पृथ्वीराजमार्गअन्तर्गत तनहुँको खैरेनीटारबाट करिब सात किलोमिटर दूरीमा प्रसिद्ध धार्मिक पर्यटकीयस्थल तीनखोले मन्दिर छ। शक्तिपीठका रूपमा परिचित तीनखोले मन्दिरमा पूजाअर्चना र भाकल गर्नेको पछिल्लो समय घुइँचो लाग्ने गरेको छ।
तीनखोले देवी भक्तजनको विश्वास र आस्थाको केन्द्र बन्न थालेपछि विभिन्न जिल्लाबाट धार्मिक पर्यटक आउने गरेका छन्। तीन वर्षअघि मन्दिर जाने बाटो साँघुरो, जीर्ण र हिलाम्मे हुँदा यात्रीले कठिन र जोखिमपूर्ण यात्रा गर्थे। अहिले यहाँ पुग्ने पूर्वाधारसहित सडक निर्माण भएपछि स्थानीयको दैनिकी फेरिएको शुक्लागण्डकी नगरपालिका–६ का जय पाण्डेले बताए।
पर्यटकीय सम्भावना बोकेको यो मन्दिरको विकासका लागि स्थानीय तह र सङ्घीय सरकारले लगानी गरी पूर्वाधार विकासले तीव्रता पाएसँगै यो क्षेत्रमा सकारात्मक परिवर्तन आएको उनको भनाइ छ।
पक्की नालासहित सडक स्तरोन्नति र कालोपत्र भएपछि मन्दिर आवतजावतमा सहज हुनुका साथै धार्मिक पर्यटकको सङ्ख्या दिनदिनै बढ्दै गएको शुक्लागण्डकी–६ मा तीन वर्षअघि झाँगाझोली भिलेज रिसोर्ट सञ्चालन गर्दै आएका उज्वल पौडेलले बताए। यहाँ रिसोर्ट सञ्चालनमा आएसँगै आगन्तुकलाई बस्न, खान समस्या नरहेको उनको भनाइ छ।
सडक विस्तार, रिसोर्ट सञ्चालनलगायत पूर्वाधार विकासले धार्मिकस्थल तीनखोले मन्दिरमा भक्तजनको घुइँचो बढ्न थालेको पौडेलले बताए। उनका अनुसार रिसोर्ट र मन्दिर पर्यटकका लागि एकापसमा पर्यायवाची जस्तै बनेका छन्।
पृथ्वीराजमार्गको खैरेनीटारबाट साढे दुई किमी दूरीमा झाँगाझोली पुगिन्छ। झाँगाझोलीबाट तीनखोले मन्दिर पुग्न करिब पाँच किमी यात्रा गर्नुपर्छ। तीन जनाको लगानीमा सञ्चालित यो रिसोर्ट करिब बीस रोपनी क्षेत्रफलमा रु दुई करोडभन्दा बढी लगानीमा निर्माण गरिएको पौडेलले बताए। उनका अनुसार यहाँ पर्यटकीय दृष्टिकोणले आकर्षक र मनमोहक भौतिक संरचना बनाइएको छ।
रिसोर्ट नजिकै बग्ने कुम्लेखोलामा ड्याम बनाएर सुन्दर ताल निर्माण गरी ढुङ्गा सञ्चालनमा ल्याउने योजना रहेको पौडेलले बताए। उनले भने, ‘झाँगाझोलीमा शुक्लागण्डकी–सुनकोशी सूचना केन्द्र स्थापना गरिएको छ, जसले सिन्धुली र तनहुँको धार्मिक, ऐतिहासिक र सांस्कृतिक क्षेत्रको पर्यटन प्रवर्द्धनमा महत्त्वपूर्ण भूमिका खेल्नेछ।’ उनका अनुसार सिन्धुली जिल्लामा रहेको झाँगाझोलीको झल्को दिनेगरी तनहुँको शुक्लागण्डकीमा झाँगाझोलीको अवधारणासहित रिसोर्ट सञ्चालनमा ल्याइएको हो।
यहाँको प्रसिद्ध धार्मिकस्थल तीनखोले मन्दिर र झाँगाझोली रिसोर्टले धार्मिक र पर्यटकीय गन्तव्यका रूपमा विकास हुँदै गएको शुक्लागण्डकी–६ का पाण्डेले बताए। उनले भने, ‘पर्यटन प्रवर्द्धनमा झाँगाझोली र तीनखोले मन्दिरबीच प्रगाढ सम्बन्ध बन्दै गएको छ। मन्दिरमा आएका पर्यटक झाँगाझोली जान्छन् भने झाँगाझोली आएका पर्यटक मन्दिर पुगेर पूजाअर्चना गरी फर्किन्छन्।’
झाँगाझोली रिसोर्ट सञ्चालनमा आउनुअघि दरगाउँ क्षेत्रका बासिन्दा एक्लै हिँड्न डराउँथे, जङ्गलको बाटो भएर हिँड्नुपर्दा, वनमा घाँस, दाउरा लिन जाँदा समूहमा जानुपर्ने बाध्यता थियो।
पाण्डेले भने, ‘अहिले स्वर्गजस्तै बनेको छ, मानिसको चहलपहल बढेको छ, स्थानीयको जीवनशैलीमा परिवर्तन आएको छ।’ अहिले विकासले गति लिएसँगै आवतजावतमा सहज हुनुका साथै स्थानीयले विकासको अनुभूति गरेका उनको भनाइ छ। ‘छोटो अवधिमा छुट्टै पहिचान बनाएको यो धार्मिक र पर्यटकीय गन्तव्यले स्थानीयको आर्थिकस्तर र रोजगारीका अवसर वृद्धि गरेको छ।’
