सर्लाही प्रहरीले पराल बोकेको ट्रकबाट ठूलो परिणाममा काजु बरामद भएको छ ।
सर्लाहीको बागमती नगरपालिका वडा नम्बर १२ स्थित चेकपोस्ट नजिक परालको भुस बोकेको ट्रकलाई शंकाको आधारमा नियन्त्रणमा लिएर चेक जाँच गर्दा करिब ३० बोरा काजु बरामद गरेको हो ।
सर्लाहीको मदनपुर बजारबाट काठमाडौंतर्फ जाँदै गरेको ग २ ख १४१८ नम्बरको मिनी ट्रकमा तस्करीको काजु आउँदै गरेको बागमती प्रहरी चौकीमा सूचना आएको थियो ।
इलाका प्रहरी कार्यालय कर्मैयाका प्रमुख प्रहरी नायब निरीक्षक सुभाष यादवको नेतृत्वमा खटिएको टोलीले आइतबार बिहान करिब ११ बजे चेकजाँचका क्रममा उक्त ट्रकको तल्लो भागमा करिब दस क्विन्टल काजु लोड गरेर माथिबाट परालको भुस लोड गरेर लुकाइ छिपाइ राखेको अवस्थामा बरामद गरिएको काजुको तौल तथा मूल्य भने प्रहरीले सार्वजनिक गरिएको छैन ।
प्रहरीले ट्रकसहित बरहथवा नगरपालिका–१३ बसबरीया घर भएका ५६ वर्षीय ट्रक चालक राजवंशी झालाई नियन्त्रणमा लिएको छ । पक्राउ परेका चालकसहित ट्रक र काजु इलाका प्रहरी कार्यालय कर्मैयामा राखिएको छ । काजु कसको र कुन नाकाबाट तस्करी भएर आएको हो खुल्न सकेको छैन । यस बिषयमा गहन रुपमा अनुसन्धान भइरहेको इप्रका कर्मैया बागमतीका प्रमुख सई सुबास यादवले बताए ।
प्रकाशित: २२ असार २०८२ १३:३१ आइतबार