सरकारी निर्देशन र कानुनी प्रावधानलाई बेवास्ता गर्दै सर्लाहीस्थित बागमती नदीमा अवैध उत्खननकार्यले तीव्रता पाएको छ।
असार १ गतेदेखि नदीजन्य पदार्थ उत्खननमा लगाइएको राष्ट्रव्यापी प्रतिबन्धका बाबजुद सर्लाहीको बसबरिया गाउँपालिका क्षेत्रमा मोबाइल क्रसर प्रयोग गरी खुलेआम नदीको दोहन भइरहेको छ।
उत्खननकार्यमा स्थानीय प्रशासन र जनप्रतिनिधिको समेत मौन समर्थन रहेको स्थानीयको आरोप छ।
बसबरिया गाउँपालिकाको वडा नम्बर १ र २ मा पर्ने भैँसासुर घाटदेखि पश्चिमतिरको बुढी बागमती र एकारसी खोलामा चारवटाभन्दा बढी मोबाइल क्रसर सञ्चालनमा छन्।
यी क्रसरहरूले अवैध रूपमा ढुंगा, गिटी र बोल्डर उत्खनन गरी ओसारपसार गरिरहेका छन्। गाउँपालिकाले चालु आर्थिक वर्षमा नदी उत्खननका लागि कुनै ठेक्का नलगाएको अवस्थामा पनि यो अवैध धन्दा निर्वाध चलिरहेको छ।
स्थानीय बासिन्दाहरूले यस अवैध उत्खननमा गाउँपालिकाका पदाधिकारी र प्रहरी प्रशासनको प्रत्यक्ष मिलेमतो रहेको आरोप लगाएका छन्।
उनीहरूका अनुसार, उत्खननमा संलग्न समूहले बाटोमा पर्ने इलाका प्रहरी कार्यालय बरहथवा, प्रहरी चौकी हजरिया, प्रहरी चौकी मानपुर तथा सशस्त्र प्रहरी बलको मनुसमारास्थित बेस क्याम्पलाई समेत आर्थिक प्रलोभनमा पारेर उत्खनन गरिरहेका हुन्। उत्खनन गरिएका नदीजन्य पदार्थ भारतसम्म तस्करी हुने गरेको स्रोतको दाबी छ।
बसबरिया गाउँपालिकाका अध्यक्ष राम सिंहासन राय यादवले आफ्नो क्षेत्रको नदीमा अवैध उत्खनन भइरहेको स्वीकार गरेका छन्।
उनले भने, ‘हो, खोलामा अवैध कारोबार भइरहेको छ, तर यसमा मेरो कुनै संलग्नता छैन। गाउँपालिकाले ठेक्का लगाएको छैन र मैले एक पैसा पनि लिएको छैन।’
आफू जनप्रतिनिधि भएकाले विरोध गर्न पनि नसक्ने र संलग्न पनि हुन नसक्ने भन्दै उनले उत्खनन रोक्न आफू ‘निरीह’ भएको बताए।
एकातिर गाउँपालिका अध्यक्षले उत्खनन भइरहेको स्वीकार गरिरहँदा, सुरक्षा निकाय र जिल्ला प्रशासन भने यसबारे अनभिज्ञ देखिन्छ।
इलाका प्रहरी कार्यालय बरहथवाका प्रमुख, डीएसपी निरन्जन भट्टराईले आफूलाई यसबारे कुनै जानकारी नभएको बताए। त्यसैगरी, सर्लाहीका प्रमुख जिल्ला अधिकारी तुलसी बहादुर श्रेष्ठले पनि यसबारे अनभिज्ञता प्रकट गरे।
यता, जिल्ला समन्वय समिति, सर्लाहीका सभापति कौशल किशोर सिंह गत जेठ ३० गते नै जिल्लाका सबै नदीनालामा असार १ देखि उत्खनन रोक्न निर्देशन दिइसकेको बताउँछन्।
‘कालिन्जोर र बागमतीमा अवैध क्रसर चलेको सुनेपछि तत्काल बन्द गर्न निर्देशन दिएका थियौँ,’ उनले भने, ‘अहिले पनि उत्खनन जारी रहेको बारे मलाई जानकारी छैन। यदि त्यसो हो भने तत्काल कडा कारबाहीका लागि निर्देशन दिन्छु।’
प्रकाशित: १३ असार २०८२ १८:५१ शुक्रबार





