६ आश्विन २०८१ आइतबार
image/svg+xml
समाज

नक्खु कारागारभित्रै मन्द विष खुवाएर हत्या

अभिषेकराज सिंह

काठमाडौं - नक्खु कारागारभित्रै कैदीलाई विष खुवाएर हत्या गरिएको छ । गत वैशाख २१ गते राति नक्खु कारागारभित्र एक कैदीको रहस्यमय मृत्यु भएपछि त्यसको अनुसन्धान हुँदा मन्द विष खुवाएर हत्या गरिएको पुष्टि भएको हो।

कर्तव्य ज्यान मुद्दाको सजाय भुक्तान गरिरहेका बर्दिया स्थायी घर भएका भक्तबहादुर सुनारको वीर अस्पतालमा उपचारका क्रममा मृत्यु भएपछि प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले छानबिन सुरु गरेको थियो।

मृतक सुनारका दाजु रामबहादुर सुनारले जेलभित्र भाइको हत्या भएको हुनसक्ने भन्दै गृहमन्त्रीलाई सम्बोधन गरी पत्र लेखेपछि त्यसको अनुसन्धान सिआइबीले गरेको थियो । सिआइबीका प्रमुख डिआइजी नारायणसिंह खड्काले जेलभित्रै रहेका दुईजना र त्यहींबाट छुटेका एकजना गरी तीनजनाको मिलेमतोमा सुनारलाई विष खुवाएर हत्या गरिएको बताए । उनका अनुसार सिरियल किलर अभिषेकराज सिंहको नेतृत्वमा सुनारको हत्या गरेको अनुसन्धानबाट देखिएको छ । सुनारको हत्यामा कैदी मनोजकुमार चौरसिया र नक्खु कारागारबाट भर्खरै कैद भुक्तान गरेका ध्रुवकृष्ण शर्माको संलग्नता देखिएको छ ।

‘सिंहले सुनारलाई खानमा मन्द विष मिलाएर हत्या गरेका हुन्’, डिआइजी खड्काले भने, ‘कारागारभित्र प्रभुत्व जमाउन हत्या गरिएको देखिन्छ ।’ प्रहरीका अनुसार सिंहले जेलभित्रै मन्द विष तयार पारेका थिए । बैंकिङ कसुरमा कैद सजाय भोगिरहेका चौरसिया र जेलबाहिर रहेका शर्माको सहयोगमा सिंहले विष तयार गरेका थिए । विष तयार गर्न शर्माले विभिन्न वनस्पति जेलभित्र पठाउने काम गरेका थिए ।

सिंहले जेलबाट छुटेपछि नक्कली कागाजात तयार गरी सुनसरीमा जग्गा किन्ने र सो जग्गा महँगो मूल्यमा बेच्ने त्यो जग्गा बेचेपछि किन्ने मान्छेले जग्गा खोज्ने, आफ्नो जग्गा नपाएपछि मुद्दामामिला गर्न सक्ने र उसले मुद्दा गर्नुअघि नै चिकित्सकले समेत पुष्टि गर्न नसक्ने मन्द विष खुवाएर मार्ने योजना बनाएका थिए । सोही मन्द विषको परीक्षण सुनारमा गरिएको खड्काले बताए।

जेलभित्र रहेका कैदीलाई सानोतिनो रोग लाग्दा सिंहआफैंले औषधि सिफारिस गर्थे । सुनारको मृत्यु भएपछि उनका दाजुलाई बोलाएर सिंहले किरिया खर्च भन्दै १५ हजार दिएको र पछि १५ हजार थपिदिने तथा बर्दियामा भएको जग्गा पनि दिने आश्वासन दिएका थिए ।

जेलमा रहेका सुनारको अचानक बिरामी परेलगत्तै मृत्यु भएपछि घटना शंकास्पद भन्दै उनका आफन्तले ललितपुर प्रहरी परिसरमा उजुरी दिएका थिए । सुनारको मृत्युको कारण पत्ता लगाउन ललितपुर परिसले छानबिन अगाडि बढाएकै बेला १६ जेठमा गृह मन्त्रालयले पनि सो घटनाबारे छानबिन गर्न कारागार व्यवजस्थापन विभागमा निर्देशक कृष्णप्रसाद अधिकारीको संयोजकत्वमा समिति बनाएको थियो ।

समितिले उनको मृत्युको यकिन कारण पत्ता लगाउन नसकेपछि केन्द्रीय अनुसन्धान ब्युरोले अनुसन्धान सुरु गरेको हो । सुनार जेलभित्र सिंहको सहयोगीका रुपमा काम गर्थे । सिंहको जेलर र चौकीदारसँग सम्बन्ध राम्रो थिएन । सुनारको हत्या गरी त्यसको दोष लगाएर उनीहरूलाई सरुवा गराउन सके आफ्नो हालिमुहाली हुने सिंहको अपेक्षा थियो।

गृहको समितिले सिंहले नै सुनारको हत्या गरेको हुन सक्ने बताए पनि त्यसलाई पुष्टि गर्ने आधार फेला पार्न सकेको थिएन । पोस्टमार्टम रिपोर्टमा पनि मृत्युको कारण खुल्न नसकेपछि समितिले विज्ञ टोली नै बनाएर गहन अनुसन्धान गर्नुपर्ने निष्कर्ष निकालेको थियो । कैदी मृत्युको कारण भिसेरा परीक्षणपछि पनि नखुलेपछि केन्द्रीय अनुसन्धान ब्युरोले प्रहरीको विधि विज्ञान प्रयोगशाला, राष्ट्रिय विधि विज्ञान प्रयोगशाला र शिक्षण अस्पतालका अटोप्सी विज्ञ डाक्टरसँग समन्वय गरेको थियो ।

सिंहकै योजनामा सुनारको नाममा गृहमन्त्रीलाई सम्बोधन गरी कारागारभित्र अनियमितता हुने गरेको र त्यसको छानबिन गर्नुपर्ने माग गरिएको पत्र सार्वजनिक भएको थियो । गृहको समितिले सिंहको साथबाट चिकित्सकको सिफारिसबिनाको औषधि पनि फेला पारेको थियो । सो औषधि जेल प्रशासन र चिकित्सकको सिफारिसबिना कसरी उनको साथमा पुग्यो भन्ने विषयमा गृह मन्त्रालयले केही बताएको छैन । कारागार नियमावलीअनुसार जेल प्रशासन र चिकित्सको सिफारिसमा मात्रै औषधि जेलभित्र लैजान पाइन्छ।

प्रकाशित: ९ श्रावण २०७५ ०१:०६ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App