सडक डिभिजन कार्यालयबाट रु एक करोड बजेट विनियोजन भएपछि तीनखोले मार्गको खैरेनीटार–झाँगाझोली खण्डमा सडक स्तरोन्नति र कालोपत्र भएसँगै विकासले फड्को मारेको र पर्यटकलाई आवागमनमा सहज भएको छ।
आर्थिक वर्ष २०८०/८१ मा सहरी विकास मन्त्रालयबाट झाँगाझोली–दरगाउँ सडक स्तरोन्नतिका लागि रु ३५ लाख, आव २०८१/८२ मा रु ५० लाख बजेट विनियोजनपछि निर्माण सम्पन्न भएको छ।
आगामी आव २०८२/८३ का लागि रु ५० लाख बजेट विनियोजन भएको झाँगाझोली भिलेज रिसोर्ट प्रालिका प्रबन्ध निर्देशक शङ्करप्रसाद अधिकारीले बताए। तीनखोले मार्ग र झाँगाझोली–दरगाउँ सडक मार्गलाई सङ्घीय सरकारले उच्च प्राथमिकता दिएपछि स्थानीय हर्षित भएका छन्। उनले भने, ‘विकाससँगै परिवर्तन र पर्यटनको क्षेत्रमा चहलपहल हुँदा अर्थतन्त्र चलायमान भएको छ।’
झाँगाझोली प्राकृतिक सुन्दरताले भरिपूर्ण छ। वरिपरि हरियो घनाजङ्गल, सङ्लो कुम्ले खोलाको सुसेली, दरगाउँस्थित कोट मन्दिर, नजिकैको घुमाउने झरना, विभिन्न प्रजातिका चराचुरुङ्गीको बासस्थान, प्रसिद्ध तीनखोले देवी मन्दिर, झाँगाझोली क्षेत्रका विभिन्न मठमन्दिरले यो क्षेत्रलाई धार्मिक पर्यटकीय गन्तव्य बनाएको छ।
चालु आर्थिक वर्षको जेठ मसान्तसम्म ५० हजारभन्दा बढी पर्यटकले झाँगाझोली अवलोकन गरेको प्रबन्ध निर्देशक अधिकारीले बताए। ‘सडक कालोपत्र भएसँगै पर्यटकको आगमन बढेको छ,’ उनले भने, ‘दैनिक पाँच-छ सयको हाराहारीमा पर्यटक तीनखोले मन्दिर र झाँगाझोली घुम्न आउने गरेका छन्।’
मन्दिरमा पर्यटकको आवागमन बढेपछि रात्रिकालीन बसाइँका लागि झाँगाझोली भिलेज रिसोर्टले आरामदायी बासको व्यवस्था गरेको अधिकारीको भनाइ छ। एकपटकमा ४०–५० जनालाई सेवा दिन सकिने रिसोर्टले जनाएको छ।
विभिन्न जातका फलफूलको बगैंचा, सयौं प्रजातिका जडिबुटी उद्यान, विभिन्न जातजातिले प्रयोग गर्ने लोपोन्मुख सामग्रीसहितको सङ्ग्रहालय, प्रदर्शनी र बिक्री कक्ष, सातवटै प्रदेशका विशिष्ट सामग्रीको प्रदर्शनी, प्रादेशिक कोसेली घर, विभिन्न प्रजातिका रुखविरुवा, धार्मिक महत्त्वका मठमन्दिर झाँगाझोलीका विशेषता हुन्।
गोरखाबाट घुम्न आएका मङ्गलबहादुर नेपालीले भने, ‘पर्यटकीय गन्तव्यको सम्भावना बोकेको ठाउँ रहेछ, जहाँ अवलोकन गरेर भरपूर मनोरञ्जन लिन सकिन्छ। यसको थप प्रवर्द्धन गरी पर्यटकीय गतिविधिसँगै स्थानीयको आयस्तरमा वृद्धि गर्न सकिन्छ।’
झाँगाझोलीस्थित सिन्धुली–सुनकोशी गाउँपालिका निवासी ९० वर्षीया गौरादेवी दाहालको नामबाट निर्मित गौरादेवी नेचुरल हर्वल पार्क पनि आकर्षक गन्तव्य बनेको छ। विभिन्न किसिमका जडिबुटीबारे अध्ययन, अनुसन्धान गर्नेका लागि यो अध्ययन केन्द्र बनेको छ।
पछिल्ला केही वर्षयता तीनखोले मन्दिर र झाँगाझोली पर्यटन प्रवर्द्धनका लागि कोसेढुङ्गा बनेको शुक्लागण्डकी–६ का वडाध्यक्ष बुद्धि थापाले बताए। उनले भने, ‘खैरेनीटारबाट तीनखोले मार्ग हुँदै झाँगाझोली–दरगाउँ सडक मार्ग भएर पुनः खैरेनीटार निस्कने गरी रिङरोड निर्माण गर्न लागिएको छ, जसले यो दूरी अझ छोटो बनाउनेछ।’
खैरेनीटारबाट तीनखोले मन्दिरसम्मको सात किमी सडकमध्ये करिब पाँच सय मिटरबाहेक ढलान र कालोपत्र गरी यातायातमा सहज बनाइएको शुक्लागण्डकी नगरपालिकाका प्रमुख कृष्णराज पण्डितले बताए। उनले भने, ‘नगरपालिकाभित्रका धार्मिक, ऐतिहासिक, सांस्कृतिकलगायत पर्यटकीय क्षेत्रको विकास र प्रवर्द्धनका लागि नगरपालिकाले प्राथमिकतामा राखेर काम गर्दै आएको छ।’ सानेबहादुर नेपाली/रासस
प्रकाशित: २२ असार २०८२ ०८:१९ आइतबार