तिब्बती समुदायमा धार्मिक नेता दलाई लामाको ९० औ जन्मदिन मनाइएको छ ।
आइतबार बिहान लाजिम्पाटस्थित तिब्बती शरणार्थी कार्यालय (टिबेटिएन रेफ्युजी वेलफेयर अफिस) मा मनाइएको थियो ।
नेपालको प्रशासनलाई कुनै जानकारी नदिई उनको जन्मदिन मनाइएको थियो । जन्मदिन मनाउनका लागि नेपालमा रहेका युरोपेली युनियनका कूटनीतिज्ञहरूको पनि उपस्थिति रहेको थियो ।
नेपाल स्थित अमेरिकी, बेलायती, अस्ट्रेलियाली राजदूतावासका प्रतिनिधि, संयुक्त राष्ट्रसंघीय उच्चायुक्तको कार्यालय (यूएनएचसीआर) का प्रतिनिधि लगायत सहभागी भएका थिए । कार्यक्रममा दलाई लामाको सन्देश सुनाइएको थियो ।

भारतस्थित धर्मशालामा पनि दलाई लामाको जन्मदिन भव्य रुपमा मनाइएको थियो । नेपालमा बसोबास गर्दै आएका तिब्बती समुदाय ९शरणार्थी०ले आफ्ना धार्मिक नेता दलाई लामा (तेन्जिन ग्यात्सो) को ९० औं जन्मदिन हो । तेन्जिन ग्यात्सो १४ औं दलाई लामा हुन । नेपालमा शरणार्थीका रुपमा रहेका तिब्बती समुदायले ललितपुरको जाउलाखेल र बौद्धमा पनि कार्यक्रमको आयोजना गरी धार्मिक नेता दलाई लामाको जन्मदिन मनाएका छन् ।

तर यो विषयमा नेपालको प्रशासन भने अनभिज्ञ रहेको छ । नेपाल एक चीन नीतिको समर्थन गर्ने भएकाले दलाई लामाको जन्मदिन मनाउन नेपाल सरकारले अनुमति दिने गरेको छैन । निर्वासनमा रहेका तिब्बती समुदायले स्वतन्त्र तिब्बतको वकालत गर्दै आएका छन् । नेपालमा हरेक वर्ष यसरी नै दलाई लामाको जन्मदिन मनाइने गरिएको छ ।
को हुन् दलाई लामा ?
विकिपिडियामा उल्लेख भए अनुसार १४ औं दलाई लामाको जन्म ६ जुलाई, १९३५को उत्तर–पूर्वी तिब्बतको ताकस्तेर क्षेत्रमा येओमान परिवारमा भएको थियो । दुई वर्षको उमेरमा उनलाई तिब्बती बौद्ध धर्मका सर्वोच्च नेता १३ औं दलाई लामाको पुनर्जन्मको रूपमा चिन्हित गरिएको थियो ।

तेन्जिङ ग्यात्सो (६ जुलाई, १९३५ – वर्तमान) चौधौँ दलाई लामा आध्यात्मिक गुरू हुन् । दलाई लामा एक मंगोलियाई पदवी हो । जसको अर्थ ज्ञानको महासागर र दलाई लामाको वंशज करूणा, अवलोकेतेश्वरको बुद्धको गुणहरूको साक्षात् रूप भएको मानिन्छन् । सन् १९५९ मा चीनले तिब्बतमाथि कब्जा जमाएपछि उनी भारतमा निर्वासित भएका थिए । ‘तिब्बती पहिचानको रक्षा गर्न अहिंसात्मक संघर्ष’ गरेको भन्दै उनलाई सन् १९८९ मा नोबेल शान्ति पुरस्कार प्रदान गरिएको थियो ।
प्रकाशित: २२ असार २०८२ १३:१८ आइतबार