४ आश्विन २०८१ शुक्रबार
image/svg+xml
समाज

१ करोड १५ लाख बढी रकमसहित हुन्डी कारोवारी पक्राउ

हुण्डी कारोबारको आरोपमा प्रहरीद्वारा पक्राउ परेका राहुल केशरी र भारतीय मुद्राको अबैध ओसार पसारको आरोपमा पक्राउ परेका भारतीय नागरिक सर्राफ। तस्बिरः रितेश/नागरिक

पर्सा – पर्सा प्रहरीले मुद्राको अवैध ओसारपसार (हुन्डी) कारोवारमा संलग्न रहेको अभियोगमा एक व्यापारीलाई नियन्त्रणमा लिएको छ। 

हुन्डीको कारोबार हुँदै गरेको पूर्वसूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय पर्साको प्रहरी टोलीले बीरगन्जको रानीघाटबाट आइतबार १ करोड १५ लाख रुपैयाँभन्दा बढी नगदसहित स्थानीय राहुल केशरीलाई पक्राउ गरेको हो। 

पर्साका प्रहरी उपरिक्षक रेवती ढकालले केशरीबाट स्रोत नखुलेको १ करोड १५ लाख ५ हजार १ सय ५० रुपैयाँ बरामद भएको बताए। केशरीलाई भने हुण्डी कारोबारकै सूचनाको आधारमा पक्राउ गरिएको प्रहरीको दावी छ। बीरगन्ज १२ रानीघाटस्थित महेश केशरीको घरमा अबैध वित्तीय कारोबार संचालन भइरहेको भन्ने गोप्य सूचनाको आधारमा खटिएको टोलीले सफलता हात पारेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

त्यसैगरी शनिबार भारतबाट नेपालतिर ल्याउन लागिएको ८ लाख बढी भारतीय रुपैयाँसहित एकजना भारतीय नागरिक अभिजित कुमार सर्रापलाई इलाका प्रहरी कार्यालय इनर्वाले नियन्त्रणमा लिएको छ। सर्रापको साथबाट भारतीय ५ सय दरका ७ लाख १९ हजार, २ हजारका २२ हजार र २ सय दरका ६० हजार २ सय गरी ८ लाख १ हजार २ सय भारतीय रुपैयाँ बरामद भएको प्रहरी उपरीक्षक ढकालले बताए। मोटरसाइकलमा सिमावर्ती भारतीय बजार रक्सौलबाट बीरगञ्जतर्फ आइरहेका सर्राफलाई प्रहरीले सुराकीमा आधारमा रजतजयन्ती चोकमा खानतलासी गर्दै समातेको थियो। 

भारत बिहारको पूर्वी चम्पारण सुगौली–११ घर भएका २८ वर्षीय सर्राफले बीआर ०५ के ६४४४ नम्बरको पल्सर मोटरसाइकलमा उक्त रकम नेपालतिर भित्र्याउन थालेका थिए। पक्राउ परेका केशरी र सर्राफलाई आइतबार पत्रकार सम्मेलन गरी जिल्ला प्रहरी कार्यालयले सार्वजनिक गरेको छ।

दुबै जनालाई आवश्यक अनुसन्धान तथा  कारवाहीका लागि ललितपुर, पुल्चोक हरिहर भवनस्थित राजश्व अनुसन्धान विभागमा पठाइने जिल्ला प्रहरीले जनाएको छ।  बीरगन्जमा यसअघि पनि हुण्डी कारोबारका ठुला घट्नाहरु भएका छन्। 

प्रकाशित: २४ असार २०७५ १३:२६ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App