१४ चैत्र २०८२ शनिबार
image/svg+xml
समाज

तीन वर्षभित्रै तापक्रम वृद्धिको सीमा तोडिने चेतावनी

जलवायुका क्षेत्रमा काम गर्ने विश्वका ६० वैज्ञानिकले कार्बनडाइअक्साइड उत्सर्जनको वर्तमान स्तर कायम रहिररहेमा १.५ डिग्री सेल्सियसको तापक्रम वृद्धिको सीमा आगामी तीन वर्षभित्रै तोडिने चेतावनी दिएका छन्। बिबिसीमा अनुसार विश्वव्यापी सरदर तापमान वृद्धिसम्बन्धी अद्यावधिक तथ्यांकका आधारमा वैज्ञानिकले यो चेतावनी दिएका हुन्।

सन् २०१५ को पेरिस सम्झौतामा जलवायु परिवर्तनका खराब असरबाट जोगिन विश्वको सरदर तापमान वृद्धिलाई यसै शताब्दीको अन्त्यसम्म १.५ डिग्री सेल्सियसभन्दा बढ्न नदिने प्रतिबद्धता गरिएको छ। यो सम्झौतालाई विश्वका करिब दुई सय देशले अनुमोदन गरेका छन्। तर विश्वका कैयन देशले कोइला, तेल र ग्यासको कीर्तिमानी खपत गरेका कारण तथा वन फडानीले गर्दा पेरिस सम्झौताको प्रतिबद्धता खतरामा पर्ने देखिएको छ।

‘सबै कुरा गलत दिशामा गइरहेका छन्। पृथ्वीको तापक्रम र समुद्री सतहको वृद्धि पनि तीव्र भइरहेको देखिरहेका छौं,’ युनिभर्सिटी अफ लिड्सअन्तर्गतको प्रिस्टले सेन्टर फर क्लाइमेट फ्युचर्सका निर्देशक तथा प्रमुख लेखक प्रोफेसर पियर्स फोस्र्टरले भने। पृथ्वीको तापमान वृद्धिका लागि जिम्मेवार मानिने कार्बनडाइअक्साइड ग्यासको उत्सर्जन न्यूनीकरण विश्वका लागि सबैभन्दा ठुलो चुनौती बनेको छ।

सन् २०२० को सुरुमा वैज्ञानिकले सरदर तापमान वृद्धिलाई १.५ डिग्री सेल्सियसमा सीमित राख्न मानव जातिले पाँच सय अर्ब टन कार्बनडाइअक्साइड उत्सर्जन गर्न सक्ने आकलन गरेका थिए। तर नयाँ अध्ययनले सन् २०२५ सम्ममा कार्बन उत्र्सजनको त्यो सीमा (कार्बन बजेट) एक सय ३० अर्ब टन भए पनि पुग्ने देखाएको छ। मुख्य रूपमा कार्बनडाइअक्साइड, मिथेनलगायत अन्य हरितगृह ग्यासको कीर्तिमानी उत्सर्जन र वैज्ञानिक आकलनमा भएको सुधारका कारण नयाँ सीमा तोकिएको हो।

विश्वव्यापी कार्बनडाइअक्साइडको उत्सर्जन हाल प्रतिवर्ष ४० अर्ब टन छ। यही अवस्थामा अबका तीन वर्षमा त्यो सीमा लगभग तोडिनेछ। यो अवस्थामा पेरिस सम्झौताले तोकेको १.५ डिग्री सेल्सियसको सिमा तोडिनेछ। तर वैज्ञानिकका अनुसार मानवजन्य क्रियाकलापका कारण मात्र भएको तापक्रम वृद्धि १.५ डिग्री सेल्सियसको सीमा नाघ्न अझै केही वर्ष लाग्न सक्छ।

सन् १८०० को दशकको अन्त्यतिरको तापक्रमको तुलानमा गत वर्ष (सन् २०२४) पहिलो पटक विश्वव्यापी औसत तापक्रम १.५ डिग्री सेल्सियसले बढी थियो। तर १२ महिनाको अवधिमा तापक्रम बढेको आधारमा पेरिस सम्झौताको उल्लंघन भएको मानिँदैन। तर सन् २०२४ को रेकर्ड तापक्रमले प्राकृतिक मौसमी ढाँचाले संकट थप बढाएको वैज्ञानिक मान्यता छ।

गत वर्षको तापमान वृद्धिका लागि मानवजन्य गतिविधि जिम्मेवार रहेको र यिनै गतिविधिले तापमानलाई १.३६ डिग्री सेल्सियसले बढाएको वैज्ञानिक आकलन छ। तापक्रम वृद्धिको वर्तमान दर प्रतिदशक लगभग ०.२७ डिग्री सेल्सियस छ। यसअघिको भूगर्भीय रेकर्डका आधारमा यो अत्यन्त तीव्र दर हो।

