१३ चैत्र २०८२ शुक्रबार
image/svg+xml
समाज

च्वंगा-गणेशस्थान सडक कालोपत्र गर्न सेनाको अवरोध, मापदण्डअनुसार हुनुपर्ने स्थानीयको माग

भक्तपुरको सल्लाघारीस्थित ऐतिहासिक च्वंगा गणेशस्थानको सडकमा नेपाली सेना विवादमा तानिएको छ। गणेशस्थान उक्लने उत्तरपूर्वको फराकिलो सडकमा कालोपत्रे गर्न रोक लगाएपछि सेना विवादमा परेको हो। 

भक्तपुर नगरपालिका वडा नं १ सल्लाघारीस्थित यो मन्दिरमा जाने विशेषगरी उत्तर भेगका दर्शनार्थी आउने फराकिलो सडक अहिले कालोपत्रे हुने क्रममा छ, तर नेपाली सेनाले अवरोध गरेको छ।

स्थानीयका अनुसार सडकको पश्चिम भाग नेपाली सेना (नजिकैको सैनिक आवासीय महाविद्यालय) को नाममा रहेको भन्दै सेनाले सडक कालोपत्रे गर्न रोक लगाएको हो। ‘पहिलेदेखि चलनचल्तीको फराकिलो सडकको पश्चिमतिरको बाटो नेपाली सेनाको नाममा रहेको भन्दै सेनाका अधिकारीको टोली आएर कालोपत्रे गर्न रोकिदियो,’ स्थानीय एकस्वरमा भन्छन्, ‘सेनाले वर्षौंअघि नै सडकभन्दा पश्चिमको आफ्नो सिमाना कायम गरी तारबार लगाएको थियो।’

सडकको पश्चिमतिर अहिले पनि तारबार यथावत छ। तर अहिले चलनचल्तीको सडकको पूरै क्षेत्रमा कालोपत्रे गर्न खोज्दा पश्चिमतिरको जग्गा सेनाको नाममा रहेको भन्दै कालोपत्रेमा अवरोध गरेको स्थानीयको भनाइ छ। सेनाले आफ्नो जग्गाबाहेकको सडकमा मात्र कालोपत्रे गर्न अनुमति दिने भनेको स्थानीयले बताए। 

यो सडकको यही कुनामा बीचमा एउटा ठूलो रुख पनि छ। सेनाले भनेअनुसार मात्र कालोपत्रे गर्ने हो भने त्यहाँ एक लेन सडक पनि बाँकी रहँदैन। त्यहाँबाट एउटा गाडी पनि प्रवेश हुँदैन। तर यो सडकको यो कुनाबाहेक अन्य सबैतिर ६ मिटरको दुई लेनको फराकिलो सडक छ।

यो सडक च्वंगा गणेशस्थान उक्लने कुनादेखि तल इटापाके सल्लाघारी नगरकोट रोडसम्म पुग्ने सडक हो। दुई लेन चौडाइ र करिब तीन सय मिटर लम्बाइको सडकमा अहिले कालोपत्रे गर्न लागिएको हो। कालोपत्रे गर्न लागिएको सडकमा पहिलो चरणको कालोपत्रे शनिबार सम्पन्न भएको थियो। 

तर त्यसको भोलिपल्ट अर्थात् आइतबार नेपाली सेना आएर आफ्नो नाममा रहेको जग्गामा कालोपत्रे नगर्न निर्देशन दिएको स्थानीयले बताए। यो सडकको तीन सय मिटर लम्बाइमध्ये च्वंगा गणेशस्थान उक्लने चोक (कुना) मा केही मिटर लम्बाइको सडकमा मात्र यो समस्या भएको हो। योभन्दा तल तीन सय मिटर लम्बाइकै सडकमा ६ मिटर चौडाइको दुई लेनको फराकिलो सडक छ।

‘यो सडक म सानो छँदा पनि यस्तै चलनचल्तीमा थियो,’ ४५ वर्षीय एक स्थानीयले नाम उल्लेख नगर्न आग्रह गर्दै भने, ‘अहिले आएर कालोपत्र गर्ने अन्तिम तयारीमा समस्या भयो।’ समस्यापछि स्थानीय र नेपाली सेनाबीच विवाद भएको उनीहरूको भनाइ छ। सेनाले भनेअनुसार मात्र कालोपत्रे गरियो भने तीन सय मिटर लम्बाइको सडकको केही मिटर चौडाइमा एउटा पनि गाडी पास नहुने गरी सडक बेकार भई मानिस मात्र हिँड्ने अवस्था हुने स्थानीयको भनाइ छ। 

यही विषयलाई मध्यनजर गरी स्थानीयले हस्ताक्षर गरेर नेपाली सेनाका अधिकारीलाई बुझाइसकेका छन्, तर यसबारे सहमति नभएको उनीहरूको भनाइ छ। यो विषय भक्तपुर नगरपालिकाको नगरसभा बैठकमा पनि चर्चा भएको थियो। नगरपालिकाको चालू अठारौं नगरसभा बैठकमा उक्त सडकको पर्खाल निर्माणका लागि एक करोडभन्दा बढी बजेट छुट्याइएको तर पर्खाल निर्माणको क्रममा नेपाली सेनाबाट अवरोध भएको नगर प्रमुख सुनिल प्रजापतिले बताए। यस विषयमा आइतबारको संसद् बैठकमा भक्तपुरबाट प्रतिनिधित्व गर्ने सांसद प्रेम सुवालले नेपाल सरकारको ध्यानाकर्षण गराएका थिए।

प्रकाशित: १० असार २०८२ १२:३८ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App