१६ चैत्र २०८० शुक्रबार
समाज

जैविक जिल्लामा रासायनिक विषादीको विगविगी

जुम्ला – जुम्लालाई १४ औ जिल्ला परिषदबाट जैविक जिल्ला घोषणा गरेको भएपनि पछिल्लो समयमा अत्याधिक रासायनिक विषादी प्रयोग गर्ने गरेको पाइएको छ। जैविक जिल्ला घोषणा गरेको दशकसम्म कुनै पनि रासायनिक विषादी प्रयोग गरेको पाइएको थिएन, तर यो वर्ष चन्दननाथ नगरपालिका क्षेत्रको सबै जसो धान खेतमा रासायनिक विषादी (व्युटाकोलर) को प्रयोग बढेको छ। यहाँको ढाणथपला र छिना ज्युलोमा व्युटाकुलर लुकिछपी प्रयोग गरेको पाइएको छ।

चन्दननाथ नगरपालिका कृषि शाखा प्रमुख चन्द्रवहादुर शाही खेतभरी रासायनिक विषादी छरेर हिड्ने मान्छेलाई प्रत्यक्ष असर परिरहेको वताउँछन्। ‘घाम लागेको समयमा धान खेत हुदै हिड्ने मान्छेलाई निकै ठुलो समस्या सिर्जना गरेको छ’, उनले भने, ‘एकै दिनमा ६०÷७० जनाले एकै पटक व्युटाकोलर छरेको भेटिएको हो।’

व्युटाकोलर जिल्लामा भित्रिएपछि स्थानीय प्रशासन कार्यालयको नेतृत्वमा यहाँका दर्ता वाला ५ वटा एग्रोभेटमा छापा मारिएको थियो। ‘एग्रोभेटमा व्युटाकोलर ल्याइएको पाइएन’, उनले भने, ‘किसान आफैले भारतबाट आफै लुकिछिपी ल्याउने गरेको भेटिएको छ।’

जिल्ला कृषि अनुसन्धान कार्यालयकै अगाडी खुलेआम व्युटाकोलर प्रयोग गरेको भेटिएको थियो। रोपाई सकिएसँगै प्रत्येक खेतमा व्युटाकोलर छरिएको छ। यसले शरीरको पाँचन क्रियामा समस्या ल्याउनुका साथै तीन वर्षसम्म माटोमा असर रहन्छ। माटोको उर्वराशक्ति ह्रास हुँदै जानुका साथै वातावरणमा पनि असर पर्छ।

व्युटाकोर झारनासक विषादी हो। यसले मलमा रहेको किटाणु नष्ट गर्छ। किसानले गोडमेल गर्न सहज हुने भन्दै क्षणिक फाइदाका लागि प्रयोग गर्छन्। ८÷१० जना मान्छे लगाएर गोड्नु पर्ने खेत एकै जनाले गोड्न सक्ने भन्दै व्युटाकोलरको प्रयोग गरेको किसान वताउँछन्। कृषि शाखा प्रमुख शाहीका अनुसार व्युटाकोलरको प्रयोगले सुन्य प्वाईन्ट पाँच प्रतिशत फाइदा भएपनि ९९ दशमलव ५ प्रतिशत घाटा वेहानु पर्छ।

जिल्लामा हुने प्रत्येक तालिम गोष्ठिमा रासायनिक विषादीका कारण मानव स्वास्थ्यका वारेमा हुने हानीका वारेमा छलफल हुदै आएको छ, तर किसानमा कुनै प्रभावको प्रभाव बढेको छैन। जिल्लालाई हचुवाको भरमा जैविक जिल्ला घोषणा गर्नुको परिणाम निस्किएको चन्दननाथ नगरपालिकाका मेयर कान्तिका सेजुवाल वताउँछिन। उनले किसानको यस्तो कामले नकरात्मक सन्देश फैलिएको वताइन्। विषादी कहाँवाट, कसरी आउछ, भन्ने बारेमा गहन अनुसन्धान आवश्यक रहेको उनले बताइन्।

व्युटाकोलर छरेपछि खेतको पानी पिएर एक गाई, एक हल गोरु पनि मरेका छन्।  जिल्लाको सिजा क्षेत्रमा पनि रासायनिक विषादीको प्रयोग बढेको छ। चन्दननाथ नगरपालिका क्षेत्रको ११ सय हेक्टरमा धान खेति गरिन्छ। कालीमार्सी र चन्दननाथ एक र तीन जातको धान लगाइने गरेको किसान वताउँछन्।

प्रकाशित: १९ जेष्ठ २०७५ ०६:१३ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App