जनता समाजावादी पार्टीका मधेश प्रदेशका अध्यक्ष अशोक यादवविरुद्ध जिल्ला प्रहरी कार्यालयले अपराधिक उपद्रवविरुद्ध जाहेरी लिएर अदालतबाट पक्राउ पुर्जी जारी भएको छ। बिहीबार राति जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रमुख एसपी योगेन्द्रकुमार खड्कालाई धम्काएपछि आज दिउँसो सर्लाही प्रहरीले उनीविरुद्ध जाहेरी लिएपछि अदालतबाट पक्राउ पुर्जी जारी गरेको हो।
अध्यक्ष यादवले टेलिफोनमा अपशब्द प्रयोग गर्दै एसपीलाई लुटेरा भन्दै धम्क्याएका थिए। सर्लाहीमा पछिल्लो समय तस्करी नियन्त्रणमा प्रहरी सक्रिय भएपछि विवाद पनि चुलिँदै गएको हो । जिल्लामा तस्करीको नाममा निर्दोष नागरिकलाई मुद्दामा फसाउने र असली तस्करलाई जोगाइएको आरोप खेप्दै आएको प्रहरीमाथि अध्यक्ष यादवले अपशब्द प्रयोग गरेका थिए । बिहीबार राति जिल्ला प्रहरी प्रमुख एसपी खड्कासँगको विवादमा जसपा नेपालका मधेश प्रदेश अध्यक्ष अशोक यादवले अश्लील शब्द प्रयोग गर्दै धम्की दिएका थिए।
अध्यक्ष यादवले प्रहरी प्रशासनमाथि खुलेर आरोप लगाउँदै आएका छन्। एसपीलाई मधेशमा लुट्न आएको भनेपछि विवाद चर्केको थियो। यादवले गुण्डागर्दी शैलीमा धम्की दिएका छन्।
यो पनि पढ्नुहोस्
एसपीलाई धम्की दिएपछि नेता यादवलाई पक्राउ गर्न जाँदा डिएसपीको गाडी तोडफोड
सर्लाहीमा वर्षौंदेखि तस्करीको जालो बलियो रहेको छ। सीमावर्ती क्षेत्र भएकाले यहाँ साना व्यापारीदेखि उच्चस्तरीय तस्करहरू सक्रीय छन्। यादवले प्रहरीमाथि गम्भीर आरोप लगाएपछि एसपी रिसाएका थिए। तुलनात्मक रूपमा कार्यसम्पादन राम्रो भएका एसपी खड्कालाई धम्की दिएपछि दुवै पक्ष आवेशमा आएको देखिन्छ। ‘हरेक असार महिनामा अध्यक्ष यादवले आतंक सिर्जना गर्ने गरेका छन् । उनले सबै जसो सरकारी कार्यालयमा धम्क्याउने गर्छन्,’ एक कर्मचारीले सलाहीबाट भने।
जसपा नेता अशोक यादवजस्ता प्रदेशस्तरका नेताले खुलेआम प्रहरीमाथि आरोप लगाउनु र त्यसको प्रतिउत्तरमा प्रहरी प्रमुखले पनि कडा प्रतिक्रिया दिएका थिए। प्रहरीले राति नै उनलाई पक्राउ गर्न खोजेको थियो। तर प्रहरीमाथि ढुंगामुढा प्रहार भएपछि फर्केको थियो।
यो पनि पढ्नुहोस्
सर्लाहीका एसपीलाई जसपाका अध्यक्ष यादवको धम्की
प्रकाशित: २० असार २०८२ १६:२० शुक्रबार





