१९ माघ २०८२ सोमबार
image/svg+xml
समाज

विश्वप्रकाशको ‘ऐना’को दोस्रो सिजन असार २० देखि, देशको प्रगति र बेथिति उजागर गरिने

नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माको कार्यक्रम ‘ऐना’ असार २० गतेदेखि प्रसारण हुने भएको छ । महामन्त्री शर्मा प्रस्तोता रहने ‘ऐना’ को दोस्रो संस्करण विकास निर्माणका मुद्दालाई केन्द्रमा राखेर तयार पारिएको हो ।

निर्देशक प्रकाश लामिछानेका अनुसार मंगलबार विज्ञप्तिमार्फत भनेका छन्, ‘समुन्नतिको यात्रामा नेपाल कहाँ पुगेको छ ? कहाँ छुटेको छ ? हुनुपर्ने प्रगति के भएको छ र हुनु–नपर्ने बेथिति किन भएको छ ? प्रश्न र गुनासा किन उब्जिएका छन्, सम्भावना र नवीन आशा के–कस्ता छन् ? देशको विभिन्न कुना पुगेर तयार गरिएका सामग्रीका साथ कार्यक्रम ऐनाको दोस्रो सिजनमा उपस्थित छौँ ।’

लामिछानेले पहिलो संस्करणका प्रस्तोता विश्वप्रकाश शर्माले नै दोस्रो संस्करण पनि सञ्चालन गर्ने जानकारी दिँदै दोस्रो संस्करणमा कांग्रेस महामन्त्री शर्माले जनप्रतिनिधिकै रूपमा संवाद गरे बताएका छन् । ‘राजनीतिकर्मीकै रूपमा सरोकारवालाहरूको प्रश्न सुन्नुहुनेछ, अनि संसदको रोस्ट्रमबाट झैँ सरकारलाई पनि प्रश्न गर्नुहुनेछ र समाधानका सूत्र खोजीसाथ छलफल चलाउनुहुनेछ,’ उनले भने ।

साहित्य लेखनमा रुचि राख्ने महामन्त्री शर्मा शब्दमा सङ्गीत पनि भर्ने गर्छन् । पछिल्लो समय हिमाल आरोहीका रुपमा पनि शर्माले परिचय बनाएका छन् । छापा माध्यममा सम्पादक रहिसकेका शर्मासँग रेडियो र टेलिभिजन कर्मको अनुभव पनि छ ।

कार्यक्रम ऐनाको पहिलो सिजनमा सामाजिक विसंगतिविरुद्ध रूपान्तरणका पक्षमा थियो । बालश्रम, जातीय विभेद, घरेलु हिंसा, सार्वजनिक स्थलमा हुने दुर्व्यवहार, एसिड आक्रमण लगायतका विसङ्गतिबाट नेपाली समाजले भोगिरहेको पीडालाई केन्द्रीय बहसमा ल्याइएको थियो । साथै निराकरणका लागि जनचेतना जगाउने र सम्बन्धित सबैलाई घच्घच्याउने प्रयास पनि भएको थियो।

निर्देशक लामिछानेले ‘ऐना’ केवल एउटा टेलिभिजन शो नभई समुन्नतिको दिशामा एउटा बुलन्द आवाज भएको बताए। ‘कमजोरी पहिचान गर्दै, सच्याउन जोडबल गरौँ, गर्न बाँकी धेरै कर्म छन्, तिनलाई हासिल गर्ने सङ्कल्प गरौँ, त्यही यात्रामा जोडबल गर्ने कार्यक्रम ‘ऐना’ को दोस्रो सिजनमा पनि पहिलो सिजनमाझैं तपाईँको उत्तिकै माया पाउने, विश्वास हामीले लिएका छौँ,’ लामिछानेले भने ।

लामिछानेले कार्यक्रमका प्रायोजक नेपाली व्यवसायीको नेपालभित्रकै उत्पादनसँग अघिल्लो सिजनजस्तै यसपटक पनि जोडिएको बताए। कार्यक्रम ‘ऐना’ कान्तिपुर टेलिभिजन र ओएसआर रियालिटीमार्फत प्रसारण हुनेछ ।

प्रकाशित: १७ असार २०८२ १६:५९ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App