८ माघ २०८२ बिहीबार
image/svg+xml
समाज

किसानका खेत बाँझै, सामाजिक सञ्जालमा रोपाइँ

बदलिँदो असार १५

नेपाल कृषिप्रधान देश हो भनेर हामीले पुस्तौंदेखि सुन्दै आइरहेका छौं। अझ असार १५ अर्थात् राष्ट्रिय धान दिवस त किसानको श्रम, माटोको सुवास र वर्षाको संगीतसँग गाँसिएको पर्वसरह मानिन्छ। तर पछिल्ला वर्षहरूमा यो फिका बन्दै गएको छ।

किनकि किसानका खेतहरू बाँझै छन्। सामाजिक सञ्जालमा हरियाली छाएको छ। तस्बिरहरू देखाउनै लागि मात्र पनि पोस्ट गरिएका छन।

राष्ट्रप्रमुख रामचन्द्र पौडेलबाट शुभकामना मात्र होइन, खेतमा कोदालो चलाएका तस्बिर र भिडियो सामाजिक सञ्जालमा छाएका छन्। त्यस्तै मलसमेत दिन नसक्ने मन्त्री र नेताहरूले दिएका भाषण र शुभकामनाले सञ्जाल भरिएको छ। यस्तो लाग्छ, ‘टचस्क्रिन’ मा धान रोपिन थालेको छ, माटोले हात चुम्न छाडेको छ।

पहिला यस्तो थिएन, त्यतिबेला असार १५ आउनु भनेको गाउँका किसानका लागि उत्सवभन्दा कम हुन्नथ्यो। बिहानको पानीले भिजेको खेतमा लाठेको कोदाली रोपारका भाकासँगै बालबालिकाको छपछपीले असार रौनकमय बन्थ्यो।

यी सबै दृश्य ग्रामीण जीवनशैलीका अमूल्य झझल्काहरू थिए। ‘किसानहरूले बिहानै उठेर गोरु जोतेर खेत तयार पार्थे। परिवारका सबै सदस्य, छरछिमेकका साथीभाइ एउटै खेतमा भेला भएर रोपाइँ गर्थे,’ विगतको रोपाइँ कल्पना गर्दै सिन्धुपाल्चोक मेलम्चीका केशव चौलागाईं भन्छन्, ‘धान रोप्दाको थकान पनि हुन्थ्यो, मानो रोपेको खुसी पनि हुन्थ्यो।’

डेढ दशकदेखि राजधानीमा बस्दै आएका उनले त्यसपछि रोपाइँको रमाइलो देख्न छाडेको सुनाए। ‘सहरमा त देखिएन नै,’ उनले भने, ‘गाउँघरतिर पनि जमिन बाँझै हुन थाले।’

रोप्ने लाठेजति खाडी जाँदा गाउँका खाडी खेत बाँझै रहेको उनले सुनाए। ‘गाउँमा रहनेले रोपिहाले भने पनि मल पाउँदैनन्,’ उनले भने, ‘मल र बिउको अभावमा पनि खेत बाँझो हुन थाल्यो।’

त्यस्तै भनाइ राख्छन्, नुवाकोट घर भई हाल राजधानीमा बस्दै आएका विमल अधिकारी पनि। गोरु लगाएर धान रोपेको सम्झँदै उनले अब त्यो सपनाजस्तो लागेको सुनाए।

‘त्यो समयको रोपाइँमा दुःख पनि थियो तर त्यसमा एउटा आत्मीयता भेटिन्थ्यो,’ उनले भने, ‘त्यसमा सामूहिकता थियो र भविष्यप्रतिको आशा पनि।’

असारमा रोपिएको धानबाट सालभरिको सपना पालिने गरेको उनले सुनाए। ‘त्यो बेला धानसँगै सपना रोपिन्थ्यो,’ उनले भने, ‘परिवारको पेट भर्ने, छोराछोरीको स्कुल खर्च टार्ने, बा–आमाको औषधि किन्ने र दसैंमा नयाँ कपडा फेर्ने सपना।’

