१४ चैत्र २०८२ शनिबार
image/svg+xml
समाज

दुई हजार बढी परिवारलाई निःशुल्क ‘मिटरबक्स’ वितरण

पूर्वी चितवनका कालिका र राप्ती नगरपालिकाका पहाडी भेगमा बस्ने विपन्न समुदायलाई निःशुल्क विद्युत्को ‘मिटरबक्स’ वितरण गर्न थालिएको छ।

नेपाल विद्युत् प्राधिकरण टाँडी वितरण केन्द्रले दुई हजार ४९७  परिवारलाई निःशुल्क मिटरबक्स वितरण गर्न लागेको हो। केन्द्रका प्रमुख राजेन्द्रकुमार चौधरीका अनुसार कालिका–९, १० र ११ का बासिन्दामध्ये विपन्न समुदायलाई मिटरबक्स बाँड्न थालिएको छ।

यसैगरी राप्ती–१०, ११ र १२ का विपन्न समुदायलाई मिटरबक्स वितरण गर्न निवेदन आह्वान गरिएको छ। कालिका नगरपालिकामा १९५ परिवारलाई मिटरबक्स वितरण गरिएको छ। अन्यलाई क्रमशः वितरण गर्दै जाने उनको भनाइ छ।

मिटरबक्स जडान गर्दा आवश्यक पर्ने मिटर, तार र एमसिबी पनि निःशुल्क प्रदान गरिएको छ। चौधरीका अनुसार ती दुई पालिकामा मिटरबक्स वितरणका लागि प्राधिकरणले १ करोड २० लाख रुपैयाँ खर्च गर्दैछ। वितरण हुने मिटरबक्स पाउने अधिकांश चेपाङ समुदायका छन्।

उनीहरूले मासिक २० युनिटसम्म विद्युत् खपत गर्दा ३० रुपैयाँ तिर्नुपर्छ। चौधरीले भने, ‘अति विपन्न परिवारलाई मिटरबक्स जडान थालेका छौं, विद्युत् शुल्क भने तिर्नुपर्छ।’ लक्षित वर्गलाई छिटो मिटरबक्स जडानका लागि वडाध्यक्षमार्फत सहजीकरण गर्न अनुरोध गरिएको छ।

निवेदन प्राप्त भएपछि मिटरबक्स जडान गरिनेछ। यसअघि इच्छाकामना गाउँपालिकाको पहाडी भूभागमा बस्नेलाई मिटरबक्स निःशुल्क वितरण गरिएको थियो।  

प्रकाशित: १७ असार २०८२ १२:४१ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App