औद्योगिक प्रदूषणका कारण ‘मृत नदी’ मा परिणत भएको वीरगंजको सिर्सिया नदी र यसको सभ्यता जोगाउन स्थानीय सरकार, प्रशासन र उद्योगीहरू एकै ठाउँमा जुटेका छन्।
केमिकलयुक्त कालो पानी बग्ने नदीको पहिचान बनाएको सिर्सियालाई पहिलेकै स्वच्छ अवस्थामा फर्काउन सरोकारवालाहरूले तत्काल ठोस कदम चाल्ने प्रतिबद्धता व्यक्त गरेका छन्।
उद्योग विभागले मंगलबार वीरगंजमा आयोजना गरेको ‘सिर्सिया नदीको सरसफाइ तथा संरक्षण’ सम्बन्धी अन्तरक्रियामा बोल्दै वीरगंज महानगरपालिकाका प्रमुख राजेशमान सिंहले नदीको स्वास्थ्य निरन्तर बिग्रँदै जाँदा सिर्सिया सभ्यता र संस्कृति नै लोप हुने अवस्थामा पुगेको भन्दै चिन्ता व्यक्त गरे।
उनले नदीको जलको गुणस्तर सुधार गर्नु अब अपरिहार्य भइसकेको सुनाए।
कार्यक्रममा पर्सा र बाराका प्रमुख जिल्ला अधिकारीहरू गणेश अर्याल र वसन्त अधिकारी, जितपुर-सिमरा उपमहानगरपालिकाका प्रमुख राजन पौडेल, उद्योग वाणिज्य संघ पर्सा र बाराका अध्यक्षहरू क्रमशः हरि गौतम र मोहन शर्मा लगायतका सरोकारवालाहरूको उपस्थिति थियो।

उनीहरूले सिर्सियाको वर्तमान अवस्थाप्रति गम्भीर चिन्ता व्यक्त गर्दै यसको संरक्षणका लागि एकीकृत प्रयासको आवश्यकतामा जोड दिएका छन्।
छलफलमा सहभागीहरूले सिर्सिया नदीमा बढ्दो प्रदूषणलाई नियन्त्रण गर्नुपर्ने, विशेष सरसफाइ अभियान चलाउनुपर्ने र दीर्घकालीन संरक्षण रणनीति बनाएर कार्यान्वयन गर्नुपर्नेमा जोड दिए।
औद्योगिक फोहोरको प्रभाव न्यूनीकरण गर्ने प्राविधिक उपायसहितको कार्ययोजना बनाउनुपर्ने विषयलाई पनि बैठकमा महत्वका साथ उठाइएको थियो।
कार्यक्रमले सिर्सिया नदीलाई स्थायी रूपमा स्वच्छ बनाउन र मानिसहरूले पहिले जस्तै नुहाउन सक्ने अवस्थामा फर्काउन सबै निकायबीच सहकार्य र स्पष्ट नीति निर्माणको आवश्यकता रहेको निष्कर्ष निकालेको छ।
स्थानीयवासी र वीरगंजका बुद्धिजीवीहरूले लामो समयदेखि उठाउँदै आएको सिर्सिया सफाइको आवाजलाई यो पहलले सम्बोधन गर्ने आशा जगाएको छ।
प्रकाशित: १७ असार २०८२ २०:३५ मंगलबार





