१४ पुस २०८२ सोमबार
image/svg+xml
समाज

रसुवामा भीषण बाढी : मितेरी पुल बगायो, चार चिनियाँसहित एक नेपाली बेपत्ता

छिमेकी राष्ट्र चीनतर्फ अबिरल वर्षाका कारण भोटेकोशी नदीमा बाढीले रसुवाको टिमुरे क्षेत्रमा ठुलो क्षति भएको छ।

लेदोसहितको ठुलो बाढीले चार चिनियाँसहित एक नेपाली बेपत्ता भएको आशंका गरिएको इन्टर मोडेल ट्रान्सपोर्ट डेभलोपमेन्टका कार्यकारी निर्देशक आशिष गजुरेलले नागरिकन्युजलाई जानकारी दिएका छन्। साथै बाढीमा रसुवाका धेरै मानिसहरू फसेका र उद्धारको फर्काइमा रहेका उनले बताए।

यस्तै बाढीले नेपाल-चीन जोड्ने मितेरी पुल बगाएको छ भने नदी किनारमा रहेको भन्सारको यार्ड (ड्राइपोट)मा पनि व्यापक क्षति गरेको छ। भन्सार पासका लागि तयारी अवस्थामा रहेका गाडी तथा मालबाहक कन्टेनरहरू बाढीले बगाएको रसुवाका प्रहरी नायब उपरीक्षक हेमबहादुर शाहीले नागरिकन्युजलाई जानकारी दिए। 

यस्तै बाढी आएपछि भन्सार क्षेत्रमा रहेका मानिसको उद्धार गर्न जाने क्रममा ११ जना उद्धारकर्मी नै फसेका सहायक प्रमुख जिल्ला अधिकारी द्रुवप्रसाद अधिकारीले जानकारी दिए। हेलिकप्टरमार्फत उनीहरूको उद्धार गर्न नेपाली सेनालाई अनुरोध गरिएको र बाढीले के कति क्षति पुर्यायो भन्ने सम्बन्धमा तथ्याङ्क सङ्कलन भइरहेको पनि उनले जानकारी दिए।

बाढी आज बिहान अन्दाजी ३:१५ बजे आएको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ।

बाढी रातिको समयमा आएकाले कतिपय मानिसहरू समेत बगाएको हुनसक्ने आशंका गरिएको प्रहरी नायब उपरीक्षक शाहीले बताए। बाढीसँगै पुल बगाएसँगै नेपाल–चीन स्थलमार्ग अवरुद्ध बनेको छ।

प्राधिकरणका अनुसार नदीमा पानीको बहाव अझै उच्च गएकाले तल्लो तटीय क्षेत्रमा बसोबास गर्ने सम्पूर्ण नागरिकलाई सूचीत गरिएको छ।

प्रकाशित: २४ असार २०८२ ०७:४० मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App