असार सकिन केही दिन बाँकी रहँदा सुर्खेतमा उद्योग तथा उपभोक्ता हित संरक्षण निर्देशनालयले उद्योगीहरूलाई सुर्खेतमा भेला गरेर १० लाख सक्ने तयारी गरेको छ । असारको २० गतेदेखि २२ गतेसम्म हतार हतारमा वीरेन्द्रनगरमा १० जिल्लाका उद्यमीहरूको उत्पादनहरू प्रदर्शनी गरेर १० लाख रकम खर्च गर्न लागेको हो ।
कर्णालीका दुर्गम जिल्लाका उद्यमीहरू बर्षातको मौसम भएकाले आउजाउ गर्न कठिन हुने समयमा पनि निर्देशनालयले बजेट सक्न असार अन्त्यतिर प्रदर्शनी मेला गर्न थालेको भन्दै ब्यवसायीहरुबाट आलोचना समेत भएको छ । उद्यमीहरूका लागि बजार व्यवस्थापन गर्न सहज हुने उद्देश्यले प्रदर्शनी मेला गर्न लागे पनि मौसम ठिक नभएको भन्दै विभिन्न सरोकारवालाहरूले विरोध समेत गरेका छन् ।
प्रादेशिक औद्योगिक प्रदर्शनी २०८२ मा कर्णालीका १० वटै जिल्लाबाट उद्यमी आउने सबैभन्दा बढी सुर्खेतबाट सहभागी हुने जनाइएको छ । लघु, घरेलु तथा साना उद्योगबाट उत्पादित बस्तु तथा सेवाको प्रदर्शनी र प्रचारप्रसार गर्ने उद्देश्य रहे पनि प्रतिकुल मौसममा उद्यमीहरूलाई वीरेन्द्रनगरमा आउजाउ गर्न कठिन हुने भन्दै विरोध समेत भएको छ । हतार मानसिकताबाट बजेट सक्ने ध्यानले असारमा प्रतिकुल मौसममा उद्यमीहरूलाई प्रदर्शनीका नाममा सुर्खेतमा बोलाइनुले सन्देश राम्रो नजाने उद्योग वाणिज्य महासङ्घ कर्णाली प्रदेशका अध्यक्ष पदम शाहीले बताए।
बाहिरबाट आएका उद्यमीलाई ४० वटा स्टल बनाइने र २५ वटा लघु औद्योगिक ग्रामका उद्यमीहरूको सामाग्री प्रदर्शनी हुने उद्योग तथा उपभोक्ता हित संरक्षण निर्देशनालयले जनाएको छ ।
उद्योग तथा उपभोक्ता हित संरक्षण निर्देशनालयले प्रदर्शनीका बारेमा समन्वय बैठकमा समयअनुकुल नभएकाले रोक्नुपर्ने आवाज समेत उठेको थियो । उद्यमीहरूले उत्पादन गरेको बस्तु प्रवर्धन गर्न, बजार व्यवस्थापन गर्न सरकारले छुट्टाएको बजेट कार्यान्वयन गर्नका लागि प्रादेशिक औद्योगिक प्रदर्शनी गर्न लागिएको उद्योग तथा उपभोक्ता हित संरक्षण निर्देशनालयका निर्देशक देवीलाल सापकोटाले बताए ।
प्रकाशित: १८ असार २०८२ १५:१७ बुधबार





