२६ असार २०८२ बिहीबार
image/svg+xml
समाज

सहायक रथि खड्का भ्रष्टाचार आरोपमा बर्खास्त

नेपाली सेनाका सहायक रथि रोशन खड्का र मेजर बोधराज कार्कीलाई बर्खास्त गरिएको छ । सैनिक विशेष अदालतले भ्रष्टाचार गरेको ठहर गर्दै बर्खास्त गर्ने आदेश दिएको हो । नेपाली सेनाका प्रवक्ता सहायक रथि राजाराम बस्नेतका अनुसार उनीहरुलाई सैनिक अनुशासन, आचारसंहिता र सम्पत्ति सम्बन्धी कसुरमा सैनिक अदालतले बर्खास्त गर्ने आदेश गरेको हो । 

सैनिक अदालतले उनीहरुलाई सैनिक कल्याणकारी कोषमा भ्रष्टाचार गरेको ठहर गरेको छ । ‘सैनिक अनुशासन, आचारसंहिता र सम्पत्तिसम्बन्धी कसुरमा सैनिक ऐन, २०६३ को दफा १०१ बमोजिम भविष्यमा सरकारी सेवामा अयोग्य नठहरिने गरी सेवाबाट बर्खास्त गर्ने फैसला सैनिक अदालतबाट भएको छ,अपचलन भएको रकमसमेत दुवै जनाबाट असुलउपर गर्ने पनि फैसलामा उल्लेख छ’, प्रवक्ता बस्नेतले भने । 

अदालतले २ करोड २१ लाख ८५ हजार ५१५ रुपैयाँ ४८ पैसा हिनामिना भएको ठहर गरेको छ । सैनिक अदालतले सेनाको जमदारबाट अवकाश भइसकेका आत्मराम थापा र सेनानीबाट अवकाश भएका लक्ष्मण अधिकारीलाई पनि दोषी ठहर गरेको छ 

कल्याणकारी निर्देशनालय अन्तर्गत आवास तथा बिमा शाखामा आर्थिक वर्ष २०७८/७९ र २०७९/८० मा अनियमितता विषयमा महासेनानी उत्तम सापकोटाको नेतृत्वमा ‘कोर्ट अफ इन्क्वाइरी बोर्ड’ गठन गरेर छानबिन थालिएको थियो । उनीहरुलाई यो फैसला विहिबार नै सुनाइएको थियो । महासेनानी सापकोटाको नेतृत्वमा गठित कोर्ट अफ इन्क्वाइरीले तत्कालीन आवास तथा बिमा शाखामा कार्यरत सेनानी समीर गुरुङ, प्युठ टीकाराम गोतामे र जमदार रवीन्द्र लुंगेलीको मिलेमतोमा आर्थिक अपचलन भएको प्रारम्भिक निष्कर्ष निकालेको थियो । गुरुङ भने विदेश पुगिसकेको स्रोतले जनाएको छ ।

प्रकाशित: १९ असार २०८२ १८:२१ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App