१४ चैत्र २०८२ शनिबार
image/svg+xml
समाज

बस बगाउने विनयी खोलामा नयाँ पुल सञ्चालनमा, चल्न थाले गाडी

नवलपरासी पूर्वमा पर्ने विनयी खोलामा भाँचिएको पुल ६ महिनाभित्रै बनेर सञ्चालनमा ल्याइएको छ । बिहीबारदेखि नयाँ पुलमाथि बाटै सवारी साधन चल्न थालेका छन्।

पूर्वपश्चिम राजमार्गअन्तर्गत बुटवल–नारायणगढ सडक खण्डको दुम्कीबासस्थित विनयी खोलामा रहेको फलामे पुल गत पुस २६ गते भाँचिएको थियो । विनयी त्रिवेणी गाउँपालिका–१ मा सोपछि अस्थायी रुपमा डाइभर्सनमार्फत सवारी चल्दै आएका थिए ।

वर्षाको समयमा खोलामा बाढी आएपछि डाइभर्सनमार्फत् सवारी चलाउन समस्या हुँदै आएको थियो । सोही स्थानमा गत असार ६ गते बाढीले यात्रुवाहक बस बगाएको थियो  ।

२४५ मिटर लामो र ७.५ मिटर चौडाइको पुल निर्माण कम्पनीले ६ महिनामै सम्पन्न गरेको हो । पुलमा फुटपाथसमेत निर्माण गरिएको छ। 

बिहीबारदेखि सोझै विनयी पुलबाट सबै गाडी गुड्न थालेको बुटवल–नारायणगढ सडक आयोजना पूर्वी खण्डका प्रमुख इन्जिनियर ईश्वर बहादुर रिजालले जानकारी दिए । उनका अनुसार बिहीबार मध्याह्न १२ बजेदेखि पक्की पुलबाट यातायात सञ्चालन भएका हुन् ।  

२१ करोडका लागतमा २४५ मिटर लम्बाइको पुल बनेको छ । यहाँबाट एक पटकमा १०० टनमात्र मालसामान ढुवानी हुन सक्ने आयोजना पूर्वी खण्डका सूचना अधिकारी इन्जिनियर शिव खनालले जानकारी दिए ।  पुलबाट यातायात सञ्चालन भएपछि मालबाहक गाडी समेत यहि पुल हुँदै वारपार गरेका छन् । बिहीवारबाट डाइभर्सन हुँदै आउजाउ गर्नुपर्ने बाध्यता हटेको छ । पानी पर्नासाथ बाढीले डाइभर्सन बगाउने बाध्यता समेत थियो ।  

आयोजनाका अनुसार अहिलेसम्म ९ पटक बाढीले डाइभर्सन बगाएको छ । पूर्वी सडकखण्डमा ३४ वटा पुल रहेका छन् । त्यसमध्ये ३१ वटा पुल निर्माण भइसकेको खनालले जानकारी दिए । उनका अनुसार जयश्री, गिरुबारी र अरुणखोलामा पुल निर्माण हुँदैछ । यस सडक खण्डको सास्ती भने अझै बाँकी छ । दाउन्ने सडक खण्डको १४ किलोमिटर सडकमा पानी पर्ना साथ गाडी फस्ने हुँदा घण्टौँ जाममा पर्नुपर्ने बाध्यता यथावत छ । यस सडकखण्डको प्रगती ६९ प्रतिशत भएको छ । यसको म्याद साउन ८ गते सकिन्छ ।

प्रकाशित: १९ असार २०८२ १४:३७ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App