२८ भाद्र २०८३ आइतबार
image/svg+xml
समाज

राष्ट्रपतिले धान रोपे, किसानले आँसु पुछे

जब राष्ट्रपति रामचन्द्र पौडेल धान दिवसको अवसरमा क्यामेराको प्रकाशमा रोपाइँ गर्दै थिए, ठिक त्यति नै बेला देशको अन्न भण्डार मानिने मधेसका किसान भने मल र पानीको अभावमा छटपटाइरहेका थिए।

आइतबार रोपाइँ शुभारम्भ गर्दै राष्ट्रपति पौडेलले कृषिलाई आधुनिकीकरण गर्दै जीवन निर्वाहको आधार मात्र नभएर व्यावसायिक बनाउनुपर्ने बताएका थिए।

यता, कृषिको आधुनिकीकरणबारे शीतल निवासबाट भाषण गुन्जिरहँदा, मधेसका किसान भने सुक्खा खेतमा मल र पानी खोजिरहेका थिए। परम्परागत खेतीका लागि समेत न्युनतम आधार नहुँदा उनीहरुको छटपटी बढेको थियो।

राष्ट्रपतिको औपचारिक रौनकले खेतको वास्तविकतालाई छोप्न सकेन। सामाजिक सञ्जालमा कयौँ नेता, अभिनेता र विभिन्न सङ्घसंस्थाका हिलो खेलेका तस्बिरले भरिँदा वास्तविक किसान भने चर्को घामले सुक्दै गएको धानको ब्याड हेरेर चिन्तामा डुबेका छन्।

रौतहटको गढीमाई नगरपालिका, संग्रामपुरका नरेन्द्र ठाकुर सुक्दै गएको धानको बेर्ना हेरेर पुर्पुरोमा हात राख्न बाध्य छन्।

उनी जस्तै सर्लाहीको बलरा नगरपालिकाका नवीन चौधरीको पीडा पनि उस्तै छ। ‘अहिलेसम्म ब्याड रोपाइँका लागि तयार हुनुपर्ने हो, तर सुख्खा र रोगले बेर्ना नै सखाप हुने अवस्थामा छ,’ चौधरीले चिन्ता व्यक्त गरे।

यो दिवस वास्तविक किसानका लागि नआएको किसानहरूको गुनासो छ। सर्लाहीको गोडैताका राजेश ठाकुर भन्छन्, ‘वास्तविक किसानलाई मल र पानीको समस्याले सताएको छ। तर सामाजिक सञ्जालमा विभिन्न वर्गले धान रोपेको अभिनय गरेको देख्दा अचम्म लाग्छ। यो किसानको उपहास हो।’

यो निराशा तथ्याङ्कमा पनि देखिन्छ। धान दिवसको दिनसम्म देशभर करिब १६ प्रतिशत रोपाइँ हुँदा मधेस प्रदेशमा भने जम्मा ३.९ प्रतिशत खेतमा मात्रै धान रोपाइँ भएको छ।

मधेस प्रदेशमा धान खेती हुने ३ लाख ८० हजार २८३ हेक्टर जमिनमध्ये जम्मा १४ हजार ७८५ हेक्टरमा मात्र रोपाइँ हुनुले किसानको दयनीय अवस्थालाई उजागर गरेको छ।

नागरिक समाज रौतहटका सचिव विजयकिशोर झाले गैरकिसानले रमाइलोका लागि धान दिवस मनाउनु किसानको पेशामाथिको उपहास भएको बताए।

यस्तै, सर्लाहीका रामचन्द्र महतो कुशवाहाले धान दिवस केवल औपचारिकता र बजेट खर्च गर्ने माध्यम बनेको तर किसानका मुद्दा सम्बोधन हुन नसकेको टिप्पणी गरे।

विडम्बना, धान दिवसकै दिन विभिन्न औपचारिक कार्यक्रममा सहभागी नेताहरूले समेत किसानको समस्या स्वीकारेका छन्। नेपाली कांग्रेसका मधेश प्रदेश सभापति कृष्णप्रसाद यादवले गौरमा रोपाइँ कार्यक्रममा सहभागी हुँदै किसानले समयमा मल नपाएको स्वीकार गरे र सरकार गम्भीर बन्नुपर्ने बताए।

असार १५ को दिन केही वर्षा भएपछि किसानमा थोरै आशा पलाए पनि मलको अभाव र सिँचाइको अनिश्चितताले उनीहरूको मुहारमा खुसी भने छाउन सकेको छैन।

सरकारी तथा गैरसरकारी संस्थाले तामझामका साथ दिवस मनाइरहँदा वास्तविक किसानमा भने यसको कुनै उत्साह देखिँदैन।

प्रकाशित: १५ असार २०८२ १८:५८ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App