४ पुस २०८१ बिहीबार
image/svg+xml
समाज

वकिलको आग्रहमा सुनुवाइ स्थगित

विराटनगर - जिल्ला अदालत मोरङको आदेशबाट सुन तस्करी र सनम शाक्य हत्या प्रकरण मुद्दामा पुर्पक्षका लागि जेल चलान भएका प्रहरी अधिकारीसहित पाँचजनाले आफूहरुलाई साधारण तारेखमा छाड्न माग गर्दै उच्च अदालत विराटनगरमा दिएको निवेदनमाथिको सुनुवाइ स्थगित भएको छ। दुवै पक्षका वकिलहरूले बिरामी भएको कारण देखाई सुनुवाइ स्थगित गराएको उच्च अदालत विराटनगरका रजिस्ट्रार नारायणप्रसाद रेग्मीले जानकारी दिए।

रेग्मीका अनुसार उच्च अदालतमा प्रत्येक साताको बिहीबारमात्र सुनुवाइ हुने गरेको छ। हरेक बिहीबार सुनुवाइ हुने भए पनि छलफलपछि उच्च अदालतले सुनुवाइको मिति तय गर्ने रेग्मीले जानकारी दिए। अब अर्को बिहीबारमात्रै सुनुवइ हुने सम्भावना छ। जिल्ला अदालत मोरङले पुर्पक्षका लागि थुनामा पठाएका अभियुक्तहरुले साधारण तारेखमा छाड्न माग गर्दै उच्च अदालत विराटनगरमा अदालती बन्दोबस्तीको महल १७ नम्बर अनुसार निवेदन दिएका थिए। उनीहरूको निवेदनमा बिहीबार सुनुवाइ हुने तोकिएको थियो। थुनामा रहेका पूर्व डिआइजी गोविन्द निरौला, निलम्बित एसएसपी दिवेश लोहनी, एसपी विकासराज खनाल, डिएसपी सञ्जयबहादुर राउत र व्यापारी हेमन्त गौतमले निवेदन दिएका हुन्।

थुनामा रहेका पूर्व डिआइजी गोविन्द निरौला, निलम्बित एसएसपी दिवेश लोहनी, एसपी विकासराज खनाल, डिएसपी सञ्जयबहादुर राउत र व्यापारी हेमन्त गौतमले साधारण तारेमा छाड्न माग राखी निवेदन दिएका हुन्।

सुन तस्करी प्रकरणमा जिल्ला अदालत मोरङले पुर्पक्षका लागि थुनामा पठाएका मध्ये हालसम्म १५ जनाले साधारण तारेखमा छाड्न माग गर्दै निवेदन दिएको उच्च अदालत विराटनगरले जनाएको छ। निवेदन दिनेहरूमा दोराम खत्री, गोपालकुमार श्रेष्ठ, माधव भन्ने मदनप्रसाद घिमिरे, पुण्यप्रसाद लामा, भुजुङ गुरुङ, सम्बीरप्रसाद तोलाङ्गे, एलबी मगर, बालकृष्ण श्रेष्ठ, टेकराज मल्ल ठकुरी र प्रजित केसी पनि रहेको उच्च अदालत विराटनगरले जनाएको छ।

जिल्ला अदालत मोरङका न्यायधीश नारायणप्रसाद शर्माको इजालासले गत जेठ ८ गते सुन तस्करी र हत्या प्रकरण मुद्दामा पक्राउ परेका ३० अभियुक्तमध्ये २८ जनालाई पुर्पक्षका लागि थुनामा पठाउने, एकजनालाई धरौटी र एकजनालाई सामान्य तारेखमा राख्ने आदेश दिएको थियो। उनीहरुविरुद्ध संगठित अपराधअन्तर्गत आपराधिक समूह स्थापना गरी सुन चोरी–पैठारी र निकासी गरेको, अपहरण तथा शरीर बन्धक र कर्तव्य ज्यान शीर्षकमा मुद्दा दर्ता भएको थियो। यस्तै सुन तस्करी र हत्या प्रकरणका मुख्य अभियुक्त भनिएका चूडामणि उप्रेती (गोरे), एसएसपी श्याम खत्री, डा. डेबिट भनिने छिरिङ वाङ्गेल घलेलगायतलाई पनि जिल्ला अदालत मोरङले पुर्पक्षका लागि कारागार पठाइसकेको छ। सुन तस्करी र शनम शाक्य हत्या प्रकरणमा गत वैशाख १९ गते प्रहरी उच्च अधिकारीसहित ६३ जनाविरुद्ध जिल्ला अदालत मोरङमा मुद्दा दर्ता भएको थियो।

प्रकाशित: १५ असार २०७५ ०१:१८ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App