भारतका विभिन्न स्थानबाट उद्धार गरी नेपाल ल्याइएका १५ नेपाली बालबालिका तथा किशोरकिशोरीमध्ये १० जनालाई बुधबार अभिभावकको जिम्मा लगाइएको छ।
भारतबाट उद्धार गरी मंगलबार राति भैरहवा ल्याइएका उनीहरूमध्ये १० जनालाई जिल्ला प्रहरी कार्यालय रुपन्देहीमार्फत आफन्तको जिम्मा लगाइएको हो। बाँकी पाँच जनालाई पनि आफन्त वा परिवारका सदस्य सम्पर्कमा आएपछि जिम्मा लगाइने मानव बेचबिखन तथा ओसारपसारविरुद्ध कार्यरत संस्था ‘किन इन्डिया’का निर्देशक नवीन जोशीले जानकारी दिए।
नेपालका विभिन्न स्थानबाट अवैध रूपमा भारत पुर्याइएका बालबालिका तथा किशोरकिशोरीलाई भारतको महाराष्ट्र, झारखण्ड र दिल्लीलगायतका स्थानबाट फरक–फरक समयमा उद्धार गरिएको थियो। दिल्लीस्थित ‘किन इन्डिया’को पहलमा भारतीय प्रहरीको सहयोग र नेपाली दूतावासको समन्वयमा उनीहरूलाई उद्धार गरी नेपाल ल्याइएको हो।
उद्धार गरिएका १५ जनामध्ये १२ जना १५ वर्षमुनिका बालबालिका छन् भने तीन जना १५ वर्षभन्दा माथिका किशोरकिशोरी छन्। उद्धार गरिएका बालकमध्ये एक जना १० वर्ष र अर्का १२ वर्षका छन्।
जोशीका अनुसार केही बालबालिकालाई राम्रो काम लगाइदिने तथा मदरसामा पढाइदिने प्रलोभनमा भारत पुर्याइएको पाइएको छ। केही भने पारिवारिक बेमेल, झैझगडा, गरिबीलगायतका कारण घरबाट भागेर भारत पुगेका थिए।
रेलवे स्टेसन, होटल तथा निर्माण क्षेत्रमा जोखिमपूर्ण अवस्थामा बालबालिका रहेको र नियमविपरीत मदरसामा समेत नेपाली बालबालिकालाई राखिएको सूचना पाएपछि भारतीय प्रहरीको सहयोगमा उनीहरूको उद्धार गरिएको जोशीले बताए।
उद्धार गरिएका बालबालिकालाई केही समय संस्थाको संरक्षणमा राखेर आवश्यक प्रक्रिया पूरा गरेपछि नेपाली दूतावासको समन्वयमा नेपाल ल्याइएको र परिवारसँग पुनर्मिलन गराइएको उनले जानकारी दिए।
बुधबार नवलपरासीको प्रतापपुरकी एक, झापाकी एक, पर्साकी एक र रौतहटकी एक बालिकालाई अभिभावकको जिम्मा लगाइएको छ। त्यस्तै, महोत्तरीको सम्सी गाउँपालिकाका छ जना बालकलाई पनि उनीहरूका अभिभावकको जिम्मा लगाइएको छ।
सम्सी गाउँका ती बालकलाई मदरसामा पढाउने भन्दै भारतको महाराष्ट्रस्थित जालना जिल्ला पुर्याइएको थियो। जालनाको एक मदरसामा नेपाली बालकलाई जोखिमपूर्ण अवस्थामा राखिएको सूचना पाएपछि महाराष्ट्र प्रहरीको सहकार्यमा उनीहरूको उद्धार गरिएको जोशीले बताए।
उद्धार गरी नेपाल ल्याइएका पाल्पाको रामपुरका १० वर्षीय बालकका आमाबुबा सम्पर्कमा नआएकाले वडाध्यक्षको रोहबरमा जिम्मा लगाउने तयारी गरिएको छ। कञ्चनपुरका १२ वर्षीय र अछामका १४ वर्षीय बालकका अभिभावक बिहीबार आउने बताइएको छ। त्यस्तै, रौतहटकी १७ वर्षीया र सिराहाकी १४ वर्षीया बालिकालाई पनि परिवारका सदस्य आएपछि बिहीबार जिम्मा लगाइनेछ।
‘राम्रो काम र दाम’को प्रलोभनमा भारत पुर्याउने क्रम बढ्दो
मानव बेचबिखनविरुद्ध काम गर्दै आएको ‘किन इन्डिया’का निर्देशक जोशीका अनुसार नेपालबाट बालबालिका तथा किशोरकिशोरीलाई राम्रो काम र आकर्षक पारिश्रमिकको प्रलोभनमा पारेर भारतका विभिन्न सहरमा पुर्याई जोखिमपूर्ण काममा लगाउने प्रवृत्ति बढिरहेको छ।
भारत पुग्ने नेपाली बालबालिका तथा किशोरकिशोरीमध्ये मधेश प्रदेशका बालबालिकाको संख्या उल्लेख्य रहेको उनले बताए। पारिवारिक बेमेल, घरेलु हिंसा, सानै उमेरमा कमाउन पठाउने प्रवृत्तिलगायतका कारण नेपाली बालबालिका तथा किशोरकिशोरी भारतका विभिन्न सहरमा जोखिमपूर्ण अवस्थामा पुग्ने गरेको उनको भनाइ छ।
यसरी भारत पुर्याइएका कतिपय बालबालिका तथा किशोरकिशोरी मानव बेचबिखनको जोखिममा पर्ने गरेको पनि जोशीले बताए।
प्रकाशित: २४ भाद्र २०८३ २१:१२ बुधबार





