१३ पुस २०८२ आइतबार
image/svg+xml
समाज

असनको ऐतिहासिक ‘इटाचापा’ पुनःनिर्माण

काठमाडौं महानगरपालिका–२७ असनस्थित ऐतिहासिक र सांस्कृतिक महत्वको ‘इटाचापा’ पुनःनिर्माण सम्पन्न भएको छ। विसं २०७२ वैशाख १२ गतेको भूकम्पले क्षतिग्रस्त सो इटाचापा एक वर्षमै पुनःनिर्माण सम्पन्न गरिएको हो ।

भूकम्पको नौ वर्षपछि गत वर्ष असारमा पुनःनिर्माण सुरु गरिएको थियो । गुठी संस्थानअन्तर्गतको सो इटाचापा भूकम्पले क्षति गरेपछि कसले बनाउने भन्नेमा अन्योल  थियो ।

महानगरअन्तर्गतको सम्पदा भएकाले वडाको पहलमा पुनःनिर्माण सुरु गरी तोकिएको समयभन्दा दुई वर्ष अगावै सम्पन्न भएको वडा अध्यक्ष योगेशकुमार खड्गीले जानकारी दिए। ऐतिहासिक महत्वको यो भवन करबाहेक रु दुई करोड ४९ लाख ३७ हजार ५७२ पैसा २५ मा पुनःनिर्माण गरिएको हो । तीन वर्षमा भवन पुनःनिर्माण सम्पन्न गर्ने गरी ठेक्का लगाइएको थियो ।

यो भवनमा प्रत्येक वर्ष दसैँको टीकाको भोलिपल्ट कुमारीलाई खाना खुवाउने परम्परा छ । यसलाई नेवारी भाषामा ‘मरजा’ भनिन्छ । टीकाको भोलिपल्ट यहाँ अन्नपूर्ण देवीको जात्रा चलाइन्छ । विसं २०४० सम्म ल्हासाबाट सामान ल्याउने व्यापारी १० दिनसम्म यहाँ ‘क्वारेन्टाइन’ बस्ने गरेका थिए । लामो समय ल्हासा पुगेर सामान ल्याएपछि केही रोग लाग्नसक्ने सम्भावनालाई रोक्न १० दिनसम्म व्यापारी यहाँ ‘क्वारेन्टाइन’ बस्ने परम्परा देखेको वडाध्यक्ष खड्गीले बताए।  

 भवन भत्काउनुअघि माथिल्लो तलामा सांस्कृतिक गतिविधिसहित असन सेवा समिति र अन्नपूर्ण गुठीको कार्यालय थियो । भुइँ तलामा पसल सञ्चालन हुने गरेको थियो । पसलको भाडा गुठी संस्थानले लिने गरेको छ । यो गुठी भवन अन्नपूर्ण मन्दिरको सांस्कृतिक गतिविधिसँग सम्बन्धित रहेको जनाइएको छ ।

प्रकाशित: १९ असार २०८२ १८:१६ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App