बाँके राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रमा पर्ने बस्तीमा मानव-वन्यजन्तु द्वन्द्व घटाउन बस्तीमा तारजाली र बाख्राको सुरक्षित खोर बनाइएको छ।
राप्ती सोनारी गाउँपालिका-९ मा निकुञ्ज मध्यवर्ती क्षेत्रअन्तर्गत पर्ने महादेवा, बुच्चापुर, खैरहनी, गुरुवागाउँलगायतका टोलबस्तीमा तारजाली र बाख्राको सुरक्षित खोर बनिरहेको वडाध्यक्ष सोहनलाल थारूले बताए। उनले भने, बाँके राष्ट्रिय निकुञ्ज, वन तथा वातावरणको क्षेत्रमा कार्यरत संस्था जेडएसएल, इलम, इन्रुडेकलगायतले राप्ती सोनारी-९ मा दुई सय १० सुरक्षित खोर र ३० गाईभैँसीको भकारो सुधार गरिएको छ।
बाख्राको सुरक्षित खोर बनेपछि निकुञ्जसँग जोडिएको गाउँबस्तीमा चितुवा, बाघ तथा अन्य वन्यजन्तुबाट बाख्रा र भेडालाई जोगाउन सजिलो भएको राप्ती सोनारी-९ महादेवा गाउँका मानबहादुर दर्लामीले बताए।
‘पहिला खोरबाटै बाघले बाख्रा तानेर लैजान्थ्यो, अहिले सुरक्षित खोर बनाएपछि डर हटेको छ,’ उनले भने, ‘हामीलाई पशुपन्छी र खेतीबाली वन्यजन्तुबाट जोगाउन गाह्रो हुने गरेको छ, सुरक्षित खोरले केही राहत भएको छ।’
महादेवा गाउँकै हेम चापागाईँले गाउँमा चितुवा आएर भेडाबाख्रा खान थालेपछि भेडाबाख्रा पाल्न छाडेका किसानले पनि अहिले सुरक्षित खोर बनेपछि फेरि बाख्रापालन सुरु गरेको बताए। उनले सुरक्षित खोरमा बाख्रा र भेडा पाल्न थालेपछि वन्यजन्तुबाट घाइते हुने र मर्ने चिन्ता हटेको बताए। विश्व वन्यजन्तु कोष एकीकृत भूपरिधि व्यवस्थापन आयोजना (इलम)अन्तर्गत डिभिजन वन कार्यालयमार्फत राप्ती सोनारी-८ पेरानीगाउँका ३० घरमा सुरक्षित खोर बनाइएका छन्।
त्यस्तै, बाँकेको कम्दी जैविक मार्गका ३० घरमा पनि बाख्राका लागि सुरक्षित खोर बनाइएका छन्। चितुवा, बाघलगायत जनावरले बस्तीमा आएर बाख्रा मार्ने र घाइते बनाउने गरेपछि तिनलाई जोगाउन सुरक्षित खोर बनाइएको एकीकृत भूपरिधि व्यवस्थापन आयोजनाका फिल्ड प्रबन्धक प्रकाश थापाले जानकारी दिए।
कम्दी जैविक मार्गमा बँदेल, चित्तललगायतका जङ्गली जनावरबाट स्थानीयको अन्नबाली जोगाउन विभिन्न सामुदायिक वनक्षेत्र र बस्तीबीच करिब चार किलोमिटर तारजाली बनाइएको छ। मध्यवर्ती क्षेत्रका बासिन्दाको आयआर्जनको स्रोत बाख्रापालन भएकाले स्थानीयको आयआर्जनमा सहयोग गर्न बाख्रापालनमा चुनौती थपिएपछि खोरलाई बलियो बनाउने अभियान चलाएर सुरक्षित खोर बनाइएको थापाले बताए। रासस
प्रकाशित: ८ असार २०८२ ०६:५१ आइतबार





