मोरङको रतुवामाईमा भाउजूको हत्या गरेको आरोपमा आफ्नै देवरलाई प्रहरीले पक्राउ गरेको छ । अंशको विषयमा विवाद हुँदा देवरले भाउजूको हत्या गरेको घटना बाहिर आएको प्रहरीले जनाएको छ ।
रतुवामाई नगरपालिका–६ का ६९ वर्षीय टंकबहादुर बस्नेतलाई भाउजूको हत्या गरेको आरोपमा पक्राउ गरेको मोरङ प्रहरी प्रवक्ता डिएसपी कोपिला चुँडालले जानकारी दिए ।
उनका अनुसार दाजु–भाइबिचको अंश विवादमा टंकले दाजु गणेशबहादुर बस्नेतकी श्रीमती ६० वर्षीया टीकामाया कार्की बस्नेत (भाउजू) को हत्या भएको हो ।
असार २१ गते दिउँसो टीकामायाकै बारीमा उनको शव फेला परेको बताउँदै, डिएसपी चुँडालले भनिन्, ‘बारीमा घाँस काट्न गएका बेलमा हत्या गरेको हुनुपर्छ किनभने टीकामायाको टाउको पछाडि घुच्चुकमा चोट रहेको देखिन्छ । मृतकको बोली नआउने र इसाराले मात्रै कुरा गर्थिन् ।’
मृतकका पति गणेश र टंकबीच अंश (पुर्खौली सम्पत्ति) विवाद रहेको थियो । भाइ टंकले पुर्खौली सम्पत्ति एक्लै बनाउन खोजेपछि विवाद सुरु भएको थियो । दाइ गणेशले भाइ टंकविरुद्ध अदालतमा दर्ता गरेको अंश मुद्दामा गणेशले अंश पाउने गरी फैसला भएको प्रहरीले जनाएको छ । गणेश जेठी र टंक कान्छी आमाका छोराहरू हुन् ।
अदालतको फैसलापछि गणेशका परिवारसँग टंक रुष्ट रहेका थिए । आफूले भोगचलन गर्दै आएको जग्गाजमिन दाजुलाई दिनुपर्ने भएपछि अंश विवादको रिसईबी साँधेर बसेका टंकले हँसियाको बिँडले प्रहार गरेर भाउजूको हत्या गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ ।
यसअघि पनि भाउजूलाई पटक–पटक टंकले गालीगलौज र कुटपिटको प्रयास गरेको खुलेको बताउँदै, डिएसपी चुँडालले भनिन्, ‘हँसियाको बिँडले घुच्चुकको दायाँ भागमा प्रहार गरेर भाउजूको हत्या गरेको खुलेको छ । घटनामा संलग्न टंकलाई सोमबार दिउँसो आफ्नै घरबाट पक्राउ गरेर अनुसन्धानमा ल्याइसकिएको छ । हत्यामा प्रयोग गरिएको हँसिया टंककै घरबाट बरामद गरेका छौँ ।’
विराटनगरको कोशी अस्पतालमा शवको पोस्टमार्टम गरिएको थियो । चिकित्सकले टीकामायाको मृत्यु चोटका कारण भएको जानकारी दिएपछि इलाका प्रहरी कार्यालय सिजुवाको टोलीले घटनाको अनुसन्धान थालेको हो ।
टंकविरुद्ध कर्तव्य ज्यान मुद्दामा अदालतबाट म्याद थप गरेर अनुसन्धान अघि बढाएको प्रहरीले जनाएको छ ।
प्रकाशित: २४ असार २०८२ १७:३९ मंगलबार





