२ असार २०८१ आइतबार
image/svg+xml
समाज

यार्सागुम्बा संकलनमा कमी, संकलक निराश

यार्सागुम्बा संकलनबाट फर्कदै संकलक।

दार्चुला – दार्चुलामा यसवर्ष यार्सागुम्बा उत्पादन तथा संकलनमा कमी आएको छ। बिगतका  वर्षहरूको तुलनामा यस वर्ष आधा मात्रै संकलन भएको यार्सा टिप्ने लेकबाट फर्केका संकलकहरूले बताएका छन्।

दार्चुलाको अपिहिमाल गाउँपालिकाको यार्सागुम्बा पाइने बिभिन्न पाटनहरुबाट यार्सागुम्बा संकलन गरेर फर्केका अधिकांश संकलकहरूले आधाभन्दा कम मात्रै यार्सा भेट्टिएको र लगानी समेत नउठेको भन्दै चिन्ता ब्यक्त गरेका हुन।

मार्मा गाउँपालिका ४ बार्कुबाट गत वैशाख २२ गते यार्सागुम्बा संकलन गर्न भन्दै ९ महिनाको दुधेबालक साथमा बोकेर पाटन पुगेका दानमति महरा सोचेअनुसार यार्सागुम्बा नभेट्टिएको भन्दै निरास भएर घर फर्किएकी छिन्। उनीमात्रै  हैन, सँगै यार्सागुम्बा संकलन गर्न डेढ महिना पहिले अपिहिमाल गाउँपालिका अन्तर्गतका क्षेत्रमा गएका सयौं संकलकहरूले गत वर्षहरूको भन्दा निकै कम यार्सागुम्बा मात्रै पाएको गुनासो गरेका छन्।

बिगत वर्षहरुमा झन्डै ५ सय गोटा यार्सागुम्बा भेट्टिने गरेकोमा यस पटक २ सयजती मात्र यार्सा भेट्एिको दुधेबच्चा बोकेर यार्सा संकलनका लागी लेक पुगेका महराले बताइन्। जडिबुटी संकलन गर्न वन खन्नु, वनमा आगलागी हुनु, जथाभावी प्लाष्टिकजन्य फोहोर फाल्नु लगायत कारणले यार्सा कम भेट्एिको संकलकहरूको भनाई छ। हिमाली क्षेत्रका स्थानीयको प्रमुख आयस्रोतको रुपमा रहेको यार्सागुम्बा नभेट्टिएपछि स्थानीयमा निरासा छाएको अपिहिमाल ३ सितोलाका  यार्सा संकलक बिशनसिहं बुढाथोकीले बताए। 

बिगत वर्षहरूमा ५ लाखसम्म यार्सागुम्बा बिक्री गरेर कमाउँदै आएका संकलकहरूले एक लाखसम्म पनि नहुने अवस्था आएको छ। यार्सागुम्बा संकलनमा अपिनाम्पा संरक्षण क्षेत्र कार्यालय दार्चुला, गाउँपालिका लगायत सरोकारवालाहरूले राजस्व संकलनमा मात्रै ध्यान दिएको तर बहुमूल्य जडिबुटी संरक्षणमा ध्यान नदिएको स्थानीयको आरोप छ।

जलवायु परिवर्तनको असर तथा मानवीय क्रियाकलापहरूले गर्दा हरेक वर्ष यार्सा संकलनको अनुपात ओरालो लागेको छ। सिजनमा ८ सय २० किलोग्राम यार्सा संकलन हुने प्रक्षेपणसहित करिब ८ हजार जना संकलक यार्सा संकलनमा गएका थिए।

प्रकाशित: २४ असार २०७५ १२:४५ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App