यही हिसाबले कार्बनडाइअक्साइडको उत्सर्जन उच्च रह्यो भने सन् २०३० कै आसपास विश्वले १.५ डिग्री सेल्सियस तापक्रम वृद्धि बेहोर्नु पर्नेछ। तापक्रम वृद्धिको यो बिन्दु पार गरेको अवस्थामा वायुमण्डलबाट ठुलो मात्रामा कार्बनडाइअक्साइड सोसेर सैद्धान्तिक रूपमा घटाउन सकिन्छ। तर यस्ता महत्वाकांक्षी प्रविधिको प्रयोग गर्दा विशेष सावधानी अपनाउनुपर्छ। इम्पेरियल कलेज लन्डनका जलवायु विज्ञान र नीति विषयका प्राध्यापक जोएरी रोजेल वायुमण्डलबाट कार्बनडाइअक्साइड पूर्ण रूपमा हटाउन सम्भव नहुने बताउँछन्।

सन् १९७० र १९८० को दशकको तुलनामा विगत दशकको तापक्रम वृद्धिदर दोब्बरभन्दा बढी छ। सन् २००० को दशकको अन्त्य र २०१० को दशकको तुलनामा यो २५ प्रतिशतले बढी छ। ‘यति छोटो अवधिमा यसरी तापक्रम बढनु धेरै चिन्ताजनक विषय हो,’ बेलायतका मौसम विज्ञान कार्यालय (मेट अफिस) का सहप्राध्यापक म्याथ्यु पाल्मर र बेलायतकै ब्रिस्टल विश्वविद्यालयका एसोसिएट प्रोफेसरले भने।

तापक्रमको यो वृद्धिदर मुख्यतया हरितगृह ग्यासको बढ्दो उत्सर्जनका कारण भएको हो भने एरोसोल भनिने स–साना कणको वायुमण्डल चिस्याउने भूमिकामा आएको कमीले पनि यसमा भूमिका खेलेको छ। वायुमण्डलमा सिर्जना हुने यो अतिरिक्त ऊर्जाले जमिनलाई तातो बनाउन सक्छ, हावाको तापक्रम बढाउन सक्छ अथवा बरफ पगाल्न सक्छ। अतिरिक्त तापको लगभग ९० प्रतिशत महासागरले सोस्छन्। समुद्रले यो अतिरिक्त तापक्रमलाई सोस्दा समुद्री जीवनमा बाधा पुग्नुका साथै समुद्री सतह पनि बढ्छ।

स्वाभाविक रूपमा तातो समुद्रिक पानीले बढी ठाउँ ओगट्छ। यसबाहेक पग्लिरहेका हिमनदीका कारण समुद्रमा थप पानी जम्मा हुन्छ। सन् १९९० को दशकदेखि विश्वव्यापी समुद्री सतह वृद्धिको दर दोब्बर भएको छ। यसले विश्वभरिका तटीय क्षेत्रहरूमा बस्ने लाखौं मानिसका लागि बाढीको जोखिम बढाएको छ।

यो सबै तथ्यले निराशाजनक तस्बिर प्रस्तुत गरे पनि स्वच्छ प्रविधिको प्रयोगले हाल विश्वमा कार्बनडाइअक्साइड उत्सर्जन वृद्धिको दर सुस्त भएको वैज्ञानिक स्विकार गर्छन्। उनीहरू विश्वले ‘कडा र सशक्त’ उत्सर्जन कटौती पहल गर्न आवश्यक रहेको बताउँछन्।

पेरिस सम्झौताले १.५ डिग्री सेल्सियसको तापक्रममा भन्दा २ डिग्री सेल्सियसको तापक्रम वृद्धिले जलवायु परिवर्तनका असरहरू धेरै गम्भीर हुने उल्लेख गरेको छ। त्यसैले सम्झौतामा १.५ डिग्री सेल्सियसको तापमान वृद्धिलाई ‘सुरक्षित’ र सोभन्दा माथिको तापक्रम वृद्धिलाई ‘खतरनाक ’ भनेर सरलीकरण गरिएको छ। वैज्ञानिकका अनुसार वास्तवमा तापक्रमको प्रत्येक अतिरिक्त अंशले विसम मौसमका घटना हुने, बरफ पग्लने र समुद्री सतह बढाउँछ।

‘आगामी दशकमा हुने उत्सर्जन कटौतीले तापक्रम वृद्धिको दरलाई गम्भीर रूपमा परिवर्तन गर्न सक्छ,’ प्राध्यापक रोजेललाई उद्धृत गर्दै बिबिसीले जनाएको छ। ‘तापक्रम वृद्धिको प्रत्येक अंशलाई हामी बचाउन सक्छौं, त्यसो गर्न सकेमा विशेषगरी गरिब र कमजोर जनसंख्यलाई कम क्षति र कम पीडा हुनेछ। यसले हामीले चाहेको जीवन जिउन कम चुनौती सिर्जना गर्नेछ,’ उनले भने।

प्रकाशित: १० असार २०८२ ०७:०० मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App