१३ चैत्र २०८२ शुक्रबार
image/svg+xml
समाज

नालामा पुल भाँचियो : राजधानी जाने वैकल्पिक सडक अवरुद्ध

काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका ४ र १ को सीमामा रहेको पुल गए राति भाँचिएपछि यो सडकखण्डमा यातायात पूर्ण रूपमा अवरुद्ध भएको छ।

काभ्रेपलाञ्चोकको नाला र भक्तपुरको च्यामासिङ सडकखण्डमा पर्ने यो सडक पूर्वबाट राजधानी काठमाडौं जाने वैकल्पिक मार्गका रूपमा प्रयोग हुँदै आएको थियो।

यो पुल सन् २०३७ मा बनेको जनाइएको छ। स्थानीय शान्तलाल श्रेष्ठका अनुसार आज बिहान मालबाहक गाडी पुल पार गरेलगत्तै ४५ वर्षअघि बनेको यो पुल भाँचिएको हो। पुल भाँचिएपछि यो सडकखण्ड अवरुद्ध भएको छ। यो बाटो प्रयोग गरी राजधानी जाने र राजधानीबाट मध्यपूर्वतिर बाहिरिने सवारीलाई पूर्ण रूपमा रोक लगाइएको छ।

हाल अरनिको राजमार्गको भक्तपुरको सूर्यविनायकदेखि काभ्रेपलाञ्चोकको धुलिखेलसम्म सडक विस्तार भइरहेकाले दुई वर्षदेखि राजमार्गमा गुड्ने धेरैजसो सवारी नाला–च्यामासिङ सडकखण्ड प्रयोग गर्दै आएका थिए। जिल्ला ट्राफिक कार्यालय बनेपाले भक्तपुरबाट यो सडकखण्डमा सवारी नपठाउन भनेको र बनेपाबाट राजधानीतिर जाने सवारी बनेपामा रोकिएको जनाएको छ। 

कार्यालय प्रमुख प्रहरी निरीक्षक सुनिल धाँजूले यो सडकखण्ड अस्थायी रूपमा सञ्चालन गर्न सडक विभाग र स्थानीय तहसँग समन्वय भइरहेको जानकारी दिए। रासस

प्रकाशित: २१ असार २०८२ ०८:०२ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App