१३ चैत्र २०८२ शुक्रबार
image/svg+xml
समाज

ललितपुर महानगरको सहयोगमा महालक्ष्मी मन्दिरमा चाँदीको अलङ्कार

ललितपुर महानगरले महालक्ष्मीथानस्थित महालक्ष्मी मन्दिरमा चाँदीको अलङ्कार राख्न ३४ केजी ३०० ग्राम चाँदी सहयोग गरेको छ। महानगरले शुक्रबार काठमाडौंमा एक कार्यक्रमबीच महालक्ष्मीथान व्यवस्थापन समितिलाई हस्तान्तरण गरेको हो। व्यवस्थापन समितिले मन्दिरमा पित्तलको ठाउँमा चाँदीको अलङ्कार बनाउन लागेको हो।  

महानगरले हस्तान्तरण गरेको उक्त चाँदी जीटुजी मार्फत राष्ट्र बैंकसँग खरिद गरेर हस्तान्तरण गरेको महानगरका प्रमुख चिरीबाबु महर्जनले बताए। महानगरले बिहीबारको बजार भाउअनुसार चाँदी खरिद गरेको हो।  

बजार भाउ अनुसार चाँदी प्रतितोला २१ सय ७० रुपैयाँ छ। चाँदी तोलामा रूपान्तरण गर्दा २९ सय ४१ तोला हुन आउँछ। यसरी हिसाब गर्दा महानगरले महालक्ष्मी मन्दिरलाई ६३ लाख ८१ हजार ९७० रुपैयाँ बराबरको चाँदी हस्तान्तरण गरेको हो।  

व्यवस्थापन समितिले मन्दिरमा चाँदीको अलङ्कार राख्न गरेको प्रयासलाई सहयोग गर्न पाउँदा प्रमुख महर्जनले खुसी व्यक्त गरे।  

प्रमुख महर्जनका अनुसार महानगरले चाँदी नै हस्तान्तरण गरेको यो पहिलो पटक हो। प्रमुख महर्जनले पैसा दिनुको साटो चाँदी नै उपयुक्त हुने भन्दै चाँदी सहयोग गरेको जानकारी दिए।  

प्रमुख महर्जनले चाँदीको अलङ्कार राख्ने काममा कुनै पनि कमीकमजोरी नदेखिने गरेर काम गर्न व्यवस्थापन समितिलाई अनुरोध गरे।  

‘काममा कसैले आलोचना नआउने गरी काम गर्नुहोस्, छिटोभन्दा छिटो सम्पन्न गर्नुहोस्,’ प्रमुख महर्जनले भने। त्यस्तै प्रमुख महर्जनले जे काम गरिन्छ, त्यसमा पारदर्शी भएर काम गर्दा कसैले औंला नउठाउने बताए।  

महानगरका प्रमुख प्रशासकीय अधिकृत रेखा दासले महानगरले सम्पदा र संस्कृतिमा उदाहरणीय काम गर्दै आएको बताइन्।  

‘हामीले सम्पदा र संस्कृतिमा गरेको उदाहरणीय काम देखेर अन्य पालिकाहरू हामीसँग सिक्न आउँछन्। तपाईंहरूले कसरी काम गरिरहनु भएको छ भनेर भन्छन्, यसले हामीलाई थप उत्साह मिल्छ,’ उनले भनिन्।  

प्रमुख प्रशासकीय अधिकृत दासले महालक्ष्मी मन्दिरका लागि सहयोग गरेर इँटा थप्ने अवसर पाएकोमा खुसी व्यक्त गरिन्।  

ललितपुर महानगर वडा नं ५ का वडाध्यक्ष विकासमान श्रेष्ठले महालक्ष्मी मन्दिरलाई चाँदीले अलङ्कार गर्न भक्तजनबाट मात्रै एक-डेढ करोड उठिसकेको बताए। महानगरले पनि त्यस कार्यमा सहयोग गरेकोमा उनले धन्यवाद व्यक्त गरे। चाँदीको अलङ्कार व्यवस्थापन समितिका संयोजक द्वारिका नाथ खनालका अनुसार अहिलेसम्म विभिन्न उद्योग व्यवसायी, संस्था, भक्तजनबाट सहयोग जुटिरहेको छ। चाँदीको अलङ्कारमा कुनै पनि अपारदर्शिता नहुने बताउँदै उनले हरेक कुरा पारदर्शी हुने प्रतिबद्धता जनाए।  

ज्यापू समाजका अध्यक्ष एवम् समितिका सल्लाहकार सन्तमान महर्जनले महालक्ष्मी मन्दिर विगतका दिनमा भन्दा धेरै व्यवस्थित बन्दै गएको र यसमा सबैको ठूलो योगदान रहेको जानकारी दिए।  

मन्दिरलाई थप सुन्दर बनाउन चाँदीको अलङ्कार राख्न लागिएको र त्यसमा सबैको सहयोगको अपेक्षा राखिएको छ। यसमा ज्यापू समाजको आवश्यक सहयोग रहने प्रतिबद्धता व्यक्त गरे।

प्रकाशित: २१ असार २०८२ ०६:५९ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App