग्यास अभाव देखिन थालेपछि उपभोक्ताहरू चिन्तित बनेका छन्। कतिपय व्यापारीले प्रतिनिधिसभा निर्वाचनका कारण मालवाहक गाडी सञ्चालनमा समस्या भएको भन्दै ग्यास आपूर्ति कम भएको दाबी गरेका छन्। तर केही व्यापारीले आगामी दिनमा ग्यास महँगिन सक्ने अनुमान गर्दै आपूर्ति रोकेको आरोप उपभोक्ताले लगाएका छन्।

उपभोक्ताहरूका अनुसार बजारमा मागअनुसार ग्यास उपलब्ध नभएपछि दैनन्दिन जीवन नै प्रभावित हुन थालेको छ। उनीहरूले सहज आपूर्ति सुनिश्चित गर्न प्रशासनले कडा निगरानी गर्नुपर्ने माग गरेका छन्।

प्रशासनका अनुसार खलंगामा मात्रै दैनिक करिब २ हजार सिलिण्डर ग्यास आवश्यक पर्ने अनुमान गरिएको छ। तर माग उच्च हुँदाहुँदै पनि आपूर्ति कमजोर देखिनु र बजारमा अभाव देखिनुले व्यापारीहरूले ग्यास लुकाएर राखेको आशंका समेत बढाएको छ।

रावलले ग्यासको कृत्रिम अभाव हुन नदिने र उपभोक्ताले सहज रूपमा ग्यास पाउने व्यवस्था मिलाउन प्रशासन सचेत रहेको बताए।

बैठकले जिल्लामा ग्यास आपूर्ति गर्ने डिलरहरूको पहिचानसमेत गरेको छ। प्रशासनका अनुसार बुढा जनरल स्टोर र लगन स्टोर एण्ड सप्लायर्सले जुम्लामा ग्यास बिक्री वितरण गर्दै आएका छन्।

अब यी डिलरहरूले ग्यास जिल्ला भित्र्याएदेखि उपभोक्तासम्म बिक्री भएको प्रत्येक सिलिण्डरको अभिलेख राख्नुपर्नेछ। डिलरबाट कति सिलिण्डर आयो र कसलाई कति वितरण भयो भन्ने विवरणसमेत प्रशासनलाई उपलब्ध गराउनुपर्ने निर्णय बैठकले गरेको छ।

डिलरहरूका अनुसार शनिबार करिब ८ सय सिलिण्डर ग्यास जुम्ला आइपुग्ने तयारी रहेको छ। हाल खलंगामा प्रतिग्यास सिलिण्डर २ हजार २ सयदेखि २ हजार २ सय ५० रुपैयाँसम्ममा किनबेच भइरहेको छ। आपूर्ति कमजोर हुँदा मूल्य बढ्ने चिन्ता उपभोक्तामा बढेको छ।

ग्यास अभावको संकेत देखिएपछि प्रशासनले उद्योग वाणिज्य संघ, उद्योग तथा उपभोक्ता कार्यालय र ग्यास डिलरहरूबीच समन्वय बैठक गरी सम्भावित अभाव रोक्न आवश्यक तयारी थालेको जनाएको छ। साथै बजारको अवस्था नजिकबाट अनुगमन गर्दै उपभोक्ताले सहज रूपमा ग्यास पाउने वातावरण बनाउन पहल गरिरहेको प्रशासनले जनाएको छ।

 

प्रकाशित: २९ फाल्गुन २०८२ १९:१० शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App