१३ पुस २०८२ आइतबार
image/svg+xml
समाज

कृषिमा स्थानीय सरकारको लगानी यान्त्रिकरणमा जोडिँदै किसान

बाँके, वैजनाथ– २ का किसान भरत न्यौपाने विदेशको सपना त्यागेर आफ्नै खेतबारीमा श्रम गरिरहेका छन्। उमा एकीकृत कृषि तथा पशुपक्षी फर्मका सञ्चालक न्यौपानेले कृषिमा गरेको मेहनतलाई कदर गरेर स्थानीय सरकार (वैजनाथ गाउँपालिका) ले किसानसँग पालिका प्रमुख कार्यक्रममार्फत यसपटक ७० प्रतिशत अनुदानमा पावर टिलर दियो। पावर टिलर पाउँदा आफूलाई अब कृषि कर्म गर्न थप सहज भएको उनी बताउँछन्। 

‘हामी किसानका लागि पावर टिलर बहुपयोगी साधन हो, यसलाई खेतबारी जोत्न, धान रोप्न, धान काट्न, धान ढुवानी गर्न, पानी तान्न प्रयोग गर्न सकिन्छु, उनले नागरिकसँग भने, ‘गाउँपालिकाले अनुदानमा पावर टिलर दिएर हामीलाई यान्त्रिकरणमा जोड्यो।’ उनी आफ्नो करिब १० कठ्ठा जमिनमा मकै रोप्छन् भने बाँकी जमिनमा उन्नत जातको घाँस खेती गर्छन्। फर्ममा उनीसँग अहिले साना–ठुला गरेर ३२ वटा भैंसी छन्। दैनिक ६० देखि ७० लिटर दुध बिक्री गर्छन्। गाउँपालिकाका किसानसँग पालिका प्रमुख कार्यक्रममार्फत विगतका वर्षमा पनि उनले अनुदानमै कम्बाइन मिल, घाँस काट्ने मेसिन र भैंसी प्राप्त गरिसकेका छन्।

वैजनाथ– ८ थपुवाका किसान खेमनारायण चपाईले यसअघि आफ्नो खेतबारी जोताउँदा ट्याक्टर महँगो रकम तिर्नुपर्थ्यो। गाउँपालिकाले किसानसँग पालिका प्रमुख कार्यक्रममार्फत उनलाई पनि यसपटक ७० प्रतिशत अनुदानमा पावर टिलर दिएको छ। कृषि यान्त्रीकरणसँग जोडिएपछि अब कृषि पेसालाई आधुनिक तरिकाले अपनाउने उनको सोच छ। ‘गत वर्ष मैले गाउँपालिकासँग माग गरेको थिए, यस वर्ष छनोटमा परेर पावर टिलर पाएको छु’, निरज खेमनारायण कृषि तथा पशुपक्षी फर्मु का सञ्चालक चपाईले भने, ‘कार्यक्रमको छनोटमा परेर पावर टिलर पाएपछि अब म आफ्नो खेतबारी आफैं जोत्न सक्छु।’ उनले आफ्नो दुई बिघा र अरूको थप तीन बिघा गरी पाँच बिघा जमिनमा खेती गर्दै आएका छन्।

गाउँपालिकाले उक्त कार्यक्रममार्फत यस वर्ष विभिन्न कृषि फर्म, समुह तथा सहकारी संस्थामार्फत २२ वटा पावर टिलर तथा एक सय दुई थान मिनी टिलर किसानलाई वितरण गरेको छ। किसानलाई सिँचाइ पम्पसेट, डेलिभरी पाइप, उन्नत जातका घाँस बिउ, कम्बाइन मिल, चारा मेसिनलगायत सामग्री वितरण गरिसकिएको छ। यस्तै किसानसँग पालिका प्रमुख कार्यक्रममार्फत किसानलाई ई–डेलिभरी रिक्सा, लालटिन मोटरलगायत विभिन्न यान्त्रिकरण वितरण गरिँदै छ।

गाउँपालिका अध्यक्ष प्रकाशबहादुर शाहीले झन्डै ७० प्रतिशत जनसंख्या ओगटेको वैजनाथको कृषि क्षेत्रलाई माथि उठाएर किसानलाई आर्थिक समृद्धिसँग जोड्न आफू स्थानीय सरकारको नेतृत्वमा आएपछि वार्षिक झन्डै ६ देखि सात करोड रुपैयाँ विनियोजन गर्दै आएको बताए। यति ठुलो बजेट कृषिमा विनियोजन गर्ने वैजनाथ गाउँपालिका मात्र भएको उनको दाबी छ। ‘वार्षिक ६ देखि ७ करोड बजेट छुट्याएर किसानका लागि विभिन्न कार्यक्रम ल्याएर उनीहरूलाई यान्त्रिकरणसँग जोडेका छौं, कृषिका नयाँ–नयाँ प्रविधिसँग जोडेका छौं’, शाहीले नागरिकसँग भने, ‘हामीले किसानलाई प्रोत्साहन गरेका छौं, यसको प्रतिफल किसानले पक्कै पनि दिनुहुनेछ, प्रतिफल विस्तारै देखिने छ।’

जनताले तिरेको करको सही सदुपयोग गरेर गाउँपालिकाले कृषि क्षेत्रमा लगानी गरेको उनी बताउँछन्। अध्यक्ष शाहीले थपे, ‘हामीले दिएको कृषि यान्त्रीकरणबाट किसानले समयमै खेती गर्न पाउनुभएको छ, उत्पादन गरेको वस्तुलाई हामीले दिएको ई–लोडिङ रिक्साबाट बजारमा लगेर बेच्न पाउनुभएको छ, यो नै हाम्रो लागि खुसीको कुरा हो।’ 

कृषि शाखा प्रमुख प्रमोदकुमार विश्वकर्माले फर्म दर्ता गरेर कृषि कर्म गरिरहेका वास्तविक किसानलाई गाउँपालिकाले हरेक वर्ष अनुदान दिँदै आएको बताए। अनुदान वितरण गर्नुअघि गाउँपालिकाले सार्वजनिक सूचनामार्फत प्रस्ताव आह्वान गरेर विभिन्न प्रक्रिया पूरा गर्ने गरेको जानकारी दिए।

किसानसँग पालिका प्रमुख कार्यक्रमले साना, मझौला र ठुला किसानलाई समेटेर ७० प्रतिशत अनुदान तथा गरिब तथा विपन्न वर्गका किसानलाई पूर्ण अनुदानमा सामान दिएको उनले बताए। ‘गाउँपालिकाले दिएको अनुदानलाई किसान दाजुभाइले सदुपयोग गर्नुभएको छ’, शाखा प्रमुख विश्वकर्माले भने। विगत तीन वर्षदेखि नियमित रूपमा सञ्चालन भएको कार्यक्रमले अधिकांश किसानलाई समेटेको र सबै किसान खुसी भएको उनले बताए। 

‘किसानसँग पालिका प्रमुख कार्यक्रमले हामीजस्ता निम्न र मध्यम वर्गका किसानलाई ठुलो राहत गरेको छु’, वैजनाथ– ८ का किसान पन्नेलाल थारूले भने, ‘अब खेत जोत्नका लागि गोरु र हलो जुवा आवश्यक परेन, यही मिनी टिलरको मद्दतले जोत्न सकिने भयो।’ गाउँपालिकाले उनलाई ७० प्रतिशत अनुदानमा मिनी टिलर दिएको हो।

प्रकाशित: २४ असार २०८२ ०९:१० मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App