विश्वका अन्य महादेशभन्दा एसियाको सरदर तापक्रम दुई गुणाले बढेको पाइएको छ ।
विश्व मौसम विज्ञान संगठन (डब्लुएमओ)द्वारा सोमबार जारी गरिएको ‘स्टेट अफ क्लाइमेट इन एसिया–२०२४’ प्रतिवेदनले विश्वको सबैभन्दा ठूलो महादेश सबैभन्दा बढी द्रुत गतिमा तातो भइरहेको र तापमान वृद्धिको दर रोकिने कुनै सङ्केत नदेखिएको जनाएको छ ।
तापक्रम वृद्धिले यो महादेशमा चरम मौसमी घटना बढेका, जीवन र जीविकोपार्जन प्रभावित भएको, पारिस्थितिकिय प्रणाली र अर्थतन्त्रमा गम्भीर खतरा निम्तिएको प्रतिवेदनमा उल्लेख छ । यो क्षेत्रका कुनै पनि देश यो सङ्कटबाट मुक्त नरहेको प्रतिवेदमा औँल्याइएको छ ।
सन् २०२४ मा एसियाको औसत तापक्रम सन् १९९१–२०२० को औसतभन्दा करिब १.०४ डिग्री सेल्सियसले बढी रहेको प्रतिवेदनमा उल्लेख छ । सन् २०२४लाई तापक्रमको रेकर्ड राख्न थालेयताकै सबैभन्दा बढी तातो वर्ष मानिन्छ । यसै गरी, सन् १९६१ देखि १९९० को अवधिको तुलनामा सन् १९९१ देखि २०२४ बिचको अवधिमा यो क्षेत्रमा भएको तापक्रम वृद्धि लगभग दोब्बर रहेको प्रतिवेदनमा उल्लेख छ । यसले हिमनदीहरू पग्लिने र समुद्री सतह बढ्ने जस्ता समस्याहरू निम्तिएको प्रतिवेदनमा उल्लेख छ ।
ठूलो भूभाग, बढ्दो तापक्रम
एसिया उत्तरी धुर्बिय क्षेत्र (आर्कटिक) सम्म फैलिएको सबैभन्दा ठूलो भूभाग भएको महादेश हो । यो क्षेत्रमा समुन्द्रमा भन्दा जमिनमा तापक्रम वृद्धि बढी भएकाले विश्वव्यापी औसतभन्दा यो महादेश दुई गुणा छिटो तातो भइरहेको प्रतिवेदनको ठहर छ । सतहको तापक्रममा हुने भिन्नताले प्राकृतिक प्रणाली र मानव जीवनमा ठूलो प्रभाव पार्ने प्रतिवेदनमा उल्लेख छ । एसियाले विश्वको ३० प्रतिशत भूभाग र ६० प्रतिशत जनसङ्ख्या ओगट्छ ।
सन् २०२४ मा यस क्षेत्रका दक्षिण पूर्वी एसिया, मध्य एसिया र मध्यपूर्व लगायत अन्य स्थानमा अत्यधिक गर्मीका घटना घटे । अप्रिलदेखि नोभेम्बरसम्म पूर्वी एसियामा लामो समयसम्म गर्मीको लहरले प्रभाव आयो भने त्यसै वर्षको गर्मी महिनामा जापान, दक्षिण कोरिया र चीनले एकपछि अर्को गर्दै औसत तापक्रमका रेकर्ड तोडे । सन् २०२४मा म्यानमारले ४८.२ डिग्री सेल्सियसको नयाँ राष्ट्रिय तापक्रम रेकर्ड कायम गर्याे ।
यसबाहेक, मध्य एसियाले ७० वर्षभन्दा यताकै भीषण बाढीको सामना गर्यो । संयुक्त अरब इमिरेट्समा अभूतपूर्व वर्षा पछि आएको बाढीले त्यहाँका पूर्वाधारलाई नराम्ररी असर गर्यो । सोही बर्ष भारतको उत्तरी केरलामा गएको एक घातक पहिरोमा परेर ३५० भन्दा बढी मानिसको मृत्यु भएको थियो । कजाकिस्तानमा भएको रेकर्ड वर्षा र हिमनदी पग्लिएका कारण ७० वर्षयताकै सबैभन्दा भीषण बाढी आयो । यसै गरी, सन् २०२४मा एसियाका कतिपय क्षेत्रमा पर्याप्त वर्षा भएन । उदाहरणका लागि, चीनमा भएको ग्रीष्मकालीन खडेरीले ४७.६ लाख भन्दा बढी मानिसहरूलाई प्रभावित गर्यो भने लाखौँ हेक्टर बालीलाई क्षति पुर्यायो ।
प्रतिवेदनका सम्बन्धमा एक विज्ञप्ति जारी गर्दै सङ्गठनकी महासचिव सेलेस्टे साउलोले यसअघिनै यो क्षेत्रमा चरम मौसमी घट्नाले ठूलो क्षति पुर्याइरहेको अवस्थामा नयाँ प्रतिवेदनले झन् गम्भीर सङ्केत गरेको बताएकी छन् ।
विषम मौसमी घट्नालाई सम्बोधन गर्न समुदायको अनुकूलन तथा उत्थानशील क्षमता सशक्त पार्नुपर्ने, पूर्व सूचना र चेतावनी प्रणाली स्थापना गर्नुपर्नेमा उनको जोड छ ।
नेपालको प्रशंसा
बाढीको जोखिम पूर्वानुमान र अनुगमन प्रणाली स्थापना गर्न नेपालले सफलता हासिल गरेको भनेर प्रतिवेदनमा प्रशंसा गरिएको छ ।
नेपालको सुदृढ पूर्व–चेतावनी प्रणाली र समन्वित प्रतिकार्य प्रणालीलाई प्रतिवेदनमा असल अभ्यासको रुपमा औल्याइएकोछ । र यही कारणले हजारौँको ज्यान बचाउन मद्दत पुगेको उल्लेख छ ।
सन् २०२४को सेप्टेम्बर २६– २८मा भएको अत्यधिक वर्षाले काडमाडौं लगायत नेपालका कैयन भूभागमा बाढी र पहिरो गएको थियो । उक्त बाढी र पहिरोमा परेर २४६ जनाको मृत्यु भएको थियो भने १७८ जना घाइते र २०० भन्दा बढी बेपत्ता भएका थिए ।
‘संकटको प्रभाव चरम भए पनि, बाढी सूचना र पूर्वानुमान प्रणालीले स्थानीय समुदायलाई उद्धारका लागि तम्तयार रहन सक्षम बनाएको र प्रतिकार्यका लागि प्रभावित क्षेत्रमा तत्काल पुग्न मद्दत पुगेको’ प्रतिवेदनमा उल्लेख छ ।
सङ्गठनले विकासका अन्य साझेदारहरूसँग मिलेर नेपाल सरकारले यस्ता प्रणालीलाई सशक्त पारेको बताएको छ।
‘जल तथा मौसम विज्ञान विज्ञान विभाग लगायत अन्य सरकारी संस्था र साझेदार निकायको संयुक्त कार्यले जीवन र जीविकोपार्जन बचाउनका लागि महत्त्वपूर्ण भूमिका खेलेका थिए,’ संगठनकी महासचिव साउलोले भनेकी छिन् ।
प्रकाशित: १० असार २०८२ १८:२३ मंगलबार





