असार १५ राष्ट्रिय धान दिवस पर्व हो। यो दिनलाई नेपाली समाजमा दही र च्यूरा खाने पर्वका रूपमा पनि लिइन्छ। दहीच्यूराले शरीरमा शक्ति सञ्चय हुने मान्यता छ। त्यसैले रोपाइँको मध्य भागमा दही चिउरा खाने चलन बसेको हो। झमझम पानीमा भिजेर दही चिउरा खानेको सङ्ख्या पनि उत्तिकै भेटिन्छ।
दही भन्ने बित्तिकै भक्तपुरको जुजुधौ र चिउरा भन्ने बित्तिकै बोडेको टिगनीको याद आउँछ। परम्परागत ढङ्गबाट बन्दै आएका दही र चिउराले सिङ्गो मुलुकमा लोकप्रिय थियो। कुनै बेला यसलाई नेपालकै मिठो दही चिउरा मानिन्थ्यो र भक्तपुरमा परम्परागत तरीकाबाट दही बन्ने प्रक्रिया जारी छ। दहीको स्वाद अझै कायम छ। तर टिगनीमा परम्परागत हिसाबले चिउरा कुट्न छाडिएको छ। नजिकैको बोडेमा भने मेसिन प्रयोग गरेर टाइचिन चिउरा किन्नेको भने भीड रहन्छ। चिउराको स्वाद अन्य ठाउँको तुलना अझै मिठो रहेको पारखीको अनुभव छ । त्यसैले बोडेको टाइचिन चिउरा भनेर मार्ट र मलमा पनि बिक्री गर्ने गरिन्छ । यी चिउरा विदेशमा समेत निर्यात हुन्छन् ।
कसरी बनाइन्छ दही र चिउरा ?
हाम्रो संस्कृतिमा दहीको स्थान महत्त्वपूर्ण छ। शुभ कार्यका लागि घरबाहिर निस्कने, विदेश जाने आदि महत्त्वपूर्ण काम गर्नुअघि दही अक्षता मिसाएर निधारमा रातो टीका लगाउने परम्परा छ। यस्ता शुभ काममा निस्कनुअघि सगुनका रूपमा पनि दही खुवाएर बिदाइ गरिन्छ। निस्कने बेलामा दही खाएर हिँडे साइत पर्ने जनविश्वास रहिआएको छ। भक्तपुरस्थित अजिमा दही भण्डारका सञ्चालक गणेशकुमार न्याखुसी दही बनाउने परम्परागत तरीका, यहाँको हावापानी र दूधको गुणस्तरमा सम्झौता नगरिएकाले जुजुधौै लोकप्रिय भएको बताउँछन्। परम्परागत तरीकाबाट बनाइँदै आएको दही बनाउने प्रक्रियामा अझै पनि फरक नआएको उनले सुनाए। जुजुधौ तयार पार्न चारदेखि पाँच घण्टा समय लाग्ने उनले बताए। गाई वा भैसींको दूधलाई बाक्लो हुने गरी तताउने र त्यसपछि भुसमा बिच्छाइएका माटोको कतारोमा खनाएर जमिनमा सेलाउने प्रक्रियाबाट जुजुधौ तयार हुने उनी सुनाउँछन्।
त्यसै गरी बोडेका हरिन्द्र श्रेष्ठ टिगनीमा परम्परागत तरीकाले चिउरा कुट्ने चलन हराए पनि बोडेको टाइचिन चिउराको माग भने बढेको बताउँछन्। टाइचिन धानलाई भिजाएर, भुटेर कुटेको चिउरा निकै स्वादिलो हुने बताउँछन्। अहिले यहाँका चिउरा मिलहरूले आफैले धान कुटेर चिउरा बनाउँछन् भने दसैँको सिजनमा भने किसानले ल्याएको धान ज्याला लिएर कुट्ने गरेको बताउँछन्।
मध्य गर्मीको यो समयमा युवा लाठे र युवती रोपाहारले खेतका गराको हिलो छ्यापाछ्याप गरेर मनोरञ्जन गर्छन्। कामको चटारोले थकित किसान शक्ति प्राप्तिका लागि दहीच्यूरा खान्छन्। दहीच्यूराले शरीरमा शीतलता भई शक्ति सञ्चय हुने विश्वास गरिन्छ।
कामको चटारोले थकित भएका किसान शक्ति प्राप्तिका लागि दही चिउरा खान्छन्। यसबेला दही चिउराले शरीरमा शीतलता भई शक्ति सञ्चय हुने विश्वास गरिन्छ। असार १५ लाई नेपाली समाजमा दही चिउरा खाने पर्वका रूपमा पनि लिइन्छ। खेतीपातीबाहेक अन्य पेसा र व्यवसायमा लागेका नेपालीले पनि आज दही चिउरा खाई असार १५ मनाउँछन्।
दही–चिउरामा आँपको प्रवेश
विगतमा दही चिउरामा चिनी सख्खरको प्रयोग हुन्थ्यो । पछिल्लो समय दही चिउरामा आँप राखेर खाने प्रचलन बढेको छ । दही चिउरा खाने समयमा आँपको पनि मध्य सिजन हो । त्यसैले मिठो दही चिउरामा आँप मिसाएर खाने थुप्रै भेटिन्छन् ।
प्रकाशित: १५ असार २०८२ ०७:२७ आइतबार





