१४ चैत्र २०८२ शनिबार
image/svg+xml
समाज

कोशीमा सिटी रिक्सा चालकले लाइसेन्स लिन लिखित परीक्षा दिनु नपर्ने

कोशी प्रदेशमा सिटी रिक्सा चालकले लाइसेन्स लिन लिखित परीक्षा दिनु नपर्ने भएको छ ।

कोशी प्रदेश सरकारको बुधबार बसेको बैठकले प्रदेश सवारी तथा यातायात व्यवस्था दोस्रो संशोधन नियमावली २०८२ लाई स्वीकृत गर्दै यस्तो व्यवस्था गरेको हो ।

कोशी प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुन मन्त्री रेवती रमण भण्डारीका अनुसार आज बसेको बैठकले यो नियमावली स्वीकृत गरेसँगै यातायात क्षेत्रमा रहेको विकृति विसङ्गति नियन्त्रण गर्न सजिलो हुने बताए । मन्त्री भण्डारीले यो नियमावलीपछि सिटी रिक्साको लाइसेन्स प्रक्रिया, त्यसको दर्ता प्रक्रिया, लाइसेन्स लिने प्रक्रियाहरूमा सुधार हुने आशा गरिएको बताए ।

मन्त्री भण्डारीले भने,‘यो नियमावलीले सिटी रिक्सा चालकले लिखित परीक्षा दिन नपर्ने, ट्राफिक नियम प्रशिक्षण लिनुपर्ने साथै सार्वजनिक सवारी साधनहरूले पञ्जीकृत हुनु नपर्ने व्यवस्था लगायतको विषयलाई समेटेको  छ ।’ त्यस्तै आजको बैठकले केही प्रदेश ऐनलाई संशोधन गर्न बनेको अध्यादेश २०८२ लाई प्रतिस्थापन गर्ने  बनेको विधेयक २०८२, प्रदेश सभामा पेश गर्ने निर्णय गरेको छ ।

यसै गरी सामाजिक सङ्घसंस्था ऐन २०७५ लाई संशोधन गर्न बनेको विधेयकलाई प्रदेश सभामा पेस गर्न  स्वीकृति दिइएको छ । त्यस्तै मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा कार्यरत सचिव पवनकुमार तिमल्सेनालाई प्रदेश लोकसेवा आयोगमा कामकाजका लागि खटाउने निर्णय भएको मन्त्री भण्डारीले जानकारी दिए ।

पाइडल रिक्सा विस्थापित गरेर सिटी रिक्सा सञ्चालनमा आएका कारण सिटी रिक्साको लाइसेन्स प्रक्रिया सहज बनाउनुपर्ने लिखित परीक्षाको साटो मौखिक परीक्षा र प्रयोगात्मक परीक्षाबाट लाइसेन्स लिने व्यवस्था गर्नुपर्ने लगायतका माग राखी सिटी रिक्सा चालकले विकल्पएण्ड अल्टरनेटिभ संस्थाको सहयोगमा विभिन्न दबाबमूलक कार्यक्रम गर्दै आएका थिए । 

प्रकाशित: १२ असार २०८२ १४:०० बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App