सर्लाहीतिरको बागमती नदीमा क्रसर लगाएर अवैध उत्खनन भइरहँदा सबै पक्ष मौन देखिएका छन् । सर्लाहीको बसबरिया गाउँपालिका १ र २ स्थित बागमती नदीमा अवैधरुपमा मोबाइल क्रसर नै खडा गरेर नदीमाथि चरम दोहन भइरहेको हो ।
बसबरिया १ को भैँसासुर घाटदेखि पश्चिमतिर बुढी बागमती र एकारसी खोलामा मोबाइल क्रसर संचालनमा रहेको छ । बागमती नदीको उकास जमिन रहेको ठाउँमा अवैधरुपमा क्रसर संचालन भइरहँदा सम्बन्धित पक्ष मौन रहेको पाइएको छ ।
गाउँपालिकाले नदी ठेक्कामा नलगाएको र असार १ गतेदेखि कानुनले नदीजन्य पदार्थको उत्खनन कार्य रोक्नुपर्ने भए पनि मोबाइल क्रसर चलिरहेको हो । गाउँपालिकाका पदाधिकारी तथा प्रहरी प्रशासनको मिलोमतोमा नै अवैध रुपमा क्रसर संचालन भइरहेको स्थानीयको आरोप छ ।
अहिले पनि बागमतीमा चारवटा मोबाइल क्रसर संचालनमा छन् । अवैधरुपमा क्रसर संचालन गर्दै उत्खनन गरिएका ढुंगा, गिटी र बोल्डर ओसारपसार गर्ने काम पनि धमाधम भइरहेको छ ।
बुढी बागमती र एकारसी खोलामा स्थानीय तीन जनाको मोबाइल क्रसर निर्वाध रुपमा चलिरहेको छ । कुनै एक पक्षको क्रसर बन्द गर्न खोज्दा अर्को पक्षले विरोध जनाउने गरेको कारण मोबाइल क्रसर उद्योग मिलोमतोमै संचालनमा रहेको देखिएको हो ।
नदीजन्य पदार्थको उत्खनन र ओसापसारमा संलग्न माफियाहरुले राज्यका सबै पक्षलाई प्रभावमा पारेर उत्खनन भइरहेको नदीजन्य पदार्थ भारत निकासा गर्ने गरेको स्थानीयको दाबी छ । निर्धक्क भएर माफियाहरुले भारतसम्म नदीजन्य पदार्थ पुर्याउनुले यसमा प्रहरीकै मिलेमतो भएको आशंका स्थानीयको छ ।
बसबरिया गाउँपालिकाका अध्यक्ष राम सिंहासन राय यादवले खोलामा अवैध कारोबार भइरहेको स्वीकार गर्दै आफ्नो कुनै पनि संलग्नता नरहेको बताए । चालु आर्थिक वर्षका खोलाको उत्खननका लागि ठेक्का नलगाएको भए पनि सम्बन्धित पक्षको मिलोमतोमा नै खोलाको उत्खनन अहिलेसम्म भइरहेको अध्यक्ष यादवले स्वीकार गरेका छन् । उनी भन्छन् “आफू जनप्रतिनिधि भएकोले न विरोध गर्न सक्छु र न त संलग्न नै हुन सक्छु ।” उत्खननका अगाडि आफू निरीह भएको अध्यक्ष यादवको भनाइ छ ।
यद्यपि इलाका प्रहरी कार्यालय बरहथवाका प्रमुख डिएसपी निरन्जन भट्टराईले भने आफूलाई कुनै जानकारी नभएको बताएका छन् । यसैगरी सर्लाहीका प्रमुख जिल्ला अधिकारी तुलसी बहादुर श्रेष्ठले आफूलाई थाहा नभएको भन्दै अनभिज्ञता प्रकट गरेका छन् ।
जिल्ला समन्वय समिति सर्लाहीका सभापति कौशल किशोर सिंहले गत जेठ ३० गते नै सबै ठाउँको उत्खननलाई असार १ गतेदेखि रोक्नुपर्ने निर्णय भई निर्देशन नै दिइएको बताए । सर्लाहीको कालिन्जोर खोलाका साथै बागमतीमा पनि अवैधरुपमा केही क्रसर उद्योग संचालनमा आएको सुनिएको थियो तर तत्काल बन्द गर्न निर्देशन नै दिइएको सभापति सिंहले जानकारी गराएका छन् । अहिले बागमती र एकारसी नदीमा भइरहेको उत्खननको बारेमा आफूलाई कुनै जानकारी नभएको बताउँदै कडा कारबाहीको लागि तत्काल निर्देशन दिने पनि जानकारी गराएका छन् ।
प्रकाशित: १३ असार २०८२ १८:५५ शुक्रबार





