राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेको पक्षमा जारी अभियानमा हस्ताक्षर गरेको भन्दै नेपाल प्रहरीका ट्राफिक सई कमल खड्कामाथि छानबिन सुरु भएको छ ।
सभापति लामिछाने हाल सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरण जस्ता गम्भीर आरोपमा भैरहवा कारागारमा छन् । उनलाई सानो पाइला सहकारी ठगी प्रकरणमा पर्सा जिल्ला अदालतमा मुद्दा दायर भएको छ ।
जिबी राई जोडिएका सहकारीको रकम अपचलनमा लामिछानेको पनि संलग्नता रहेको भन्दै उनीमाथि अहिले अनुसन्धान भइरहेको छ। यही सन्दर्भमा रास्वपाले लामिछानेमाथिको कारबाही राजनीतिक प्रतिशोधबाट प्रेरित भएको भन्दै दबाबस्वरुप नागरिक स्तरबाट हस्ताक्षर अभियान चलाइरहेको छ ।
तर, यही अभियानमा नेपाल प्रहरीका ट्राफिक सई खड्काले हस्ताक्षर गरेको तस्बिर सामाजिक सञ्जालमा भाइरल भएपछि जिम्मेवारी खोस्दै प्रहरी प्रधान कार्यालयमा झिकाएर उनीमाथि अनुसन्धान सुरु भएको हो ।
प्रकाशित: २० असार २०८२ १७:२४ शुक्रबार