तर आजको असार १५ नारामा सीमित बनेको छ। कृषिमा लगानी नगरेको, आधुनिक प्रविधि भित्र्याउन नसकेको र समयमै मल र सिँचाइ नपुगेको देशले आत्मनिर्भरता केवल कागजमा मात्रै सीमित बनेको छ।

चालु आर्थिक वर्ष २०८१/८२ को ११ महिनामा करिब ३९ अर्ब रुपैयाँको धान–चामल आयात हुनु त्यसको ज्वलन्त उदाहरण हो।

सात लाख मेट्रिक टनभन्दा बढी चामल आयात भएको छ, भारत, अमेरिका, जापान, इटाली, थाइल्यान्ड, नामिबियाजस्ता देशहरूबाट।

मसिनो, बास्नादार, स्वादिलो विदेशी चामल नेपालीको भान्सामा पसिसकेको छ। नेपालीले प्रतिवर्ष एक सय २१ किलो चामल चाहिनेमा एक सय ३८ किलो उपभोग गरिरहेको तथ्यांक सार्वजनिक भएको छ।

यसो हुनुमा एकातिर खेतीयोग्य जमिन बाँझिएको छ, अर्कातिर खेतमा खटिने उमेरका युवा बिदेसिएका छन्। जसका काँधमा रोपाइँको कोदाली हुन्थ्यो, उनीहरू अहिले कतार, मलेसिया, दुबईका निर्माण साइटहरूमा पसिना बगाइरहेका छन्।

बाँकी गाउँमा रहेका वृद्ध, महिला र बालबालिकाको मात्र भरोसामा खेती सम्भव छैन। ‘असारे भाका पनि अब मोबाइलमै सुनिन थालेको छ,’ थलीका आत्माराम पुडासैनी भन्छन्, ‘हेर्दाहेर्दै खेत र खेती हरायो।’

त्यसो त सबैतिर खेती सकिएको छैन। परम्परागत खेती प्रणाली अझै पनि कायम छ। उन्नत बिउ, समयमै मलको आपूर्ति, सिँचाइको सुविधा र आधुनिक यन्त्रहरूको अभावले गर्दा उत्पादन घट्दो छ।

अहिले प्रतिहेक्टर धान उत्पादन ४.२ मेट्रिक टनमा सीमित छ। विज्ञहरू भन्छन्, ‘उत्पादन ६ टन पुर्‍याउन सकियो भने आयात घट्न सक्छ तर त्यसका लागि राज्यको स्पष्ट नीति र कार्यान्वयन क्षमता हुनु जरुरी छ।’

सरकारले चैते धान प्रवद्र्धन, उन्नत बिउ वितरण, मल अनुदान र २२ जिल्लामा धान विस्तार कार्यक्रम ल्याएको छ। यो सन्दर्भमा ३३ करोड रुपैयाँ लगानी गरिएको बताइएको छ।

लक्ष्य छ, १२ लाख मेट्रिक टन धान उत्पादन बढाउने। तर किसानका खेतसम्म पुग्न नसक्दा, व्यवस्थापकीय कमजोरी र मध्यवर्गीय उपभोगको प्रवृत्ति बढ्दा यस्ता योजनाहरू अक्सर असफल हुन पुग्छन्।

त्यसैले अब समय आएको छ, धान दिवसलाई केवल एक दिनको उत्सवमा सीमित नबनाएर वर्षभरको योजनाको स्थायित्वमा जोड दिने। अब युवालाई कृषि रोजगारीसँग जोड्नुपर्छ, जसका लागि कृषिमा उद्यमशीलता, सहकारी प्रणालीको सुदृढीकरण र न्यूनतम समर्थन मूल्यको ग्यारेन्टी आवश्यक छ।

‘धानको बिउ छरेर सपना उमार्ने’ पुराना किसानहरूलाई फेरि खेतमा फर्काउन सक्दैनौं होला, विमल अधिकारी थप्छन्, ‘तर त्यो श्रम र सम्मानको भावना नयाँ पुस्तालाई हस्तान्तरण गर्न सके, आत्मनिर्भर नेपालको सपना टाढा छैन।’

प्रकाशित: १५ असार २०८२ २१:४३ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App